माओवादी केन्द्रको महाधिवेशन

प्रचण्डकै अडानको कारण संविधानसभाबाट संविधान बनेको हो : प्रधानमन्त्री देउवा

'पाँच दलीय गठबन्धन कसैको विरुद्धमा हैन'

काठमाडौं / प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै अडानको कारण मुलुक संविधानसभाको चुनावमा जुटेको र संविधान बनेको बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालको राजनीतिमा प्रचण्डको धेरै ठुलो योगदान रहेको चर्चा गर्नुभयो ।

सम्बोधनका क्रममा देउवाले भन्नुभयो, 'उहाँकै बलले हामी संविधानसभामा गएका हौं । संविधानसभाबाट संविधान बनाउने कुरा २००७ सालमा काँग्रेसले गरेको हो, पछिल्लो चरणमा प्रचण्डले लिएकै अडानका कारण संविधानसभाको चुनाव भएको हो ।’

उहाँले पाँच दलीय गठबन्धन कसैको विरुद्धमा नरहेको पनि प्रस्ट पार्नुभयो । अहिलेको संविधान अन्तर्गत संसद पूरा समय चलोस् भन्ने उद्देश्यले गठबन्धन निर्माण भएको उहाँको भनाइ थियो । उहाँले गठबन्धन पूरा समय चल्ने समेत उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  २०:१२
प्रतिक्रिया दिनुहोस्