सोसल मिडिया
प्रकृतिको सुन्दर उपहार रारा ताल र हाम्रो खस भाषाको उत्पत्ति भएको स्थल जुम्ला भनेपछी कसको मनमा हलचल नआउला र ? त्यसैमाथी यात्रा र मनोरञ्जन भनेपछि हुरुक्कै हुने म । जुम्लाको बाटो भएर मुगुमा अवस्थित राराताल घुम्न जाने भनेपछी मेरो मन त्यसैत्यसै चङ्गा भएको थियो ।
मुसिकोटबाट सुर्खेत पुगेपछि भोलिपल्ट विहानै निक्लिने सल्लाहमा त्यो साझ सुर्खेत मै वित्यो । हामीले विहानै यात्रा तय गर्यौ सुर्खेत दैलेख कालिकोट जुम्ला हुँदै मुगूको रारा ताल सम्मको लागि भनेर । अघिल्लो साँझ नै गाडिमा पानी, चाउचाउका प्याकेट, लत्ताकपडा सहित बन्दोबस्तीका सामान राखेको थियौं ।
रारा र जुम्लाको रहरले त्यसै उफ्रिरहेको मन, रफ्तारमा गुडिरहेको गाडि र बाटोमा देखिएका सुन्दर दृश्यको बारेमा गफिदै गएका थियौ हामी । दैलेखको यात्रा सकेर हामी कालिकोट तर्फ सोझियौ । ओहो ! त्यहाँको बाटो माथी र मुनिको भिर, साथीहरु डर ले थुरथुर हुनुभयो ।
कालिकोटको मान्ममा पुगियो । त्यहाँबाट कतै कच्ची सडक कतै कतै मात्रै कालोपत्रे गरेको सडक नाघ्दै नाघ्दै जुम्लातर्फ सोझियौँ । बेलुकाको बसाई जुम्लाकैको गोठिजिउँला हुने पक्का भयो । गोठिजिउँला पुगेर खाना खाँदा सम्म नै हाम्रो टिमको बोली फेरिएला भन्ने झै भैसकेको थियो । करिव २२ घन्टा सम्मको बाटोमा गाडी हुँइक्याइ हुँइक्याइ पुगेका थियौं गोठिजिउँला ।
यी सबै अल्झोबिल्झो पन्छाउदै एकरात त्यहिँ बसेर सुरुमा रारा पुग्ने सुरका साथ गाडी बिहानै कुदायौँ । कच्ची पहाडको मोटरबाटो भएको हुनाले राराको यात्रा हाम्रो लागि कठिन र जोखिमपूर्ण थियो । लामो थकानका बीच हामी मालिचौर पुग्यौं ।
मालीचौरको विशाल छातीमा फैलिएको घाँसेमैदान, कोणधारी हरियो वन, ठूलो चौरमाथि नीलो आकाश, उत्तरतर्फका लस्करै हिमशृंखला, झरना अनि चिसो सिरेटोसँगै लुकामारी खेलेका सेता बादलको घुम्टोमुनि मनोरम दृश्य ... आहा ! यो सब अनुपम सुन्दरताको खजाना देखेपछि एकैछिनमा सारा थकानहरु एकाएक लोप भएर गए ।हामी रारा नजिकै पुग्दै थियौं । छेउमै पुग्दा पनि अझै ‘कस्तो होला रारा ताल’ भनेर मनमा हलचल भएकै थियो । ठूलो ताल रारामा पुग्ने हाम्रो ठुलो सपना र ठुलै योजना सत्यमा परिणत भइरहेको थियो । मन भित्रभित्रै नाँचिरहेको थियो ।
सल्लाघारीको बीचबाट विशाल गोरेटो समाएर हामी जंगलभित्र पस्यौ । गोब्रे र धुपी सल्लाहरूको साथमा र झाडीका बीचमा आउने झ्याइँकिरीको आवाजसँगै झन्डै २५ मिनेट पैदल हिँडेपछि एउटा नसोचेको दिव्य संसार आयो । त्यही रहेछ रारा ताल । हिमाली भेगमा ठूल्ठूला पहाडहरूले चारैतिरबाट घेरेका छन् । पहाडहरू हरिया छन् । विशाल उपत्यकाभित्र पानीपानीले डम्म भरिएको ताल छ । यही हो रहेछ नेपालको सबैभन्दा ठूलो ताल अर्थात् राराताल ।
रारा तालको हरेक एकाइ र समग्रताको मनमोहक सौन्दर्यमा मान्छे कुन हदसम्म लठ्ठिन्छ भनेर अनुमान गर्न कठिन भयो मलाई । कुरा सुनेर, फोटो हेरेर वा संस्मरण पढेर मात्र राराको अनुभूति गर्न सकिन्न । रारा महसुस गरेकाले मात्र ठोकुवा गर्न सक्छन् रारा फगत एक संयोग वा यसको सामान्य कारण हुँदै होइन भनेर ।
रारामा पुगेपछी कसले सुखभोग गर्दैन होला र ? हरियो कोणधारी जंगलबीचमा नीलो पानी । त्यसैमा समर्पित हुँदै पौडिरहेका रंगीविरंगी माछा । बजारविहीन तालको तट, छेउछाउमा दलदल, नगन्य बस्ती र नजिकै चियाउन सकिने हिमाली दृश्यको वैभवता ।
रारा छेउको कुनाबाट सूर्य अस्ताउदै थियो । टोलीका हामी सबैलाई राराको अलौकिक दृश्यले मन्त्रमुग्ध पारेकै थियो मैले एकैछिन कल्पना गरे वनैभरि गुराँस फुलेको, पातपातमा हिउँ अनि सिमसिमे घामपानीमा इन्द्रेणी परेका बेला झन् कस्तो हुँदो हो रारा ताल ? मलाइ लाग्यो राराको छेउ टुप्पो बाहेक क्यामरामा रारा अटाउन त असम्भव छ । न त ५, ६ किलोमिटर फैलिएका यसको सुन्दरताको कहानी भनेर साध्य छ । न पूरै लेख्न नै सकिन्छ ।
मैले गुगल, टेलिभिजन र साथीहरुको फेसबुक, ट्विटर, इन्स्ट्राग्राममा देखेका उनै लोभलाग्दा प्राकृतिक सुन्दरताका पहाड र बादलको घुम्टो नजिकैबाट साक्षात्कार गर्दा फेरि मनमा अर्कै आनन्दको अनुभूति पनि भएको थियो । त्यो निलो आकाश र छल्किएको पानी देख्दा त्यहाँ पुगेको हाम्रो टिम विजयभाव छचल्किए झै लागेको थियो ।
समुद्र सतहबाट झन्डै तीन हजार मिटरको उचाइमा र झन्डै एक सय ६७ मिटर गहिराइमा रहेको रारा ताल वास्तवमा यस्तो विशाल रैछ भव्य रैछ, आकर्षक रैछ कि म शब्दले बयान गर्न सक्दिन । रारामा आँखा परेपछि यसको सुन्दरताको माद यसरी चढ्यो कि त्यो चिसो पानी र दलदल जमिनमा जुत्ता पुरै डुबाएर पनि झन्डै डेढ दुई घन्टा बिताएको पत्तो नै भएन हामीलाई, हुँदैन पनि । झन्डै डेढ दुईघन्टाको आनन्दको अनुभुती पछि हामी त्यहाबाट फर्कियौ, फेरि उहीँ गएको बाटो भएर । बेलुका फेरि गोठिजिउला पुगियो । त्यहाँका मान्छेको रहनसहनमा घुलमिल हुँदै जुम्ली सिमिको दाल र मार्सी चामलको भात साथमा च्याङ्ग्राको मासु बयान गरिनसक्नुको स्वाद थियोे । अनि साँझपख देउडासहितको भिन्नै रौनक । त्यो रात त्यही बित्यो । गोठिजिउलाको सानो बजार । झुरुप्प घरहरू । बजारको चहलपहल सब्बै छोडेर हामीले बिहानै गाडी फर्कायौं ।
जुम्लाको बाटो एकदमै साँघुरो, भैंसी, गाई र केटाकेटीले भरिभराउ थियो बाटो मुनि माथी स्याउको बारी टम्मै देखिन्थ्यो । हामी केही समय पछि सुन्दर सिन्जा उपत्यका पुग्यौं ।
ओहो, कति लोभलाग्दो धर्ती । अचम्मको मनोरम बस्ती । आँखामा ओर्लिए ती लहरहरू । चट्ट–चट्ट पारी बनाइएका गराहरू । वारिपारि माथी उक्लिएका पारिला गराहरू । गरा देखिन्छन् सिँढीजस्ता । हिमा नदी उत्तर–दक्षिण कलकल बगिरहेको थियो । पूर्वबाट पश्चिमतिर सिन्जाको बस्ती बसेको रैछ । माटोले छोपिएका थिए सबै घरका छानाहरू । हिउँ पर्यो भने सोहोरी फाल्न मिल्ने, बर्खामा पानी नजम्ने । तातो–चिसो दुवै हावापानी दिने घरहरू । देख्ता अत्यन्तै रमाइलो लाग्यो यहि त रैछ खास कर्णाली भन्ने लाग्यो ।
बस्तीको माझमा पुगेर एकछिन रोकियौँ । बाटो छेउको घरमा तिनजना हुनुहुन्थ्यो हामिले सोध्यौ जुम्ला खलंगा जान यहाँ बाट कति समय लाग्छ ? ‘कताबाट जाने खलंगा ?’ ‘तिम्ले बाटो बिर्खेऊ ।’ हामीले जुम्ली भाषा कमै बुझ्यौँ । तर त्यो बोली सुनिरहौ लाग्यो, जुम्लीको लवजमा हामी लठ्ठिएका थियौं ।
हिमा नदी वरपर छरिएको हाट सिन्जा उपत्यका हेरिरहेको थिए मैले । यो भूमि छुने मेरो धेरै अघिदेखिको रहर थियो, इच्छा थियो । यो भूमिलाई स्पर्श गर्ने मेरो असाध्यै मनसुबा थियो । सपना नै थियो सिन्जा टेक्ने । सिन्जा टेक्न र त्यहाँको माटो छुन र हेर्न पाएर म आकासमा थिग्रिरहेका बादलजस्तै भएको छु ।
यो यही भूमि हो, जहाँबाट मैले बोल्ने भाषा जन्मियो । यो त्यही उपत्यका हो, जहाँबाट मेरा पुर्खाले नेपाली भाषा संसारभर छर्न सके । यो त्यही माटो हो, जहाँबाट मेरो बोली उद्भाषित हुन सक्यो । मैले सिन्जामा जीवनको उल्लास छुट्टै पाएँ । मेरो घाँटीको कण्ठमा लपक्कै बसेको भाषाको उत्पत्ति भएको ठाउँको सम्बन्धले म सिन्जामा खुबै पग्लिएको थिए । सिन्जाको हावाले मलाई माया गरे झै लाग्यो । मैले हिमा नदीको पश्चिमी किनारमा चुपचाप बसेका सिन्जाका घरहरू नियाले । बस्तीमा दौडिरहेका जुम्लीहरू हेरेँ । फेरि एकपटक सिन्जा उपत्यकामा पहाडमाथि हिउँ बर्साउन आतुर बादलका लहरहरू हेरेँ ।
सिन्जा नियाल्दा नियाल्दै समय धेरै घर्किसकेको थियो । नेपाली भाषा जन्माएको सिन्जाले मलाइ फेरि जन्माएर नै पठायो । हामी खलंगाको क्षेत्र नियाल्न र चाँगुनारायण मन्दिरको दर्शन गर्न भनी सिन्जाको एक मुठि माटो हातमा लिएर जुम्ला खलंगा तिर लाग्यौं । जुम्लाकै सुप्रसिद्ध शक्तिपीठ मन्दिरमा पनि पुग्यौं । त्यहाँको प्रचलनमा त्यहाँ भक्तालुजनले चाहेको प्रायः पुग्ने भन्ने भनाइ पनि रैछ । मन्दिर दर्शन पछि हामी त्यहाबाट फर्कियौँ ।
मेरा साक्षात भगवान बाबा र आमालाइ सङ्गै लिएर सिन्जामा उभ्याएर विजयभाव छल्काउने र रारामा पुगेर हर्ष विभोर बनाउने रहरले फेरि कुत्कुत्याईरहेको छ । रुकुम पुगेर पनि अझै लागिरहेको छ, जुम्ला टेक्न पाउँ, रारा देख्न पाउँ ।