नेकपाको मधेष सम्बोधनः जनमतले नफुर्किन राजपालाई चेतावनी

 काठमाडौं २५ फागुन

नेपाल कम्युनिस्ट पार्टी नेकपाका शीर्ष नेताहरुले एक पटकको जनमतको आधारमा नफुर्किन राष्ट्रिय जनता पार्टी नेपाललाई सचेत गराएका छन् ।

राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको केही दिनमै राजपाको आधार इलाका मानिएको दुई नम्बर प्रदेश पुगेर नेकपाका शिर्ष नेताहरुले सरकारविरुद्ध नलाग्न पनि चेतावनी दिएका छन् ।

साथैे उनीहरुले जातिय र क्षेत्रिय राजनीति छोडेर विकासको राजनीतिमा आउन पनि आह्वान गरे । रौतहटको गरुडामा नेकपा प्रदेश २ ले गरेको जनसभालाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजपालाई सरकारविरुद्ध नलाग्न चेतावनी दिए ।

उनले राजपालाई व्यङ्ग्य गर्दै जनतालाई फकाइ फुल्याइ एकपटक झुक्याएर भोट पाउँदैमा नफुर्किन सचेत गराए । उनले प्रदेश दुईमा अर्को पटक नेकपा पहिलो पार्टी बन्ने दावी समेत गरे ।

हिजो सीके राउतसँग भएको सहमति तर्फ इङ्गीत गर्दै प्रधानमन्त्री ओलीले पृथकतावादी आन्दोलनमा गएकाहरु पनि संविधान मान्न तयार भएको बताए । उनले विकास रोज्ने दल खोजेर नेकपालाई मत दिएको दावी समेत गरे ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश दुईमा नेकपाले सरकार बनाउन सक्ने भए पनि विकासको नेतृत्वका लागि अन्य दललाई मौका दिएको बताए ।

अस्थिरता नहोस भन्नका लागि नेकपाले अन्य दललाई सघाइ रहेको उनको भनाइ छ । अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीकै पहलमा सीके राउतसँग सहमति भएको जानकारी गराए ।

यस्तै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दुई पार्टी मिलेर बनेको नेकपालाई टक्कर दिने कुनै पार्टी नभएको दाबी गरे । देश बचाउने पार्टी नेकपा भएको उल्लेख गर्दै उनले मधेस केन्द्रित दलको भ्रमममा नर्पन आग्रह गरे ।

पार्टी एकीकरणपछि पहिलोपटक सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै अध्यक्षले आज मधेशमो सम्बोधन गरेका हुन । पार्टीको प्रदेश २ कमिटिले आयोजना गरेको जनसभालाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका हुन् ।

सरकार गठन भएको एक वर्ष पुगेको अवस्थामा मधेशलाई हेर्ने सरकारको दृष्टिकोण र मधेशलाई दिइएको प्राथमिकताबारे दुवै अध्यक्षले जानकारी गराएका हुन ।

प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५  २१:०३
प्रतिक्रिया दिनुहोस्