सोसल मिडिया
द्वन्द्वपीडित साझा चौतारीले द्वन्द्वपीडितहरुका पीडालाई समेटेर बनाइएको ‘चहराइरहेको घाउ’ वृत्तचित्र प्रर्दशनी गरेको छ । चौतारीले आज आयोजना गरेको कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सो वृत्तचित्र प्रदर्शनीको शुभारम्भ गरेका हुन् ।
मन्त्री ढकालले सरकार द्वन्द्वपीडितको समस्या समाधान गर्न प्रतिबद्ध रहेको हुनाले नै दुई आयोग जीवित राख्ने र पदाधिकारीको मात्र समय सकिने गरी ऐन संशोधन गरेको स्पष्ट पारे ।आफ्नो कार्यकालमा द्वन्द्वपीडितको समस्या समाधान गर्न चाहेको उल्लेख गर्दै उनले न्यायको पर्खाइमा बसेका पीडितले न्याय दिनेमा सरकार प्रतिबद्ध रहेको बताए ।
वृत्तचित्र विसं २०५२ देखि २०६३ सम्म चलेको द्वन्द्वका समयमा भएका हत्या, बलपूर्वक बेपत्ता, यातना, बलात्कार, यौनजन्य हिंसा, सम्पत्ति कब्जा, विस्थापन भएका घटनाका पीडितको पीडालाई समेटेर वित्तचित्र तयार पारिएको छ । चौतारीले सत्यको बयान कार्यक्रम सिराहा, कैलाली र कास्कीमा आयोजना गरेको थियो । तीन स्थानमा सत्यको बयान गर्दा ६९ जनाले आफ्नो पीडा राखेका थिए ।
सातै प्रदेशका द्वन्द्वपीडितको पीडा समेटेर पीडितलाई न्याय दिने उद्देश्यले वृत्तचित्र तयार पारिएको चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले जानकारी दिए ।