प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौ / प्रधानमन्त्री शेरबहादुर देउवाले आईतबार दिँउसो ४ बजेको लागि सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार संसद्को गतिरोध अन्त्य गर्नका लागि भोलिको बैठक बोलाइएको हो । ‘नेकपा एमालेको विरोधका कारण संसद अघि बढ्न नसकेकोले गतिरोध अन्त्य गरेर संसद्लाई सुचारु गर्न प्रधानमन्त्रीज्यूले पहल सुरु गर्नुभएको स्वकिय सचिव देउवाले जानकारी दिनुभयो । उहाँका अनुसार सबै दललाई पत्र पठाइसकिएको ।

शुक्रबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको थियो । बालुवाटारमा भएको भेटवार्तामा संसदमा भइरहेको अवरोध हटाउन तथा एमसीसी लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएर अघि बढ्नुपर्ने विषयमा दुई नेता सहमत भएका थिए ।

प्रकाशित मिति: शनिबार, पुस ३, २०७८  १९:१२
प्रतिक्रिया दिनुहोस्