Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
यात्रा संस्मरण 

भोको पेटको आन्दोलन ठुलीदह र साँखको सुन्दरताले दबाईरहे

कठिन यात्राको रमाइलो पल र नवीन अनुभूती
tribeni2
  • विष्णु पौडेल

स्थान : रुकुम जिल्ला अदालत
समय : दिउँसो
मिति : २०७८ पुस ९

शुक्रबारको दिन, काममै थिए । सरिता म्याडमले सोध्नुभयो, ‘सर भोली घुम्न जाने रे, हो र ?’

अदालतमा सरुवा भएर आएदेखि यहाँका प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गर्ने चाहना मनमा पालेर बसेको मैले तुरुन्तै भने, ‘कहाँ जाने ? को को जाने रे म्याम ?’

‘खै साँखतिर भन्नुभाछ, लगभग १०, १२ जना जति हुन्छन् रे,’ म्याडमले यत्ति भयो ।

मन चंगा भैहाल्यो । आहा ! भोलीको शनिवार ।

शनिवार गर्ने सरसफाइको काम शुक्रवार साँझ नै गरे । हामीसँगै घुम्न जान रहर गर्नुभएकी सरीता रिजाल म्याडमलाई स्वास्थ्यले साथ दिएन । तर, म भने नयाँ ठाउँ पुग्ने, नयाँ अनुहारहरु र नविन अनुभूति संगाल्ने उत्साहले चिसो मौसमको बहानामा खाना आईवरी सबेरै ब्याङकेटमुनी छिरे ।

भोलिपल्ट, शनिवारको दिन ।

पुसको कठ्याङग्रीदो चिसोमा बिहानको साढे पाँच बजे साँखसम्म घुम्न जाने भनेर सदरमुकामको त्रिवेणी चोकमा पुग्यौ । अघिल्लै दिनको सल्लाह कार्यान्वयन गर्दै १३ जना जम्मा भयौ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ध्रुवकुमार श्रेष्ठ, प्रहरी निरीक्षक डेकेन्द्र शर्मा, जिल्ला प्रशासन कार्यालय सहायक प्रजिअ प्रमेश शिवा, नापी कार्यालयका प्रमुख संजय मानन्धर, डा. दिपक पुन, पत्रकार बहिनी भावना शर्मा समेत गरी १३ जना थियौ ।

यस्तो सल्लाह भयो – ‘पहिला डिग्रे मन्दिर जाने, त्यहाँबाट ठूली दह हुँदै पुग्ने, साँखमा झरेर खाना खाने, साँख हेर्ने ।’ यात्राको निर्देशिका भयो । बाटोको बारेमा जानकार रहनुभएका चिताराम खड्का सरलाई हामीले पछ्याउने भयौ ।

आज आन्तरिक पर्यटक बन्यौ । सबैका झोलामा १/१ प्याकेट खाजा, फलफुल सेट र १/१ बोतल पानी समेतको प्रवन्ध संजय सरले मिलाइसक्नु भएको थियो ।

बिहानको ६ बजे डिग्रे साइकुमारीको मन्दिर दर्शन गर्न उकालो लाग्यौँ । झिसमिसे उज्यालो हुँदै थियो, हाम्रो स्वाँस्वाँ बढ्दै थियो । हाम्रो यात्रालाई थप रमाइलो बनाउनका लागि संजय सरले साउण्ड सिस्टमको प्रवन्ध गर्नुभएको थियो ।

बिच बिचमा सबै यात्रुहरुका रोजाई अनुसार गित फेरिन्थ्यो ।

डिग्रे साइकुमारीको मन्दिरमा पुग्यौँ । रुकुम पश्चिमकै प्रशिद्ध धार्मिक स्थलमा पुगेपछि त्यहाँको वातावरणबाट हामीहरु निकै आनन्दित भयौँ । मन्दिरको परिक्रमा गर्यौ । पूजा अर्चना गर्यौ । टिका लगायौँ, आशिर्वाद लियौँ । प्रसाद खायौँ । सामूहिक फोटो खिच्यौँ । मनमा अर्कै किसिमको शान्ति छायो । घर, परिवार, समाज र राष्ट्रमा शान्ति र मानव जातीको मनका कान्तीको कामना गर्यौ ।

हाम्रो यात्रालाई ठूली दहतर्फ अगाडि बढायौँ । बाटोमा बसिवाङ गाउँ रहेछ । डाँडामा बसेको सानोगाउँ । वरिपरीको हरियाली दृष्य, खेतवारीमा लगाएका बालीसमेतले त्यो गाउँलाई निकै रमणीय बनाएको थियो । बसिवाङभन्दा उत्तरपूर्वमा पर्ने पैँयाखोला भन्ने ठाउँ पनि निकै अद्भुत रहेछ । पहाडको खोँचको एकै ठाउँबाट सानोतिनो खोला नै हुने गरी अविरल मूल फुटिरहेको थियो । त्यो मूल सधै भरी त्यसैगरी फुटिरहने रहेछ । सवै दृष्यलाई क्यामरामा कैद गर्यौ । सामूहिक फोटो खिचायौँ र हाम्रो यात्रालाई थप अगाडि बढायौँ ।

केहीबेर हिँडेपछि डाँडामा बस्यौ । झोलामा बोकेर लगेको खाजा, पानी र फलफूल खायौँ । केहीवेर सुस्तायौँ र फेरि अगाडि बढ्यौँ ।

बाटोमा बिहानको शित परेर सेताम्य भएको थियो । लाग्यो प्रकृतिले हाम्रो यात्राको लागि सेतो गलैचा बिछ्याएको रहेछ । बाटोभर भेटिएका कैयन प्राकृतिक फूलहरु : बाघजुङ्गे फूल, बुकी फूल, सुनगाभा फूल तथा फलहरुः डिमुर, रातीगेडी समेत बटुल्दै अघि बढ्यौ ।

कोही अगाडि त कोही पछाडि भइरहेका थियौँ । संजय सर, प्रमेश सर, शिवराम सर र म गरी ४ जना पछाडि हिड्दै थियौँ । अगाडि भएका साथीहरु निकै अगाडि गइसकेका र बिचमा अघोर जंगल भएकाले पछाडि परेका हामीलाई बाटो भेट्याउन निकै मुस्किल भइरहेको थियो । सिठ्ठी हाल्दै, अगाडि गएका साथीहरुलाई हाम्रो बारेमा जानकारी दिँदै हामी अगाडि बढ्यौँ । जंगलमा कैयन शताव्दीको इतिहाँस बोकेका रुखहरु थिए । ती समेतलाई क्यामेरामा कैद गर्दै अन्ततः हामी ठूली दह पुग्यौँ ।

आहा ! कति राम्रो प्रकृतिको अनुपम दृष्य । चारैतिर अग्ला पहाड बीचमा रहेको सुन्दर चौर । जसको एक छेउ हरियो, बीचमा खैरो, अर्को छेउ पहेँलो, कस्तो मनमोहक दृश्य । वर्षातमा परेको पानी जम्मा भएर ठूलोदह बन्ने भएकोले होला त्यसको नाम ठूलीदह रहेको ।

उक्त दहमा वर्षातमा जम्मा भएको पानीमा डुवेर एकै घरका २ जना दाजुभाइको मृत्यु भएको घटना सुनेर हामीलाई दुखित बनायो । उक्त दह अहिले पानी सुकेर चौर बनिसकेको थियो ।
चौरमा हामीले केही बेर फुटवल खेल्यौँ । मयुर नाँच, रुमाल नाच नाच्यौँ, गायौँ, बजायौँ । शिवराम खत्री ज्यूले निकै राम्रोसँग मयुर नाच नाचेर हामीहरुलाई लोभ्याउनुभयो । हामीले सामूहिक रुपमा राष्ट्रिय गान गायौँ ।

साँच्चै नै मनमोहक र खुला पनि भएकाले त्यो ठाउँमा पिकनिक पनि जाने रहेछन । त्यहाँको जंगलमा आर्मी पुलिसको तालिम पनि गराउँदा रहेछन् । जंगलमा तालिमका केही अवशेषहरु थिए । ती सबै रमणीय दृष्यहरुको रसस्वादन गर्दै र दृष्यहरुलाई मोबाईल, क्यामरा, मन र मस्तिष्कमा कैद गर्दै हामी ठूली दहबाट साँखतर्फ बढ्यौँ ।

ओरालो झर्ने क्रममा संजय सरले हामीलाई बाटोमा पर्ने एउटा भीर देखाउन लैजानुभयो । त्यो भीर निकै अग्लो र डरलाग्दो थियो । जहाँबाट रुकुम पूर्व पश्चिम हुँदै गएको मध्यपहाडि लोकमार्ग नागवेली जस्तै देखिन्थ्यो । भीरको शीरमा हामीहरु थियौँ ।

हिडाईले उकुसमुकुस भएका हामीलाई डाँडाको शीरमा चलेको सरसर हावाले शितल बनायो । शितलताको अनुभव लिँदै हामी साँखतर्फ ओरालो झर्यौँ । हामी हाम्रो यात्रालाई छोट्याउनका लागि गोरेटो बाटो नभएको ठाउँबाट पनि यात्रा गरियो । जहाँ बाटैभरी काँडा र गरगरे ढुङ्गाहरु थिए । यात्रा कठिन त थियो, रमाइलो पनि ।

कतै विश्राम लियौ । पानी र फलफूल खायौँ । त्यही पानी फलफूल खाएको ठाउँमा एक जना साथीको मोवाइल त्यहीँ छुटेछ । पछि तल झरेपछि मात्र उहाँलाई सो कुरा थाहा भयो । पुनःसोही ठाउँमा पुगेर उहाँले सो मोवाइल लिएर आउनुभयो ।

साँख झर्ने क्रममा हामीले बाटैबाट त्यहाँ खानाको लागि अर्डर गरेका थियौँ । डेकेन्द्र शर्माले त्यसको नेतृत्व गरिरहनुभएको थियो । अलिकति खुट्टा चिप्लियो भने सिधै तल झरिएला जस्तो डरलाग्दो भीरको बाटो हिडेर बल्लतल्ल मध्यपहाडी लोकमार्गमा पुग्यौ ।

लामो स्वास तान्यौँ, अव चाँही लत्रक्क भईन्न होला भनेर । लोकमार्गको छेवैमा नुवाकोट अर्गानिक रेष्टुरेन्ट एण्ड खाजा घर रहेछ । खानाको मेनु थियो - मकैको ढेडो, लोकल कुखुराको मासु, साग, दही .... ।

हामी त्यहाँ पुग्दा दिउँसोको १ बजिसकेको थियो । पेटमा भोकले आन्दोलन गरिरहेको थियो । हामीलाई कतिखेर खाना खान पाइन्छ भन्ने भइरहेको थियो । केहीबेर खाना कुर्दै वारीपारीको रमाइलो हेर्दै नियाल्यौ ।

तयार भएको मिठो त्यो परिकार सबैले थपीथपी आफ्नो चाहना अनुसार खायौ । कसैले भात, कसैले रोटी, कसैले ढिडो खायौँ । पेटमा चलेको भोकको आन्दोलनलाई साम्य पार्यौ ।

हामीले करिव २० किलोमिटर जतिको यात्रा गरिसकेका थियौँ । हाम्रा खुट्टाले थप पैदल यात्राका लागि साथ देलान् जस्तो थिएन । कसरी खलंगा पुग्ने होला भन्ने भइरहेको थियो ।

खाना खाइसकेपछि बस रहेको स्थानसम्म केहीवेर हामी हिँड्यौँ । वारीपारीका रमाइला दृष्य क्यामरामा कैद गर्यौ । सुन्दर साँखलाई धित मरुन्जेल नियाल्यौ । बसमा बजेका रमाइला गीतहरु सुन्दै, केही बेर निदाउँदै करिव ४ बजेतिर हामी खलंगा बजार आइपुग्यौँ । चिया पियौ र यात्राको संस्मरण गर्दै आ–आफ्नो घर/डेरातर्फ लाग्यौँ ।

योे एक अविष्मरणीय दिन रह्यो । कठिन यात्रा, रमाइला पल, नवीन अनुभवहरु मेरो मस्तिष्कमा अमीट रहिरहनेछन् ।

- (लेखक पौडेल, रुकुम जिल्ला अदालतमा कार्यरत हुनुहुन्छ )

प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  ०९:०१
प्रतिक्रिया दिनुहोस्