Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

'प्रचण्डपथ' छोड्नु माओवादीको गम्भीर गल्ती थियो : जनार्दन शर्मा

समृद्धि र आत्मनिर्भरताको पक्षमा जागरण ल्याउनु जनकलाकारको काम हो
tribeni2

काठमाडौं / अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीले प्रचण्डपथको कार्यदिशालाई छोड्नु गलत भएको बताउनुभएको छ।

बिहीबार काठमाडौंमा आयोजित जनसांस्कृतिक महासंघ नेपालको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा शर्माले पार्टीले तत्कालिन अवस्थामा लिएको प्रचण्डपथ र २१ औं शताब्दीको जनवादलाई छोड्नु पार्टी केन्द्रीय समितिको गम्भीर गल्ती भएको बताउनुभएको हो । प्रचण्डपथ भित्र सबै वर्ग, जाति, लिङ्ग र समुदायको भावनाको संश्लेषण रहनुका साथै सामाजिक अन्तरविरोधहरुलाई समाधान गर्ने वैचारिक संश्लेषण रहेको उहाँको भनाइ छ ।

‘हामीसँग भएको विचार, हामीले प्रचण्डपथ, २१ औँ शताब्दीको जनवादको जो संश्लेषण गरेका थियौं । त्यसको सही उपयोग र कार्यान्वयन गर्ने कुरामा, नयाँ सन्दर्भमा त्यसलाई विकसित गरेर जानुपर्ने आवश्यकतालाई छाडेर हामीले त्यसलाई हापिदियौं’ उहाँले भन्नुभयो, ‘मानौं त्यो केही पनि थिएन । त्योभित्र बलिदानीको संश्लेषण, सबै वर्ग, जाति, लिङ्ग, समुदायको भावनाको संश्लेषण, हजारौँ घाइते योद्धाहरुको त्याग र विरताको संश्लेषण, सामाजिक अन्तरविरोधहरुलाई समाधान गर्ने वैचारिक संश्लेषणलाई केही पनि होइन जस्तो गरेर फ्याँकिदियौँ । पार्टी केन्द्रीय समितिले गम्भीर गल्ती गर्‍यो ।’

प्रचण्डपथलाई फ्याँकेका कारण पार्टीमा निराशा पैदा भएको पनि शर्माले बताउनुभयो । ‘पार्टी नेतृत्वले प्राधिकार प्राप्त गरेको थियो त्यो समाप्त भयो र हामी कमजोर भयौं, हाम्रो सकारात्मक पक्षहरुलाई हामीले छोड्यौँ र हाम्रा उपलब्धीप्रति गर्जिएर यो हामीले गरेको परिवर्तन भन्न सकेनौं’ उहाँले भन्नुभयो ।

समृद्धि र आत्मनिर्भरताको पक्षमा जागरण ल्याउनु जनकलाकारको काम हो

कार्यक्रममा उहाँले राष्ट्रको समृद्धि, आत्मनिर्भरता र राष्ट्रिय स्वाधीनताका पक्षमा नयाँ जागरण पैदा गर्नुपर्ने समेत बताउनुभयो । समारोहलाई सम्बोधन गर्नुहुदै शर्माले जनकलाकारहरूको कार्यभार राष्ट्रको समृद्धि र आत्मनिर्भरताको पक्षमा नयाँ जागरण ल्याउनु रहेको उल्लेख गर्नुभयो ।

‘जनसांस्कृतिक महासंघसँग राष्ट्रको समृद्धि, आत्मनिर्भरता र राष्ट्रिय स्वाधिनताका पक्षमा नयाँ जागरण पैदा गर्ने, श्रम संस्कृति, आत्मनिर्भरताको संस्कृति स्थापना गर्ने कार्यभार रहेको समेत अर्थमन्त्री शर्माले बताउनुभयो ।

राजनीतिक परिवर्तनहरू भएपनि सामाजिक, सांस्कृतिक परिवर्तनमा धेरै समय लाग्ने बताउँदै उहाँले यसको परिवर्तनका लागि महासंघले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  २०:१२
प्रतिक्रिया दिनुहोस्