अनेम संघ जाजरकोटको भेलाबाट ओली अध्यक्षमा चयन

जाजरकोट / नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) निकट अखिल नेपाल महिला संघ जाजरकोटको शनिबार सदरमुकाममा सम्पन्न जिल्ला भेलाले अमृता ओलीको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

कमिटीको उाध्यक्षमा योगमाया कार्की र मिरा अधिकारी, सचिव गिता खत्री, कोषाध्यक्ष शारदा हमाल र सहसचिव बिना चन्द गौतम रहेको नवनिर्वाचित सचिव गिता खत्रीले जानकारी दिनुभयो । जिल्लाका ७ वटै पालिकाहरुलाई समेटेर कमिटी गठन गरिएको सचिव खत्रीको भनाई छ ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि तथा संघको केन्द्रिय कमिटी सचिव रिता रावलले आफुले लामो समय सोही मोर्चाबाट राजनीति गरेको स्मरण गर्दै पार्टी केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज रावलले नेपाली राजनीतिमा महिलाहरुको नेतृत्व विकास सँगै अधिकार प्राप्तिका लागि अनेम संघले महत्वपूर्ण भुमिका निर्वाह गरेको उल्लेख गर्नुभयो । अनेम संघसंगै जाजरकोटी महिलाहरुको भुमिकालाई प्रभावकारी बनाउन आफुले भरपुर साथ र सहयोग दिने उहाँको रावलको भनाई छ ।

भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण बहादुर विसीले अनेम संघले महिला शसक्तिकरणको क्षेत्रमा अग्रणी भुमिका खेलेको भन्दै नवनिर्वाचित कमिटीले जाजरकोटी महिलाहरुका तमाम समस्या समाधान गर्नका लागि सशक्त भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

उपाध्यक्ष कमान बहादुर खड्काले संघको जिल्ला कमिटी गठन गरे लगत्तै पालिका स्तरमा समेत कमिटी गठन गर्न आवश्यक रहेको बताउनुभयो । राजनीतिमा महिला नेतृत्वको अझैपनि अभाव रहेको भन्दै उपाध्यक्ष खड्काले संख्यात्मक हिसावले मात्र नभई गुणात्मक हिवासले समेत नेतृत्व विकास हुन जरुरी रहेको जनाउनुभयो ।

प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  ०८:०१
प्रतिक्रिया दिनुहोस्