Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
महिला हिंसाविरुद्धको १६ दिने अभियान

हिंसा गाँउमा, सचेतना कार्यक्रम शहरमा

स्थानीय सरकारसँग न योजना न त बजेट
२०७८ मंसिर २३
tribeni2
  • राजु लामिछाने 

रुकुम पश्चिम / हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान नेपालमा पनि मनाईंदै छ । ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका विभिन्न सचेतनामुलक कार्यक्रम यस दिवसको अवसरमा भईरहेका छन् ।

नेपालमा सामान्यतया नागरिक समाज र राज्यसमेतले दिवसका बेला तामझामसहित कार्यक्रम र अभियान सञ्चालन गरेपनि अन्य बेला भने लैङ्गिक हिंसा विरुद्धका गतिबिधिहरु न्युन हुने गरेको आम नागरिकको प्रतिक्रिया पाईन्छ । कमै हुने केहि गतिविधिहरु पनि शहर केन्द्रित हुने गरेकोले गाउँमा हिंसाका घटना बढिरहेको सरोकारवालाहरुको भनाई छ ।

गाउँमा हिंसाका घटनाहरु भइहने तर हिंसाविरुद्धका सचेतामूलक कार्यक्रम ¥याली, गोष्ठि, सम्मेलन, बहस भने बजार तथा शहर केन्द्रित हुने गरेको गुनासो आम रुपमा छ । लैङ्गिक हिंसा र यसको कानूनी व्यवस्था बारे सर्वसाधारणहरुले प्रष्ट जानकारी नपाउँदा कतिपय हिंसाका घटनाहरु अझै बाहिर आउन सकिरहेका छैनन् ।

हिंसाका घटना गाउँमै बढि हुन्छन्
महिलाहरुको मानसिक स्वास्थ्य, प्रजनन स्वास्थ्य र दिगो जिविकोपार्जनको लागि जिल्लाको मुसिकोट नगरपालिका, बाँफिकोट र त्रिवेणी गाउँपालिकाका केहि वडाहरुमा कार्यरत महिला पुनस्थार्पना केन्द्र (ओरेक) का जिल्ला संयोजक दिपा धिताल पनि महिलामाथिको हिंसा गाउँमै बढी हुने कुरामा सहमत हुनुहुन्छ । उहाँका अनुसार सदरमुकाम केन्द्रित हुने सम्मेलन, गोष्ठि जस्ता सचेतनामूलक कार्यक्रमले गाउँका वास्तविक हिंसा प्रभावित महिला लाभान्वित हुन सकेका छैनन् ।

त्यसैगरी अन्तर पार्टी महिला सञ्जाल रुकुमका सचिव ब्युझना पुन देवकोटा पनि गाउँमा हिंसा बढि हुने र बजार तथा शहरमा कार्यक्रम केन्द्रित हुने गरेको स्वीकार्नु हुन्छ । ‘बजार क्षेत्रमा पनि हिंसाका घटना त हुन्छन् नै तर चेतना, अशिक्षा, गरिबीको कारण गाउँमै हिंसाका घटना बढी छन्,’ सचिव पुनले भन्नुभयो, ‘गाउँमा रहेका पीडित महिलाहरुको पहुँचबाट यस्ता अभियान र सचेतामूलक कार्यक्रम निकै टाढा रहेका छन् । ’

सरोकारवाला निकायको ध्यान अलि दुर्गम र पिछडिएको समुदायमा पुग्न नसक्दा र भएका कार्यक्रमहरु प्रभावकारी कार्यान्वयन नहुँदा गाउँमा बढि हिंसा हुने गरेको उहाँको भनाई छ । अन्तर पार्टी महिला सञ्जालमा चालु आर्थिक वर्षका आएका २४ ओटा हिंसाका उजुरी पनि गाउँबाटै आएकाले गाउँमा बढी हिंसा हुने गरेको प्रष्ट हुने उहाँको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा आर्थिक वर्ष ०७८/०७९ को यस अवधिमा १९ ओटा घरेलु हिंसाका उजुरी आएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिलजंग शाहीले बताउनुभयो । मानसिक तनाव, लालनपालन नगरेको, रक्सी खाएर कुुटपिट गरेको लगायतका घटनाविरुद्ध आएका यी उजुुरी बढी मात्रामा गाउँ, टोलबाटै आउने गरेको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो ।

मुसिकोट नगरपालिकाको कार्यपालिका सदस्य कमला पुनका अनुसार बजारमा भन्दा गाउँमै लैङ्गिक हिंसाका घटना बढि मात्रामा हुने गरेका छन् । लैङ्गिक हिंसाविरुद्ध हुने गतिविधिहरु भने बजार केन्द्रित भएको उहाँको पनि भनाई छ । शहरमा अलि शिक्षित व्यक्तिहरु बस्ने, बिभिन्न सरकारी तथा गैर सरकारी निकायको उपस्थिति रहने र बढि मात्रामा गतिविधिहरु बजारमै केन्द्रित हुने भएकोले पनि सचेतनाका कार्यक्रम अब गाउँ केन्द्रित गर्न जरुरी रहेको कुुरामा सदस्य पुनले जोड दिनुभयो । कतिपय कार्यक्रमहरु बजेट सक्नका लागि मात्र गरिने आरोप समेत उहाँले लगाउनुभयो । समुदायस्तरका महिलाका पीडा बजारबाट अनुभूति नहुने भएकोले पनि गाउँमा लैङ्गिक हिंसाका घटना बढि मात्रामा भैरहेको उहाँको दाबी छ ।

महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न र जननिर्वाचित संस्थाहरुमा महिलाहरुको उल्लेख्य सहभागिता सहित राजनीतिमा महिलाको सशक्तिकरणलाई तीव्रता दिन मनाइने यस्ता दिवसीय कार्यक्रम उपलब्धीमूलक भएपनि सञ्चालन गर्ने परम्परागत शैलीमा परिवर्तन आउनुपर्ने कुरामा सवै एकमत हुनुहुन्छ ।

स्थानीय सरकारसँग न योजना न त बजेट
जनताको घरमै सिंहदरवार पुगेको अनुभूति दिलाउन सक्ने स्थानीय सरकार समक्ष पनि हिंसाबिरुद्धका प्रभावकारी नीति तथा कार्यक्रम छैनन् । दिवस बाहेक जिल्लामा अन्य कुनै प्रभावकारी कार्यक्रम भएको पाईदैन ।

ईन्सेक रुकुम पश्चिमका प्रतिनिधि मनिषा केसी हिंसाबिरुद्धको मुद्दा नेताहरुका चर्का भाषणबाजिमा मात्र सिमित हुने गरेको बताउनुहुन्छ । ‘नारी दिवस र १६ दिने अभियानको बेला कुरा हुन्छन्, भाषण हुन्छन्,’ केसीले भन्नुभयो, ‘स्थानीय सरकारले पनि यस क्षेत्रमा दिवसीय कार्यक्रम बाहेक अरु गर्न सकिरहेको छैन ।’

जिल्लाको त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष निर्मला बिष्टले पनि स्थानीय सरकारले महिला हिंसाविरुद्ध प्रभावकारी कार्यक्रम ल्याउन नसकेको स्वीकार्नुुुहुन्छ । उहाँले आफूहरुले महिलामाथिको हिंसा सम्बोधन हुुने योजना र बजेट बिनियोजनका कुरा उठाउँदा भै त राछन् नि ! भन्दै टार्ने गरिएको गुनासो व्यक्त गर्नुभयो । नेतृत्वमा बस्ने हरु नै जिम्मेवारविहिन भैदिदा स्थानीय सरकारले टोल टोलमा प्रभावकारी कार्यक्रम गर्न नसकेको उहाँको भनाई छ ।

महिला लक्षित बजेटबाट भवन निर्माण
जिल्लाको बाँफिकोट गाउँपालिकाकी उपाध्यक्ष मनकला पुनले महिला हिंसाविरुद्धको १६ दिने अभियान टोल टोलमा सचेतनाका कार्यक्रम आयोजना गर्दै मनाईरहको बताउनुहुन्छ । दिवस बाहेक गाउँपालिकाले महिला लक्षित बजेट बार्षिक २० देखि २५ लाख रुपैयाँसम्म विनियोजन गर्ने गरेको समेत जानकारी दिनुभयो । तर, यो बजेट भने वडाहरुमा महिला भवन निर्माणमा खर्च हुने गरेको छ ।

गाउँपालिकास्तरीय महिला सञ्जालले योजना माग गरेर यस अघि ७ ओटा वडामा र यस बर्षमा ३ ओटा वडामा महिला भवन निर्माण गरेको जानकारी उहाँले दिनुभयो । भवन निर्माणका लागि अन्य योजनाहरुको बजेट पनि हालेको र यी भवनमा आवश्यकता अनुसार महिला नेतृत्व विकासका तालिमहरु सञ्चालन गरिएको उहाँ बताउनुहुन्छ ।

बोक्सीको आरोप, छाउपडी, दाइजो, छुवाछुतलगायतका कुप्रथाका कारण अहिले पनि महिला र बालबालिका विभिन्न हिंसा भोग्न बाध्य छन् । तर हिंसाको कारण खोतल्ने र हिंसा अन्त्यका लागि आवश्यक नीति तथा योजना तर्जुुमा गरी प्रभावकारी कार्यान्वयन गर्न अब स्थानीय सरकार गम्भीर रुपले लाग्नुपर्ने सरोकारवालाहरुको सुझाव छ ।

संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउन थालिएको हो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो । रुकुम पश्चिममा पनि दिवसको अवसरमा सरोकारवाला निकाय, पालिकाहरुले अभियानकै रुपमा सचेतनाका कार्यक्रमहरु गरिरहेका छन् । - उज्यालो अनलाईनबाट

 

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  ०८:१२
प्रतिक्रिया दिनुहोस्