Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कृषि प्रदर्शनी मेला सम्पन्न, ७६ जना कृषक पुरस्कृत

२०७८ पुस २
tribeni2

रुकुम पूर्व / रुकुमकोटमा संचालन भएको बृहत् कृषि प्रदर्शनी मेला आज सम्पन्न भएको छ । बिहिबारदेखि रुकुम पूर्व जिल्लाको सिस्ने गाउँपालिका-६ स्थित छिप्रिदहमा जिल्ला स्तरीय बृहत् कृषि प्रदर्शनी मेला आयोजना गरिएको थियाे ।

एकिकृत कृषि तथा पशुपंछि विकास कार्यालय रुकुम पूर्व, सिस्ने गाउँपालिका, घरेलु तथा साना उद्योग कार्यालय र हुरेड कार्स रुकुम पूर्वको संयुक्त आयोजनामा मेलाको आयोजना गरिएको हो ।

निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायिक खेतीमा रुपान्तरण गर्नुका साथ कृषि उपज उत्पादनमा कृषकको प्रतिस्पर्धी खेतीपाती गर्नमा टेवा पुर्याउने उद्देश्यले जिल्ला स्तरीय बृहत् कृषि प्रदर्शनी मेला आयोजना गरिएको एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेत बताउनु भएको छ । बृहत कृषि प्रदर्शनी मेलाको लागि जिल्लाका १ सय ९८ जना कृषकले आफ्नो नाम दर्ता गरेका थिए ।

प्रदर्शनीमा उत्कृष्ट ७६ जना कृषकलाई प्रमाण पत्र र नगद पुरस्कारले पुरस्कृत गरिएको छ ।

कृषकको उत्पादनलाई ११ वटा विधामा राखेर पुरस्कारको लागि मूल्याङ्कन गरिएको एकीकृत कृषि तथा पशुपंन्छी विकास कार्यालयका पशुपंछि विकास शाखा अधिकृत छविलाल घर्ती मगरले जानकारी दिनुुभयो । कृषि उपजका विधाहरूमा नगदे बाली, तरकारी बाली, फलफूल बाली, खाद्यान्न बाली, दलहन, रैथाने बाली यसैगरी तेलहन बाली, मौरी, माछा, पशुपंन्छी र मसला लगायत बालीलाई छुट्टाछुट्टै रुपमा मुल्याङ्कन गरिएको थियो ।

हरेक विधामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने कृषकलाई क्रमश: ४ हजार, ३ हजार, २ हजार र १ हजार सहित  प्रमाण-पत्रले पुरस्कृत गरिएको छ । राम्रो कामलाई पुरस्कृत गर्नु र अरुलाई काम गर्नुपर्दो रहेछ भन्ने भावना पैदा गर्नु र सन्देश दिनु यस मेलाको मुख्य उद्देश्य रहेको बताइएको छ ।

कृषि मेलाको उद्घाटन बिहिबार जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर ओलीले गर्नु भएको थियो भने भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगर, सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बराल, प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद बाँस्कोटाको आतिथ्यता रहेको थियो ।

जिल्ला स्थित सरकारी एवं गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि र सहभागिले कृषि मेलाको अवलोकन गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  १९:१२
प्रतिक्रिया दिनुहोस्