Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
जनयुद्धका कमाण्डरको कथा

जनयुद्धमा ३५ लडाइँ लडेर पनि हारेका विजय

पहिला श्रीमती गुमाए, त्यसपछि बहिनी ज्वाँइ
tribeni2

सुर्खेत / कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा माओवादीको प्रथम प्रदेश सम्मेलन चल्दै थियो । सिटी हलमा सम्मेलन चलिरहदा बजारमा हसिया हथौँडा अंकित नेकपा माओवादी केन्द्र लेखिएका टोपी र टिसर्ट लगाएका राता मान्छेको चहलपहल ज्यादै थियो । एक समय जुरुक्कै उचालिएर व्यवस्था परिवर्तन गर्न लागेका रातो मान्छे अचेल यस्तै सम्मेलनको सिजनमा मात्रै देखिन्छन् । 

गाउँमा क्रान्ति गर्न चटक्कै छाडेका राता मान्छेहरु अचेल सहर पसेका छन् । राता मान्छेका नेताहरु कुर्सी र सत्ताका लागि सहर पसेका हुन् । तर विगतमा रातै लगाएर अहिले कालो निलो अनुहार बनाएका राता मान्छे भने पेट पाल्न सहरमा भौतारिरहेका छन् ।

सिटीहलदेखि मंगलगढी चोकसम्म प्रदेश सम्मेलनका राता मान्छेको भीड हुँदा एक जना अटोचालकले एकटकसँग हेरिरहेका थिए । जो दैनिकी गुजार्न तीनपांग्रे गाडीको सहारा लिइरहेका छन्, उनैको मोबाइलमा राता मान्छेले गाउँने क्रान्तिको गीत बजिरहेको थियो ।

कसले भन्छ, क्रान्ति यहाँ सफल हुँदैन 
कसले भन्छ, योद्धाहरुको जित हुँदैन 
एक दुइ हार हुन सक्छ
तर,मुटु स्पात बन्छ 
वीरहरुको मुटुभित्र संसार फेर्ने साहस हुन्छ.....।

माओवादीका कलाकारले जनयुद्धताका यो गित सिर्जना गरेका हुन् । त्यतिबेलाको सामना परिवारले गाउँ गाउँमा यो गीत गाउँदै धेरै युवालाई जनयुद्धमा होमिन प्रेरित गर्ने गरेको थियो । त्यसैमध्येका एक हुन्, विजय पुन मगर । जसको घर जाजरकोट हो । अहिले वीरेन्द्रनगर सुर्खेतमा घरखर्चका लागि अटोरिक्सा चलाउँछन् । अनि बेला बेला उनी क्रान्तिकारी गीत सुन्दै जनयुद्ध कथा सम्झिन्छन् ।

क्रान्तिदेखि जनयुद्धको विगुलसम्म

गितमा जति उत्साह पार्ने शब्द छन् । धुनमा जति रगत उम्लिने लय छ । उनको अनुहारमा त्यो देखिदैन । बरु निराश अनुहार लिएर उनी बसेका छन् ।  ज्यान हेर्दा भने कुनै युद्धमा होम्मिएका लडाकु भन्दा अहिले पनि कम छैन । युद्धमा लडेर फर्किएका कमाण्डर जस्तो बाहुबली ज्यान प्रस्ट देखिन्छ । बजारमा मान्छेहरुको अत्याधिक चाप थियो । त्यो मान्छेहरुको अत्याधिक चापलाई वेवास्ता गर्दै आफ्नै संसारमा उनी भुलिएका छन् ।

विजय पुन मगर - फोटो : जितेन्द्र थापा/कर्णालीखबर

खुट्टादेखि टाउकोसम्म नियाल्दा मलिन अनुहार, थकित ज्यान, हरियो रङको अटो, टाउकोमा उनको टोपी, घाँटीमा गलैचा, शरिरमा बाक्लो कपडा र साइट झोला बोकेर गीतकै धुनमा उनी मस्त छन् । जिन्दगीको गहिराइमा उनी डुबेका छन् ।

मोबाइलमा गीत बजिरहेकै छ । गीतको धुनको गहिराइमा उनी डुबेको जस्तो देखिन्छन् । जिन्दगीको तीता मीठा पलहरु गितको धुनसँगै केलाउदै अटोमा अढेस लागेका उनका मनमा अनेकौ युद्धको अन्योलता छ ।

...अनि सुरु हुन्छ जनयुद्धका कमाण्डरको कथा

उमेरले ४८ वर्ष पुगेका उनी दश वर्षे जनयुद्धमा होम्मिएका कमाण्डर हुन् । जाजरकोटको भेरी नगरपालिका २ घर भएको स्थायी ठेगानामा नाम विजय पुन मगर छ । २०५२ फागुन १ गते २० वर्षको उमेरमा जनयुद्धमा होम्मिएको उनको संघर्ष कथा छ ।
उनले आफ्नो जीवनको कथा सुरु गर्नै लागेका थिए । मोबाइलमा गीत परिवर्तन भयो । तर गीतको भाका भने फेरिएन । अर्को क्रान्तिकारी गीत बज्यो । एउटै गीतको अर्को टुक्का । जो आफैमा नयाँ र फरक संगीत तथा रगत उमाल्ने खालको छ ।

आकास गज्र्यो, धर्ती फाट्यो 
जनयुद्धको बिगुल बज्यो 
मसान घाटमा मुर्दा जाग्यो 
चिस्यानबाट धुवाँ उड्यो 
मेची उर्ल्यो, काली व्युझ्यो
हिमाल तराई पहाड उठ्यो
माओवादी जनयुद्धमा भोकानाङ्गा सारा जुट्यो
कसले भन्छ क्रान्ति यहाँ सफल हुँदैन......।

यो गीत बजिरहदा हामीले पहिलो प्रश्न सोध्यौँ, ‘यही गीत यति धेरैपटक किन सुन्नुहुन्छ ?’

टुलुक्क हेर्दै उनले भने, ‘यो गित सुन्दा जनयुद्धको झल्को आउँछ । गरिब निमुखा र सर्वहारा वर्गको राज्य स्थापना र तिनै गरिब निमुखा र सर्वहारा वर्गलाई दबाएर राख्ने, हक अधिकार खोस्नेका विरुद्ध गरेको युद्धको याद आउछ ।’उनी यतिमै रोकिएनन् ।

थप अगाडि भने, ‘दश वर्षसम्म सशक्त रुपमा आन्दोलन त गर्‍यौं । तर,आन्दोलनले पुर्णता पाएन । नेतृत्वकर्ताबाट धोका पाइयो । पुन देशमा नारी सुरक्षित छैनन्,देश सुरक्षित छैन । अन्याय, अत्याचारले सीमा नाघेको छ । सय प्रतिशतमा ८० प्रतिशत असत्य भइसके । यसको लागि पनि अधुरो रहेको क्रान्ति सफल पार्नू छ । यो गीतका शब्दले पुरानो साहस, जोशजाँगर र त्यो रातो–तातो रगत उम्लिएर आउछ, त्यसैले सुन्छु ।’

उनी जनयुद्धका योद्धा हुन् । कागजमा युद्ध सफल ठानिएपनि व्यवहारमा क्रान्ति अपुरै छ । उनले त्यही गुनासो सुरुमै राखे । अनि आफनो बाध्यता सुनाए, ‘चारजनाको परिवार छ । त्यो परिवार पाल्नका निम्ति अटोरिक्सा चलाएर जिन्दगीका पानाहरु पल्टाइरहेको छु ।’

१० वर्षे जनयुद्धमा कैयौँ घर,कैयौँ बस्ति जलेका थिए । नेपाली आमाका कोख रित्तिएका थिए । १७ हजार नेपाली आमाका सन्तान अकालमै सहीद हुनुपरेको थियो ।नेपाली आमा बलात्कृत हुनु परेको छ । नेपाली वीर छोराछोरी अन्याय अत्याचार र दमनविरुद्ध लड्न पुर्व मेचि देखि पश्चिम महाकालीसम्म युद्धमा होम्मिएका थिए । त्यही मोर्चाका एक सिपाही हुन विजय ।

त्यसरी जनयुद्धमा ज्यान फालेर लागेका विजयको उद्धेश्य के थियो ? यो प्रश्नको उत्तर भेट्न सजिलो थिएन । तर पनि उनले सविस्तार आफ्नो किताब हाम्रा अगाडि राखे । ‘म जनयुद्धमा होम्मिनुको उद्धेश्य गरिब, निमुखा र सर्वहारा वर्गको राज्य सत्ता स्थापना गर्नका निम्ति थियो । त्यही उद्धेश्य बोकेर म लगायत पुर्व मेचि देखि पश्चिम महाकालीसम्मका आम नेपाली जनयुद्धमा होम्मियौँ ।’

आखिर जनयुद्ध लडेर उनले के पाए त ? हाम्रो दोस्रो प्रश्नमा उनले सिधा सिधा भने, ‘गरिब निमुखा र सर्वहारा वर्गका निम्ति युद्ध लडे सबैले लड्यौँ । त्यसको बद्ला नेतृत्व पक्षबाट धोका भयो । पहिलोश्रीमती गुमाएँ । बहिनी र ज्वाँई पनि सहिद भए । उनीहरुदेशका लागि सहीद भए । मैले आधा ज्यान लिएर जीवन गुजारिरहेको छु ।’

उनले मुश्किलले त्यो उत्तर दिए । हाम्रो मनमा चिसो पस्यो । मान्छे बाहिरबाट सबै राम्रै देखिन्छ । तर भित्र त्यो हुँदैन । भित्र अर्कै कुनै दुःख र पीडाको पहाड पो लुकेको हुन्छ । हामीले उनको मनको पीडाको पहाड देख्यौँ । हामी निशब्द भएपछि उनले आफैँ जनयुद्धको वेलिविस्तार लगाएः 

२० वर्षको उमेरदेखि ३५ लडाइको नालीबेली

२०५२ फागुन १ गते जनयुद्ध घोषणाकै दिन २० वर्षको कलिलै उमेरमा जनयुद्धमा होमिए । गरिब निमुखा र सर्वहारा वर्गमाथिको थिचोमिचो अन्याए अत्याचारले सिमा नाघेको थियो । यसको अब अन्त्य गर्नुपर्छ । सर्वहारा वर्गको राज्यसत्ता पुनस्थापना गर्नुपर्छ भन्ने जोसजाँगर अत्याधिक थियो ।

रातो र तातो रगतलाई उमाल्दै असत्यको अन्त्य गर्ने पक्षमा अघि बढेँ  । गरीब निमुखा र सर्वहारा वर्गमाथि शासन जमाउन खोज्ने शासकहरुको अन्त्य गर्नका लागि पुर्व मेची उठ्यो । अनि पश्चिम काली व्युझ्यो । सारा नेपाली जनयुद्धमा होम्मियौँ । सुरुमा अन्याए निकै हुन्थ्यो । त्यो अन्याएका विरुद्ध लड्नुपर्छ भन्ने भएर नै युद्धमा होम्मिएको हो ।

पहिले कांगे्रस जनमोर्चाबिच ठुलो किसिमको अन्तविरोध थियो । हामी जनमोर्चा कम थिर्यौँ । कांग्रेस अलि बढि थिए । राप्रपा र जनमोर्चा पार्टी एक भएर गाउँमा सहकार्य गर्दा कांग्रेसले हामीलाई दबाउने प्रवृति हाबी भएको थियो । अब हामीले युद्ध गर्नुपर्छ भन्ने वातावरण  बनाउनुपर्छ, लाग्नुपर्छ अन्याए अत्याचारका विरुद्ध भनेर नै लाग्यौँ । पार्टीले पनि युद्ध गर्यो, हामी पनि स्वत युद्धमा होम्मियौँ । 

त्यो बेला सामान्यतया भन्दा गाउँघरमा बटिया लगाउने चलन थियो । बटिया भनेको ठुला भनिनेले सानालाई हेप्ने । एक पाथि कोदो  लगेबापत ब्याज लगाउने अनाजको कुरा हुन्थ्यो । त्यो बेला अहिलेजस्तो खाद्य चामल थिएन । भोकमारी हुने,अनिकाल पर्ने,यस्तो हुँदा त्यहाँका बाठाटाठा साहु धनिहरुले गरिबलाई कोदो लिएबापत एक पाथी कोदोको आठ पाथी दश पाथी  कोदो तिराउने चलन थियो । अन्याए थियो । अब यसरी हुँदैन अब अन्याएका विरुद्ध लड्नुपर्छ भन्ने भएर लडेका हौँ । 

अहिले पनि जनयुद्ध पुरा भएको छैन । गरिब निमुखा र सर्वहाराका दिन आएनन् । आए पनि उनै धनि साहु शासकहरुकै छन् । पुराना शासक फेरिए । पुराना शासकको बद्ला नयाँ शासकले गरिब निमुखा सर्वहारा वर्ग माथि थिचोमिचो,अत्याचार,दमन गर्ने प्रवृति हाबी भयो । यसको अन्त्यका लागि फेरी एउटा क्रान्तिको आवश्यक छ, त्यो क्रान्ति सफल पार्न फेरी युद्धमा होमिन तयार छु । 

हिजो समाज परिर्वतनका लागि हामी लडेका हौँ । पार्टीले पनि त्यो काम गर्छ भन्ने आत्म विश्वास थियो । आत्मविश्वास भएकै कारण हामी युद्धमा होमिएका थियौँ  । र, हिजो एकाएक माओवादी पार्टीमा आउनु बिचार नै थियो । त्यो बिचारले नै यो पार्टीमा आएका हौँ । 

शान्ति  सम्झौतामा गइसकेपछि हामीले सर्वहारा वर्गको राज्य व्यवस्था हुनुपर्छ भन्ने जो बुझाइ थियो  । त्यो अहिले संसदीय व्यवस्थामा गइसकेपछि माओवादी हुँदा जनतालाई बोलेका बचनहरु अपुर्ण हुँदा वितृष्णा पैदा भएको छ । खल्लोपना भएको छ । युद्ध लडेर केही पाउनुपर्छ भन्ने मेरो कुनै स्वार्थ थिएन ।

हामी युद्ध लड्नुको एउटै उद्धेश्य थियो, सर्वहारा वर्गको सिङ्गो संसार राज्य सत्ता ल्याउने छौँ । हारेपछि यो हड्डीले भरिएको शरिर खेर जानेछ भन्ने उद्धेश्य रहेको हुनाले युद्धमा लडेका थियौँ । हामीले मैले केही पाउनुपर्छ भन्ने स्वार्थ होइन । यहाँको भष्टाचार अन्याए गरिबी र अत्याचारको अन्त्य भएर स्वच्छ समाजको हुनुपर्छ भनेर रगत बगाउन तयार भएका थियौँ । तर हाम्रो त्यो उद्धेश्य पुरा हुन सकेन ।

यदि यो किसिमको वातावरण बनेको भए हामीले साच्चिकै युद्ध लडेर परिर्वतन गरेका हौँ भन्ने लाग्थ्यो । तर त्यसो भएन । अहिले जीवनका कहाली लाग्दो मोडमा छौँ । नत घरको नत घाटको भनेझैँ । दश वर्षे जनयुद्ध लडेर नत गरिब निमुखा सर्वहारा वर्गको राज्य सत्ता नै स्थापना भयो । नत जनयुद्धका हामी कमाण्डरको दैनिकीा परिर्वतन आयो । जीवन संघर्षपुर्ण यात्राबाट ओरालो बाटोतिर लागेको छ । जतिनै ब्रेक लागेर रोक्दा पनि नरोकिने स्थितिमा पुगेको छ । 

घाइते झन् बढी ओझेलमा 

जनयुद्धमा लडेर घाइते भएकालाई पार्टीले हिजो जिउँदो सहीद पनि भन्यो । त्यो बेला हाम्रो एउटा गर्व गर्ने कुरा थियो । आफुले आफुलाई गर्व गरिरहेका थियौँ । तर, त्यसको परिचय गर्ने आधार भएन ।  घाइते अपाङ्ग अशक्त हुँदा सामाजिक रुपमा पर्ने प्रभाव पनि हो । जन्मजात अपाङ्ग हुँदा स्वतः रुपमा हेपिन्छ । हामीले पनि अनुभूति गर्ने त्यो कुरा हेपाहको हनुभूति हुने ।

पार्टीमा अपाङ्ग भइसकेपछि हामी हिजो जस्तो काम नगर्नेभएपछि ओझेलमा परेका छौँ । पार्टीले घाइते परिवार सहीद परिवार जनताका एजेण्डा बिर्सेका छन् । हामी कता कता हराएकोजस्तो अनुभूति हुन्छ । जनयुद्धमा तनमन लगाएर लडियो । अहिले पार्टीले बिर्सेजस्तो लाग्छ । हामीलाई जिउदो सहिद त भनियो । तर,हामीसँग त्यस्तो कुनै प्रमाणपत्र छैन । हामीलाई जिउँदो सहिदको प्रमाणपत्र दिएको भएता पनि पछिसम्म इतिहास रहन्थ्यो । पछिको पुस्ताले हाम्रा पुर्खा यसरी लडेका रहेछन भन्ने इतिहास हुन्थ्यो । त्यो पनि छैन । 

३५ वटा युद्ध लडेको लडाकु र कमाण्डर  

२०५२ फागुन २ गते देखि २०६२/०६३ सम्म ३५ वटा लडाईँ लडे । कैयौँ आफन्त गुमाएको थिए । जनयुद्धमा होम्मिएर धेरै कुरा गुमाए । राज्य पक्षको कैयौँ गोलीको निशानाबाट उम्के । श्रीमती,बहीनी र ज्वाँइ गुमाए । आफ्नो जीवन कालका युद्ध लडेर कैयौँ चिज गुमाए । दश वर्षे लामो युद्धमा उनलाई सबैभन्दा ठुलो युद्ध रुकुमको खारा भन्ने ठाउँमा लडेको युद्ध ताजै छ । 

जुन अहिले मानसपटलमा झल्किन्छ । लडाइको क्रममा दाङको पञ्चकुलो, बाँकेको कुसुम,जाजरकोटको लाहा, सुर्खेतको औलचिङ्ग, जुम्लाको सदरमुकाम, डोल्पाको दुनै, रुकुमको खारा, दैलेखको नौमुले, बर्दियाको खरीखोला, कालिकोटको कोटबाडा, अछामको मंगलसेन लगायत ३५ वटा ठाउँहरुबाट बचेर यहाँसम्म जिन्दगीका अध्याय पार गरेको छु । अझै यात्रा कठिन छ । निरन्तर जिन्दगीका पाना पल्टाउदै अटो चलाउदै घरव्यवहार धानेको छु । 

पहिला श्रीमती गुमाएँ, त्यसपछि बहिनी ज्वाँइ 

२०५५ साल कार्तिक ११ गतेको दिन थियो । श्रीमती घरमा बसेकी थिइन् । म युद्धमै थिए । गर्भवती भएको तीन महिना भएको थियो । त्यहि अवस्थामा राज्यपक्षबाट प्रहरीले घरमा बसेको श्रीमतीलाई कुट्दै,तार्दै घरबाट लगेर विभत्स हत्या गरेर लासको टुक्रा टुक्रा पारेर खाल्डोमा जलाएको थियो । त्यसपछि फेरी लडाइसशक्त रुपमा चल्यो । २१ वर्षको उमेरमा बर्दियाको भिडन्तमा बहिनी र ज्वाँई सहिद भए ।

मानव समाजको संरचना र मेरुदण्ड भनेको राजनीति हो । जुनसुकै क्षेत्रमा पनि राजनिति हुन्छ । हुँदै आएको छ । मानिस समुदायको चेतनशील प्राणी पनि हो । स्वच्छ रुपमा राजनीति हुनुपर्छ भन्ने मान्यता छ । विशुद्ध रुपमा व्यवसाय गर्दा त परिवार पाल्न गाह्रो हुन्छ । राजनीति भनेको देश र समाज परिर्वतन गर्ने मुख्य कुरा हो ।

राजनीतिमा नेतृत्व गर्ने नेतृत्वदायि भुमिका खेल्ले कम्युनिष्ट पार्टी हो वा होइन ? सर्वहारा वर्गको नेतृत्व गर्ने हो वा होइन । राजनीति भनेको घरको छाना हो तर,अहिले फोहोरी खेल बनेको छ । कम्युनिष्टको राजनीति झन् बढी फोहोर देखेँ ।

दुस्मनको गोलीबाट दोस्रो जीवन पाएकोकमाण्डर 

२०५८ सालमा रुकुमको खारामा दुइपटक भिडन्त भयो । दुवै पटक असफल भयो । म पनि पहिलोपटक गएको थिए । राज्यपक्षसँग भिडन्त भएको थियो । माओवादी पक्षले हार्नु र क्षति हुनु भनेको त्यहाँ दुस्मनको साँधसिमाना राम्रोसँग अध्यनअनुसन्धान नगर्नुनै थियो ।रुकुमको साँध रोल्पाको थवाङदेखि आर्मी पनि त्यहाँ गएको थियो । रुकुमको तीनवटा ठाउँबाट आर्मीहरु जम्मा भए । म कमाण्डर थिए । भुगोलको सर्वे राम्रोसँग नहुँदा क्षति भयो । त्योबेला लडाइको टार्गेट भनेको प्युठानको हो । प्युठानको तयारीमा हामी निरन्तर अघि बढिरहेका थियौँ । 

प्युठानको लिस्नेमा भिडन्त भयो । तयारी नहुँदै भिडन्त भयो । त्यसपछि त्यहाँबाट फर्केर रुकुमको गामको भिडन्त केही सफल भएको थियो । त्यो बेला प्युठान कब्जा गर्ने उद्धेश्यले सर्वेमा प्युठान गएका थियौँ । जनमुक्ति सेनाहरु बसेको ठाउँमा आर्मी र जनमुक्ति सेनाबिच भिडन्त भयो । गामको आर्मी ब्यारेकमा पुगेर हामीले कब्जा गर्यौँ । त्यहाँ कब्जा गर्दा विजय प्राप्त भएको महशुस भयो । त्यसपछि रुकुमको साखमा हान्ने तयारीका साथ गएका थियौँ ।

साखबाट यता थवाङ हान्ने तयारी थियो । तर,भयो उल्टो । त्यहाँको दुइवटै शक्ति रुकुमको खारामा ओगट्यो । भूगोल अध्यनको कमजोरीका कारण आक्रमणमा पर्यौँ । म प्लाटुन कमाण्डर भएर कमाण्डर गर्दै गर्दा आँखा अगाडि नै कैयाँै साथी भुइमा लडे । लड्दै गर्दा राज्य पक्षको गोली मेरो पाखुरामा लाग्यो । म त्यहि बेहोस भएँ ।

कैलालीको आमखैया भिडन्त

म पाँचौँ बटालियन कमाण्डर थिए । चार नम्बर बटालियन छेउमा थियो । हामी बिचमा थियौँ चारले पेल्दै लिएपछि छैटौँ बटालियन कमाण्डर घाइते भएपश्चात उनीहरुले छाडे र हामी घेरामा पर्यो । राज्य पक्ष र म आमुन्ने समुन्ने थियौँ । अन्तिमपटकसम्म लडिनै रहे । मेरो साहस कम भएको थिएन । लड्दै गर्दा फेरी दायाँ हात हुँदै छाती छेकेर गोली अघि बढ्यो । त्यो दिन भाग्यले बाचेको थिएँ । 

जिन्दगी जति कठिन र पीडादायी भए पनि अतित रसिलो छ । त्यो बेला लडाइ गर्दै गर्दा सर्वहारा वर्गको राज्य सत्ता आउछ भनेर लड्दा रमाइलो थियो । ती बितेका दिनहरु कठिन कहाली लाग्दा र डरलाग्दा थिए । साथीहरु गुमाउदा त्यस्तो अनुभूति गर्ने भएन । हामी सहिद हुनु पनि लाइन लाग्नु पथ्र्यो । ति लडाइमा सँगै लडेका साथीहरु अहिले कुन कुनामा होलान ? के गर्दै होलान् ?अहिले निकै सम्झना आउछ त्यो पलको । यतैबाट भएपनि सबैलाई सम्झिन चाहन्छु । 

सेना समायोजनमा पर्न सकिन

२०६२/६३ मा सेना समायोजन गर्दा प्रमाणीकरण गर्नुपथ्र्यो । त्यो भएन । त्यो नहुँदा गुनासो छ । त्यसपछि सैन्य कमाण्डबाट पनि बाहिर रहेँ । पार्टीको जिम्मेवारीबाट बाहिर रहे । दुबैजना परिवार घाइते हो । अहिले जेनतेन जिन्दगी चलाइरहेका छौँ । 
नेपाललाई सिंगापुर होइन, नेपाल नै बनाउनुपर्छ ।  अहिले नेपालका नेताले सिंगापुरको परिकल्पना गरिरहेका छन् । त्यहाँको परिकल्पना गरेर नेपाल कसरी अघि बढ्छ ? नेपालका नेतृत्वले नेपाललाई सिंगापुरको मोडेलमा होइन, नेपालको मोडेलमा तयार पार्नुपर्छ । खाडीमुलुकको परिकल्पना गरेर हुँदैन । खाडीमुलुकको परिकल्पना होइन, नेपालको परिकल्पना गरेर नेपाल नेपालजस्तो बनाउने चेष्टा गरेको भए हाम्रा शरिरमा लागेका घाउ निको हुन्थ्यो । सबै दुः ख पीडा भुल्ने थियौँ । राहत महशुस हुनथ्यो । 

माक्सवाद भन्दा पनि दालभात आवश्यक छ 

इतिहासको लागि जनयुद्ध नै ठुलो लाग्छ । इतिहास साक्षी राख्दा जनयुद्ध नै धेरै ठुलो हो । जनताका आशा अपेक्षा पुरा गर्न र सर्वहारा वर्गको राज्य सत्ता पुःस्थापना गर्नका निम्ति जनयुद्धमा होम्मिएको हो । अहिले व्यक्तिगत रुपमा पूँजी पनि आवश्यक छ । अहिलेको यो समयमा माक्र्सवाद होइन, जनतालाई दाल र भातको आवश्यक छ । जिउँदो रहे मात्र केही गर्न सकिन्छ । त्यसको लागि आवश्यक पर्छ खाना । साभार : कर्णाली खबर डटकम

प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  २०:१२
प्रतिक्रिया दिनुहोस्