माध्यमिकी परिक्रमालाई जलेश्वरमा स्वागत

महोत्तरी २६ फागुुन

मिथिलाको महाकुम्भ मानिएको माध्यमिकी परिक्रमालाई आज महोत्तरी सदरमुकाम जलेश्वरमा स्वागत गरिएको छ । बुधबार धनुषाको कचुरीस्थित मिथिला विहारी कुटीबाट मिथिला विहारी तथा जनकपुरस्थित अग्निकुण्डका किशोरीजीको डोलाका साथ धार्मिक विधिअनुसार जानकी मन्दिर हुँदै धार्मिक झाँकी भजनकीर्तनसहित परिक्रमा शुरु गरिएको थियो । 

बिहीबार सिमावर्ती भारतीय गाउँ कलानेश्वरमा, शुक्रबार भारतकै गिरिजास्थान (फुल्हर), तेस्रो दिनको विश्राम शनिबार महोत्तरीको मटिहानीमा र आज चौथो पडावका लागि जलेश्वर आइपुग्दा परिक्रमालाई स्थानीयवासीले भव्य स्वागत गरेका थिए । बाँजागाजा र नाचगानका साथ भगवान् राम र माता जानकीको डोला लिएर हजारौँको सङ्ख्यामा जलेश्वर प्रवेश गरेका परिक्रमालाई जलेश्वरवासी र महोत्तरी प्रशासनले पूजापाठ गरी भव्य स्वागत गरेको थियो । 

जलेश्वरवासीले ठाउँठाउँमा परिक्रमा गर्नेहरुका लागि निःशुल्क भोजन, पानी, दाउरा र बिजुलीको व्यवस्था गरेका थिए । परिक्रमाका सहभागीहरु आज जलेश्वरमा चौथो पडाव, मडैमा पाँचौं, धु्रवकुण्डमा छैठौं र कञ्चनवनमा सातौँ दिनको बास बसेर आठौं दिनको पडाव पुनः धुनषाको पर्वतामा बस्नेछन् । त्यसपछि धनुषाधाम, औरही, विशौल हुँदै पुनः भारतको कलानेश्वर र फागुन पुर्णिमाको दिन जनकपुर फर्कने छ । परिक्रमामा सहभागीका लागि वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले १५ वटै विश्रामस्थलमा बिजुली, खानेपानीलगायत व्यवस्था मिलाएको छ । 

मिथिला महात्म्यअनुसार १८ ‌औं शताब्दीदेखि यो धर्म यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएको हो ।

प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५  २१:०३
प्रतिक्रिया दिनुहोस्