सोसल मिडिया
सल्यान / सल्यानको दार्मा गाउँपालिकामा शुक्रबार १ सय २२ जना मतदाता थपिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय, सल्यानको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम, २०७८ अन्तर्गत दार्मा गाउँ गाउँ कार्यपालिकाको कार्यालयमा सञ्चालित नामावली सङ्कलनका क्रममा मतदाता थप भएका हुन् ।
नामावली सङ्कलनको पहिलो दिन वडा नं. १ का ६५ महिला र ५७ जना पुरुषले मतदाता नामावलीमा नाम दर्ता गराएर बालिग मताधिकारको सुनिश्चता गरेका छन् ।
मतदाता नामावलीमा नाम दर्ताका लागि १८ देखि २२ गते सम्म क्रमश वडा नं. २, ३, ४, ५ र ६ नम्बर वडा वासी नागरिकहरूका लागि पालो निर्धारण गरिएको छ । त्यसैगरी २३ गते वडा नं. ५ र ६, २४ गते ३ र ४ का विशेष कारण छुट हुन पुगेका नागरिकहरूले अवसर पाउने छन् । २५ गते वडा नं. १ र २ र २६ गते सबै वडाका छुट हुन पुगेका नागरिकहरूलाई मतदाता नामावलीमा नाम दर्ता गर्न समय प्रदान गरिएको छ ।
नामावली सङ्कलन कार्यलाई व्यवस्थित रुपमा सञ्चालन गर्न टोकन प्रणाली लागू गरिएको छ । ७० वर्ष माथिका जेष्ठ नागरिक, सुत्केरी महिला र अपाङ्गता भएका नागरिकहरूलाई पहिलो प्राथमिकता प्रदान गरिएको छ ।
नागरिकहरूको सहजताका लागि कार्यालमै निस्शुल्क फोटोकपी सेवा प्रदान गर्नुका साथै सहजीकरण समिति समेत गठन गरी परिचालन गरिएको छ । नामावली सङ्कलनको काम मङ्सिर २६ गतेसम्म सञ्चालन हुनेछ ।