सिक्किम - दार्जिलिङको झल्को दिने रुकुमको मुसिकोट

  • संजय मानन्धर

"एकदिन चौखावाङ्गी राजाको बँदेल हराउँछ । सो बँदेल खोज्ने क्रममा उनकी मुसी नामका सुसारे हालको मुसीडाँडा पुग्छिन् । एकातर्फ मात्र देखिने चौखावाङ्ग भन्दा चारैतिर देखिने मुसीडाँडा राजालाई बस्नयोग्य मानि सो वारेमा विन्ती चढाउँछिन् ।" यो कथांश मुसिकोटमा आजै पनि सवैको मानसपटलमा ताजै देखिन्छ । पछि राजा खुसी भई पुरस्कारवापत सो स्थानको नाम नै मुसिकोट राखेको स्मरण चाँपाका ६९ वर्षिय तिलक बहादुर मल्ल बताउनुहुन्छ ।

वास्तवमै मुसिडाँडाबाट उत्तर पारीतर्फ थुम्कामा खलङ्गा बजार, अलि तल शेरीगाउँ, पूर्वमा साँख, चौखावाङ्ग, दक्षिणमा खारा, मुरु, पश्चिममा छिवाङ्ग सङ्गै बगेको सानी भेरी ज्यादै सुन्दर देखिन्छ । उत्तरतर्फ ठाडो शिर सहित उभिएको जन्ति वस्ने डाँडा र अलि तल प्रख्यात डिग्रे साईकुमारी मन्दिर क्षेत्र भव्य देखिन्छ ।

मुसिडाँडा

त्यो भन्दा रोमाञ्चक त खलङ्गा बजार र टुप्पोमा अवस्थित श्री त्रिभुवन जनता स्कुल, बागबजार र शेरीगाँउमा छरिएर स-साना बुट्टा झैं कोरिएका निला, हरिया, सेता, राता अनि भिन्न-भिन्न रङ्गका, पुराना शैलीका मौलिक घरहरु, बिच-बिचमा हरिया रुखहरु तथा सो सँगै कोरिएका बाटाहरुले कहिं कतै मानसपटलमा सिक्किम-दार्जिलिङको पो झल्को दिईरहन्छ ।

सिस्ने हिमाल छेउको स्यालाखदी, मौलिकता बोकेको गोतामकोट, बाँफिकोट अनि आठबिसकोट, चौरजहारीको विशाल समथर फाँट, विच-विचबाट बग्ने हिमाली कञ्चन जल सहितको सानीभेरी, राडी बजार हुँदै रिम्ना दोभानमा भेटिने ठुलीभेरी रुकुम पश्चिमका सुन्दर गहनाहरु हुन् । स्यार्पु ताल र सिस्ने हिमाल, जुम्ली दह, ठुलि दह, ठुली चौर यहाँको पहिचान रहेछन् । यहाँको मेला-पर्वमा गाईने विविध संस्कृतिसँग जोडिएको सिङ्गारु, समूहमा नाँचिने मयुर नाचका आफ्नै विशेषता रहेछन् ।

केहि दशकहरु अघि पुरै बाईस दिन लगाएर नुन बोकी ल्याउने गरेको बृद्धहरुको कथा सुन्दा यहाँको दुर्गमतालाई आँकलन गर्न त्यति गार्हो हुँदैन । यातायातका साधन जिप, बस र पछिल्लो समयमा आएको पहाड फोड्ने डोजर हेर्न गाँउ नै उर्लिएको अनुभव धेरैले विर्सिएका छैनन् । अहिले परिवर्तन सबैतिर उत्कर्षमा देखिन्छ । आर्थिक, सामाजिक, राजनैतिक जागरण दुर-दराज सम्म महशुस गर्न सकिन्छ ।

मुसिडाँडामा राखिएको मुसीको प्रतिमा

उहिले जस्तो बाईस दिन हिँडी बोकी ल्याउने नुन अहिले घर-घरै, छिमेकमा र पल्लो गाँउको बजार सम्मै आईपुग्छ । लताकपडा, ईच्छाएको सामाग्री सबै रोजि रोजि नजिकै किन्न पाईन्छ । राप्ती राजमार्ग र हाल निर्माणाधिन मध्य-पहाडी लोकमार्गमा नियमित साना-ठुला गाडिहरु मात्र होईन, यहाँको सल्ले र चौरजहारी विमानस्थलमा दैनिक जस्तो नियमित हवाईजहाजको सुबिधा प्रशस्तै छन् ।

उहिलेको बेला नुन-तेल, कपडा बोकी ल्याई आफ्नै ठाउँमा नै रमाउने घर, छिमेक, गाँउ अहिले नुन आँगनमै आईपुग्दा भने अमेरिका, युरोप, साउदी लगाएत विदेशी शहरहरु र स्वदेशका ठुला शहरहरु: काठमाण्डौ, नेपालगञ्ज, बुटवल, दाङ्ग लगायतका शहरहरुमा ओईरिन आतुर देखिन्छन् ।

मुसिडाँडाबाट देखिने रुकुम पश्चिमको सदरमुकाम खलंगा र सेरीगाउँ क्षेत्र

"विदेश तथा स्वदेशका ठुला शहरहरु बनाउने जिम्मा उताकालाई नै होला, तपाईँहरु पनि उतै लम्किनु भयो भने तपाईको यो सुन्दर ठाँउ कसले बनाईदिने होला ?" मनमनै आफुलाई निरन्तर प्रश्न सोध्न मन लागिरहन्छ। "तपाईँहरु, यहि स्थानका वासिन्दाले नै थाँतथलो छाडेर गएर टुहुरो भएको र दुर्गमताको मानसिकता पो सृजना भएको हो कि?" सँधै जिज्ञासा लागिरहन्छ । कथित सुविधा सम्पन्न काठमाण्डौ लगायतका अन्य शहरहरु अनि रुकुम उस्तै पो छ त ।

भौगोलिक बनावट, हावापानी, तापक्रमको अवस्थाहरुमा अझ सुन्दर अनि वसोवास गर्न लायकको छ, यो स्थान । प्रचुर प्राकृतिक सम्पदाका उपहारहरुले सजिएको छ, यो रुकुम । सिस्ने हिमालको उचाई अनि भेरीको निरन्तर बग्ने शितल जलका विचमा उभिएका अग्ला-होचा मनोरम पहाडि टाकुराहरु स्वर्गको टुक्रा झैं पो महशुस हुन्छ।

पर्यटकिय मार्गको व्यापक सम्भावनाहरु, पुर्वाधारहरुको विकास, जडिबुटीको प्रचुर विस्तार, नगदेबालीको प्रविधि प्रयोगमा यहाँका गाँउ, वस्ति र समाजहरु लाग्न ढिलो पो भयो कि ? त्यतिकै समय कट्दा सुन्दर प्रकृतिको जवानी त्यसै पो विति जाने हो कि ? उहिले, नेपाललाई स्विटजरल्याण्डसँग दाँजिन्थ्यो, सायद यहाँ कै स्थानहरुलाई देखेर पो अनुमान गरिएको थियो कि ? प्रचुर सम्भावना बोकेको रुकुमको विभिन्न स्थानहरुको भ्रमण गरि, सो स्थानका विबिधताहरुको बारेमा थप अध्ययन, विश्लेषण सहित नक्साङ्कन तथा सूचना प्रवाहमा सबै पक्षको ऐक्यबद्धता अहिलेको आवश्यकता देखिन्छ ।

(बनेपा-चप्लेटी शुभ विहानी समूह)

 

प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  ०५:१२
प्रतिक्रिया दिनुहोस्