Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

वैवाहिक वर्षगाँठमा उदाहरणीय काम गर्ने 'केशर-सरला'को नमुना जोडि

विद्यार्थी र विद्यालयलाई सहयोग
२०७८ मंसिर २२
tribeni2

रुकुम पश्चिम / वैवाहिक कार्यक्रम तथा विवाह बर्षगाँठ भन्दै हरेक वर्ष भड्किलो खर्च गर्ने, ऋण लगाएर भएपनि भोजभतेर गर्ने चलन हाम्रो समाजमा छ । देखाउनकै लागि भएपनि धुमधामसगँ वा भड्किलो तरिकाले बिहे गर्ने हाम्रो समाजको चलन अगाडि रुकुम पश्चिमका एक दम्पत्तिले भने आफ्नो विवाह कार्यक्रम कम खर्चमा गरे र विवाह खर्च जोगाएर गत वर्ष अक्षय कोष निर्माण गरे ।

जिल्लाको त्रिवेणी गाँउपालिका वडा नम्बर ७ निवासी केशर खड्का र उहाँकी श्रीमती सरला राणा खड्काले यो उदाहरणीय काम गर्नुभएको हो । विवाह कार्यमा खर्च हुने ५ लाख रकम जोगाएर उहाँहरुले गत वर्ष शैक्षिक सुधार तथा शैक्षिक सम्मान अक्षयकोष, २०७७ स्थापना गर्नुभयो ।

आज मंसिर २२ गते आफु पढेको श्री साधारण माध्यमिक विद्यालय मुरुडाँडामा एक कार्यक्रमका बिच उहाँहरुले अक्षयकोषबाट प्राप्त ब्याज र केहि रकम थप गरेर सहयोग प्रदान गर्नुभयो । उहाँहरुले गरिब तथा जेहेन्दार २० जना विद्यार्थीहरुलाई नगद, शैक्षिक सामाग्री र विद्यालयलाई समेत भौतिक सामाग्री हस्तान्तरण गर्नुभयो ।

सहयोग हस्तातरण कार्यक्रममा उहाँहरुले अरुलाई देखाउनको लागि भड्कीलो विवाह नगरेर विवाहको लागि छुट्याएको रकमले अक्षय कोष निर्माण गरेको बताउँनुभयो । विदेशी चलनको सिको गर्दै एनिभर्सरी, हनिमुन जस्ता नचाँहिदा काममा खर्च गर्ने चलनलाई निरुत्साहित पारेर सकारात्मक सन्देश दिन आफुले यस खालको काम गरेको केशर खड्काले जनाउनुभयो ।

आफुले शिक्षा आर्जन गरेको विद्यालय, आफुलाई बाटो देखाउने गुरुहरु र आफ्ना भाईबहिनीहरुसगँ विवाह वर्षगाँठ मनाउने उद्देश्यले सो अक्षय कोष निर्माण गरेको खड्काले प्रष्ट पार्नुभयो । उहाँले विद्यार्थीहरुलाई राम्रो कामको सिको गर्न अनुरोध समेत गर्नुभयो ।

उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भिमबहादुर बुढाले पूर्व विद्यार्थीको नमुनायोग्य कामले विद्यालयलाई खुसि तुल्याएको बताउँनुभयो । यो उदाहरणीय कामले अरुलाई समेत सकारात्मक रुपमा समाजमा योगदान दिने सन्देश प्रवाह भएको प्रधानाध्यापक बुढाले बताउँनुभयो ।

२०६४ सालमा साधारण मा.वि. मुरुबाट एस.एल.सि उत्तिर्ण गर्नुभएका केशर गत वर्ष सुर्खेत निवासी सरला राणासगँ वैवाहिक जीवनमा बाँधिनभएको थियो । उहाँ अहिले नेपाल सरकारको अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।

कार्यक्रममा वडा नम्वर ७ का वडा अध्यक्ष बिरबहादुर खड्का, बिद्यालय व्यबस्थापन समितिका पदाधिकारी, शिक्षक तथा कर्मचारी, बिद्यार्थीहरु लगायत स्थानीयवासीको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १५:१२
प्रतिक्रिया दिनुहोस्