Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पत्रकार डेकेन्द्र थापा हत्या प्रकरण: मुद्दाको मुल्तबी सकियो, तीन जनालाई जन्मकैद

२०७८ मंसिर २६
tribeni2

दैलेख / पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न मुख्य आरोपीमध्येका 'अरुण' भनेर चिनिने बमबहादुर खड्कासहित तीन जनालाई दैलेख जिल्ला अदालतले जन्मकैद (२० वर्ष) को फैसला गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले यस्तो फैसला गरेको स्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

डेकेन्द्र थापाको हत्याको १७ वर्षपछि दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका ४१ वर्षीय खड्कालाई यो सजाय सुनाइएको हो । आफूलगायत नौ जनाविरुद्ध जाहेरी परेपछि पक्राउ पर्ने डरले लुक्दै आएका खड्कालाई दुई वर्षअघि कैलाली प्रहरीले पक्राउ गरी अड्डासार गर्दै दैलेख पठाएको थियो ।

प्रहरीले उनलाई दैलेख जिल्ला अदालतमा बुझाएपछि मुल्तबीमा रहेको मुद्दा जगाउँदै २०७६ फागुन २१ गते गरेको थुनछेक बहसपछि त्यही दिन दैलेख कारागार चलान गरेको थियो ।

यो फैसलामा बमबहादुर खड्काका साथै कसुरदार भगवतीमाई गाउँपालिका ६ का 'मुक्ति' भनेर चिनिने बमबहादुर खड्का र दुल्लु नगरपालिका ६ का केशव खड्कालाई २० वर्ष कैद फैसला भएको हो । मुल्तबीबाट जगाइएको कर्तव्य ज्यानसम्बन्धी यो मुद्दामा आरोपित बाँकेको कोहलपुर नगरपालिका ३ का भक्तिराम लामिछानेलाई तीन वर्ष कैदको फैसला भएको छ । अदालतका स्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले डेकेन्द्र थापा हत्या प्रकरणको मुल्तबी लगत कट्टा भएको बताउनुभयो ।

आज भएको बहसमा कसुरदारलाई सजायको मागबीवी गर्दैै जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरे र सहायक जिल्ला न्यायाधिवक्ता रुकमेदा पोखरेलले बहस गर्नुभएको थियो । प्रतिवादीहरूको बचाउ गर्दै वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरू शालिकराम सापकोटा, छवि सुवेदी र सर्वराज जोशीले बहस गर्नुभएको थियो ।

सशस्त्र युद्धका बेला २०६१ साउन २७ गते नौमुलेको द्वारीमा माओवादी कार्यकर्ताहरूले पत्रकार थापाको हत्या गरेका थिए । दैलेख बजार खानेपानी उपभोक्ता समितिका अध्यक्षसमेत रहनुभएका थापालाई मुहान मर्मतका लागि त्यसतर्फ जान लागेका बेला २०६१ असार १२ गते माओवादी कार्यकर्ताहरूले अपहरण गरेका थिए । अपहरणको ४५ दिनपछि थापाको हत्या भएको थियो ।

पत्रकार मारिएका भन्दै माओवादीको कडा आलोचना भएकाले माओवादीले थापालाई गाडिएको ठाउँसमेत गोप्य राखेको थियो ।
शान्ति प्रक्रियापछि अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा नेपाल पत्रकार महासङ्घ र राष्ट्रिय मानव अधिकार आयोगले २०६५ साउन १३ गते नौमुले गाउँपालिका ३ द्वारीमा गाडिएको थापाको शव निकालेपछि न्यायिक प्रक्रिया सुरु भएको थियो ।

घटनाको चार वर्षपछि थापाको कङ्कालको परीक्षण गरि २०६५ साउन १८ गते हिन्दू धार्मिक परम्पराअनुसार श्रीस्थानमा दाहसंस्कार गरिएको थियो । दाहसंस्कारपछि पत्रकार थापाकी श्रीमती लक्ष्मी थापाले २०६५ भदौ ६ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा नौ जनाविरुद्ध किटानी जाहेरी दिनुभएको थियो ।

सशस्त्र युद्धकालीन समयको घटना भएकाले विस्तृत शान्ति सम्झौताअनुसार सत्य निरूपण तथा मेलमिलाप आयोगले त्यो मुद्दा हेर्नुपर्ने भन्दै माओवादी पक्षले दिएको दबाबका कारण मुद्दा चल्न सकेको थिएन । पत्रकारहरूको निरन्तर दबाबपछि २०६९ पुस २० गते प्रहरीले हत्यामा संलग्न भनिएका नौ जनामध्ये निरकबहादुर घर्ती, हरिलाल पुन र जयबहादुर शाहीलाई पक्राउ गरी मुद्दा चलाएको थियो । पक्राउ परेकाहरूका सन्दर्भमा २०७१ मङ्सिर २१ गते तत्कालीन जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले निरकबहादुर घर्ती, हरिलाल पुन र जयबहादुर शाहीलाई दुईरदुई वर्ष तथा लक्षिराम घर्तीमगरलाई एक वर्ष ६ महिना र वीरबहादुर केसीलाई एक वर्षको कैद सजाय सुनाएको थियो । उनीहरूले कैद भुक्तान गरिसकेका छन् ।

यो फैसलामा जिल्ला न्यायाधीश श्रेष्ठले इजलासले मुख्य आरोपी बमबहादुर खड्कासमेत चार जना पक्राउ परेको बेला मुद्दा जगाउन सकिने गरी मुल्तबीमा राख्ने फैसला सुनाएको थियो ।
माओवादी कार्यकर्ताले अपहरण गरेको डेढ महिनापछि २०६१ साउन २७ गते साविकको द्वारी गाविस १ नेपाल राष्ट्रिय आधारभूत विद्यालयभित्र दिइएको यातनाका कारण ज्यान गएका पत्रकार थापा त्यस बेला ३३ वर्षका हुनुहुन्थ्यो । त्यस बेला उहाँ रेडियो नेपालको दैलेख संवाददाता हुनुहुन्थ्यो । उहाँका श्रीमती, दुई छोरी र छोरा छन् । - उज्यालो अनलाईन डटकम बाट

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  २१:१२
प्रतिक्रिया दिनुहोस्