पाटन सङ्ग्राहालयमा ‘सिजन’ चित्रकला प्रदर्शनी

काठमाडौं २६ फागुन

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभागले १०९ औँ अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा पाटन सङ्ग्राहालयमा ‘सिजन’ चित्रकला प्रदर्शनी आजदेखि शुरु गरेको छ । 

यही फागुन २८ गतेसम्म चल्ने उक्त प्रदर्शनीमा ७७ महिला कलाकारले सिर्जना गरेका विभिन्न किसिमका ७७ चित्र समावेश गरिएका छन् । प्रदर्शनीमा महिला हिंसाहत्या, दुव्र्यवहार तथा बलात्कारका घटना, पीडा, नारी वेदना, उनीहरूको सङ्घर्ष, समाज रुपान्तरणमा महिलाको भूमिका रहेका चित्र समावेश गरिएका छन् । 

वरिष्ठ कलाकार रागिनी उपाध्याय, शारदा चित्रकार, चन्दा श्रेष्ठलगायत महिलाले शहर तथा ग्रामीण भेगमा देखेका र भोगेका अनुभवलाई आधार बनाएर दुःख तथा सफलताका विषय वस्तुलाई विम्ब बनाएर चित्रमार्फत अभिव्यक्त गरिएको छ । नेपाल कम्युनिष्ट पार्टीका नेतृ अष्टलक्ष्मी शाक्यले प्रदर्शनीको उद्घाटन गर्दै कलाका माध्यमबाट शान्तिपूर्ण समाज निर्माण गरी त्यसलाई गतिशील बनाएर आर्थिक समृद्धिका लागि अगाडि बढ्नुपर्नेमा जोड दिईन् ।


प्रतिष्ठानका कुलपति केके कर्माचार्यले समाजमा महिलाले विभिन्न भूमिका पूरा गर्नुपर्ने हुँदा कलाकारिता क्षेत्रलाई निरन्तरता दिन कठिन रहेको अवस्थामा पनि चित्र सिर्जना गरेकामा त्यसको सराहाना गरिन् ।

विभागका प्रमुख सुषमा राजभण्डारीले मुलुकमा भएका सबै राजनीतिक परिवर्तनमा महिला समुदायको उल्लेखनीय भूमिका रहेको भए पनि नीति निर्माणका तहमा उनीहरुको पहुँच नभएको बताईन्।

प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५  २१:०३
प्रतिक्रिया दिनुहोस्