गादीघर बुरालबाबाको मन्दिर

बुरालबाबाको अवतारभित्र लुकेका यथार्थहरु

२०७८ मंसिर १८
  • गाेपाल केसी 

वि.सं. १९६५ सालमा बाँफीकोट ६ काँडा रुकुम स्थित एउटा चौतारीको ढुङ्गामा एकजना साधु आएर बसे । साधु देख्ने बित्तिकै गाउँघरका मान्छे जम्मा भए र सबैले आ–आफ्नो घरायसी पिडा पोखे । यसै क्रममा पहेलो कपडा शरीरभरि, लटाधारी, हातमा त्रिशुल, कलश र मर्चङ्गा समाएका ती साधुले भने, 'अबको केही वर्षभित्र यो भूमिमा एउटा बालकको जन्म हुनेछ, जो दुनिँयाको रक्षक हुनेछ, महान् पुरुष हुनेछ । म बसेको यो ढुङ्गा दुनिँयाले पूजा गर्नेछन् ।'

एकछिन पछि त्यहाँबाट साधु सरासर हिडे र एकघरमा पुगेर बास मागे तर मिलेन । कसैको घरमा बास नपाएपछि सङ्ग्राम खत्रीको घरमा बास माग्दा पाए र त्यहिं बसे । भोलिपल्ट सङ्ग्राम खत्रीको घरबाट निस्कदा साधुले भने, “ हे मानव तिम्रो घरमा दुनिँयाले विश्वास गर्ने दीक्षा दिन्छु म ।”  यो ढुङ्गामा आजकै दिनदेखि पूजाआजा सुरु गर । तिमीहरु सबै गाउँलेको भाग्य रेखा कोरिने छ । अनि सबै मानिसहरु त्यही ठाउँमा मन्दिर निर्माण गरी पूजाआजा सुरु गरे  ।

त्यस घटनाको ११ वर्षपछि वि.सं. १९८६ माघ २७ गते  पुनः साधु त्यही गाउँ र त्यही ढुङ्गामा आएर साँझको बेला बसे । सङ्ग्राम खत्री पनि त्यहीं पुगे । गाउँका धेरै मान्छे जम्मा भए । साधुले ११ वर्ष अगाडि घरमा बास दिएका सङ्ग्राम खत्रीलाई हेर्दै भने, “हे मानव भन तिमीहरुलाई के दिऊँ ?” सङ्ग्रामले जवाफ दिए,“ भगवान ! मेरो घरमा एउटा नाति जन्मिएको छ । आज ३ दिन भयो रातभर रोइरहन्छ । क्या भो ? केही लाग्यो कि ? ” साधुले मुस्कुराउँदै भने, “हे मानव चिन्ता नगर यो बालकलाई कृष्ण भगवान र शिवको दीक्षा परेको छ । अवको ३ महिना, ३ वर्ष, ९ वर्षसम्म हेर्दै जाऊ रुने कराउने गर्ला । रुँदा भगवानको नाम जप्नू, ठिक भै हाल्छ ।”

गाउँलेहरुको सामु साधुले भने, "कुनै दिन म बसेको यस गादी ढुङ्गामा दुनिँयाले पूजाआजा गरेर पुत्रशोक भएकाले छोराको फल पाउनेछन् । पुत्रीशोक भएकाले छोरी पाउनेछन् । निर्धनीले यो ढुङ्गामा दर्शन गरेमा धनको वरदान मिल्नेछ । रोगीले दर्शन गरेमा निरोगी बन्नेछ । र्यो स्थान चर्चित तीर्थस्थल बन्नेछ ।" उनको कुरा सुनेर गाउँका मान्छे कोहि बिन्ति गर्दै, कोही गिल्ला गर्दै आ–आफ्नो घरतिर लागेछन् । नभन्दै पछि ति सङ्ग्राम खत्रीको नाती डण्डु खत्रीका छोरा कृष्ण बहादुर के.सी. माथि साधुले भनेको भन्दा १ प्रतिशत पनि फरक परेन ।

समयक्रम बित्दै गयो । साधुले भने झैँ ९ वर्ष पछि अर्थात् १९९५ मा ९ वर्षको बालक कृष्ण बहादुर के. सी. भैँसीगोठमा झार्लेगोठ गएको बेला सोही स्थानबाटै रुँदै कराउदै राति ३ बजे घरमा आइपुगे । के भो भनेर घरमा रुवावासी चल्यो । सबै परिवार चिन्तित भए । देवीदेवता हेराउन थाले । अन्ततः उनले ३ दिनसम्म त्यही ९ वर्षअगाडि साधु बसेको ढुङ्गामा गई केही नखाई रुने कराउने गरिरहे । मान्छेहरु पाठपूजा गरिरहे । गाईको दुध चढाउने, गहुँत छर्किदिने गरिरहे । अन्ततः ती ९ वर्षे बालक बोल्न थाले, “हे मानव म आजभन्दा १९ वर्षअगाडिदेखि तिमीहरुलाई यस ठाउँमा पूजापाठ गर्न लगाउने, साधु बुरालबाबा हूँ, तिमीहरु मलाई राख्न सक्छौ भने यस ठाउँमा दैनिक पूजाआजा गर । भगवानको ध्यान गर । म तिमीहरुलाई मनले आँटेको पूरा गरिदिने छु ।”

बालक पुनः रुन कराउन थाले । नाक मुखबाट पूरै रालगाजल र सिँगान निकाल्दै रोइरहेका ती बालकको जीवन रक्षाका लागि सबै गाउँलेहरुले सल्लाह गरी जय बुरालबाबा भनेर पाठपूजा गर्न थाले । अन्ततः दुई वर्षपछि ती ११ वर्षिय बालकलाई बुरालबाबाको दीक्षा पर्यो । निरन्तर उनले भने अनुसार मन्दिरहरु निर्माण गर्ने तीर्थव्रत गर्ने गरियो । थुप्रै मान्छेहरुले दर्शन गरेवापत वरदान प्राप्त गरे ।

१९८६ माघ २४ मा जन्मिएर २०५६ माघ २४ मै अर्थात् आफू जन्मिएकै दिनमा बुरालबाबाको दीक्षा पाएका कृष्ण बहादुर के. सी.को दुःखत निधन पछि मन्दिर सञ्चालक स्थानीयवासीहरु सबै अन्योलग्रस्त भए । बुरालबाबाको दीक्षा पाएका कृष्ण बहादुर के. सी.को स्वर्गवास हुँदा बुरालबाबाले भनेका थिए, “अव म यो धर्तीबाट अलप हुदै छु । म कुनै शरीरधारी मानिससँग रहँदैन । यस धर्तीमा पापमात्र भयो । धर्म हराउन थाल्यो । मलाई सम्झनेहरुले गरिब, दुःखी र निसहाराहरुलाई सहारा दिनू । म उनीहरुसँगै हुनेछु । मेरो दीक्षा पाएका व्यक्तिलाई पनि कैलाशमा लिएर राख्छु । मेरो मन्दिरमा पाठपूजा गर्न नछोड्नू । मेरो सम्झन र ध्यान गर्नेलाई म कैलाशबाट वरदान दिनेछु । तिमीहरुले बोलाएमा म १४ वर्षपछि जसलाई रुचाउँछु त्यसलाई दीक्षा दिनेछु ।”

त्यतिबेला बुरालबाबाको दीक्षा पाएका कृष्ण बहादुर के. सी. ले ९ वर्षिय बालक चन्द्रध्वजलाई वि.सं. २०५६ माघ १४ गते आफ्नो काखमा राखेर आँसु झार्दै भनेका थिए, “यो बालकलाई राम्ररी हेरफेर गरिदिनू । अरुको भन्दा यसको भाग्य फरक छ । यसलाई भगवानको दीक्षा छ ।” 

वि.सं. २०७० चैत्र महिना वैशाखे पूर्णिमाको राति २२ वर्षिय युवा चन्द्रध्वज (ध्रुवराज) आकस्मिक रुपमा रुनकराउन थाले । परिवारमा तहल्का मच्चिन थाल्यो । स्वर्गीय कृष्ण बहादुरका नाति मिश्रीप्रसादका एकमात्र छोरा चन्द्रध्वजको यो हालतदेखि परिवारलगायत सबै गाउँले चिन्तित भए ।

राति मन्दिरबाट निस्किएर एकजना देउतीबाट दीक्षित युवा (भुमेश्वर) लाई साथमा लिएर उनी तीर्थयात्राका लागि जङ्गलतिर उकालो लागे । ९ घण्टाको लामो तीर्थयात्रापछि उनी मन्दिरमा फर्किए र पुनः १९६५ मा भए गरेका विशेषताहरु देखाउदै क्रियाकलापहरु गर्दै उनी बुरालबाबाबाट दीक्षा पाएको संकेत देखाए । बी. एड. सम्मको अध्ययन गरेका ती युवा आजसम्म निरन्तर रुपमा बुरालबाबाको ध्यान आरधनामा छन् ।

यस गादीघर बुरालबाबाको पूजाआराधना गर्दा सबैको कल्याण हुने मान्यता रहेको छ । यस गादीघर बुरालबाबाको मन्दिरमा ती बुरालबाबाबाट दीक्षित व्यक्तिकै सपनाकै आधारमा ठूलो मन्दिर, आकर्षक गुप्ताकुण्ड, सर्पकुण्ड, बाघ र सर्पले घेरिएको रुखको फेदीआकृतिमा गादीढुङ्गामै षड्कोणभित्र बुरालबाबा र ब्रह्माजीको शालिक निर्माण गरिएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८  ०९:१२
प्रतिक्रिया दिनुहोस्