Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुमालबारामा आधारभुत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन

२०७८ मंसिर २९
tribeni2

रुकुम पूर्व / जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ मा निर्माण गरिएको आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन उद्धघाटन गरिएको छ । वडाको रुमालबारामा निर्माण गरिएको आधारभूत स्वास्थ्य केन्द्रको गाउँपालिका अध्यक्ष कुमारी बराल र उपाध्यक्ष गोबर्धन बुढाले आज रिबन काटेर संयुक्त रुपमा उद्धघाटन गर्नुभएको हो ।

लुम्बिनी प्रदेश सरकारको २५ लाख र गाउँपालिकाको ५ लाख गरि ३० लाख बजेटबाट स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको वडा अध्यक्ष शान्ते बहादुर विकले जानकारी दिनुभयो । स्वास्थ्य केन्द्र भवन निर्माणको स्थानीयवासीले जग्गादान गर्नुभएको थियो ।

आज बाथरुम र शौचालय सहितको तीन कोठे पक्कि स्वास्थ्य केन्द्र भवन उद्घाटन गरिएको हो । स्वास्थ्य केन्द्रको नव निर्मित भवनमा पानि र बत्तिको सुविधा रहेको बताइएको छ ।

सामान्य उपचार र परामर्शका लागि नागरिकहरु जिल्ला अस्पताल धाउनु नपरोस भन्ने उद्देश्यले स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको अध्यक्ष बरालले बताउनुभयो । सिमलबोट, ह्याप्ला, चोताबारि, थाक्ना, भैसेखाल, घङगारचौर, तेर्छा, रुमालबाराको माथिल्लो र तल्लो बस्तिमा बसोबास गर्ने नागरिकको स्वास्थ्य समस्यालाई मध्यनजर गरि सहज रुपमा सेवा प्रवाह गर्नका लागि रुमालबारामा स्वास्थ्य सेवा केन्द्र स्थापना गरी सन्चालनमा ल्याइएको अध्यक्ष बरालको भनाई छ ।

गाउँपालिका उपाअध्यक्ष बुढाले भूगोल र जनसंख्यालाई आधार मानी रुमालबारामा स्वास्थ्य केन्द्र स्थापना गरिएको बताउनुभयो । गाउँपालिका भित्रका ८ वटै वडामा भूगोल र जनसंख्यालाई आधार मानि स्वास्थ्यचौकीको साथमा आधारभूत स्वास्थ्य सेवा केन्द्र पनि स्थापना गरिरहेको उपाध्यक्ष बुढाको भनाई छ । यसअघि भाडाको घरबाट सेवा प्रवाह गर्दै आइरहेको आधारभुत स्वास्थ्य केन्द्र रुमालबाराले नयाँ भवनबाट सेवा सुरु गरेको हो ।

स्वास्थ्य केन्द्रको आफनै भवन निर्माण भएसंगै यसअघि भाडाको घरबाट स्वास्थ्य केन्द्र सञ्चालन गर्दा हुने विभिन्न समस्याको अन्त्य हुने स्वास्थ्य केन्द्रका प्रमुख तथा सिनियर अहेव सुमन विश्वकर्माले बताउनु भयो । उक्त स्वास्थ्य केन्द्रबाट सेवा प्रवाह गर्न गाउँपालिकाले सिनियर अहेव विश्वकर्माको नेतृत्वमा सिनियर अनमी शर्मिला थापा र अहेव चन्द्रदेब खड्कालाई खटाएको छ ।

उक्त स्वास्थ्य केन्द्रबाट बहिरंग सेवा, परिवार नियोजन सेवा, एकिकृत बाल स्वास्थ्य सेवा, मातृ तथा नवजात शिशु सेवा, खोप सेवा लगायतका स्वास्थ्य सेवा प्रवाह भइरहेका छन ।

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  २०:१२
प्रतिक्रिया दिनुहोस्