Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुममा मानव अधिकारको सवालमा अन्तरक्रिया

२०७८ मंसिर २३
tribeni2

रुकुम पश्चिम / बिहिबार मुसिकोटमा मानव अधिकारको बिषयमा सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रम गरिएको छ । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा जिल्लाको मानव अधिकारको प्रवद्र्धनमा भएका प्रयास र सरोकारवालाहरुको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

ईन्सेक, हरप्लेस, नेपाल बार एशोसियसन, ओरेक नेपाल लगायतका निकायहरुको संयुक्त आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा ईन्सेकका जिल्ला प्रतिनिधि मनिषा केसीले एक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । मानव अधिकारको पृष्ठभूमि, रुकुम पश्चिममा मानवअधिकारको अवस्था, मानव अधिकारका प्रवद्र्धनका लागि भएका प्रयासहरु, सरोकारवालाहरुको भूमिका र आगामी कार्यदिशा बारेमा कार्यपत्र प्रस्तुत भएको थियो ।

कार्यपत्रमा मानव अधिकार हननका घटनाहरु तुलनात्मक रुपमा बृद्धि भएको जनाईएको छ । जिल्लामा घरेलु हिंसा, बलात्कार, कुटपिट, बहुविवाह लगायतका ज्यालतीका घटनाहरु बढेको इन्सेक प्रतिनिधि केसीले उल्लेख गर्नुभयो । उहाँले इन्सेकको तथ्यांक अनुसार श्रीमानले खान लाउन नदिएको, धम्की तथा कुटपिट गर्ने गरेको, घरनिकाला गरेको, विवाह दर्ता, नागरिकता तथा जन्मदर्ता नदिएको, बहुविवाह गरेको, बलात्कार जस्ता घटनाहरु संकलन भएको जानकारी दिनुभयो ।

गत एक बर्षको अवधिमा मानव अधिकार उल्लंघन तथा हिंसाका ५९ घटना अभिलेख गरेको समेत उहाँले बताउनुभयो । जिल्लामा भए गरेका सचेतनामुलक कार्यक्रम तथा अधिकारवादी निकायहरुको सकारात्मक प्रयासले मानवअधिकार संरक्षण केन्द्रीत भएको केसीले उल्लेख गर्नुभयो ।

कार्यपत्रमा सरकारले मानव अधिकार सम्बन्धि पाचौ कार्ययोजना बनाएर कार्यान्वयन तर्फ लिएको भएतापनि जिल्लामा मानव अधिकारको सवाल स्थानीय सरकारको प्राथमिकतामा पर्न नसकेको, कार्ययोजना अनुसार बनाउनुपर्ने मानव अधिकारका संयन्त्रहरु नबनेको सवाल उल्लेख गरिएको छ ।

अन्तरक्रिया कार्यक्रममा बिभिन्न सरोकारवालाहरुले सकारात्मक प्रतिक्रिया तथा सुझावहरु दिनुभएको थियो । हरप्लेस रुकुमका कार्यक्रम संयोजक महेश केसीले सञ्चालन गर्नुभएको कार्यक्रम जिल्ला मानव अधिकार सञ्जालका संयोजक एक्कबहादुर पाण्डेको अध्यक्षतामा भएको हो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  १८:१२
प्रतिक्रिया दिनुहोस्