रित्ताे छु जस्ताे लाग्छ ? उसाे भए डाेल्पा जानुस्

  • सिर्जना सिज्जु

सधैँ सँगै कोही हुँदैन रहेछ । यी डाँडाकाँडा, हिमाल–पहाड, ताल, खोला–खोल्सा र चौतारीहरू कहाँ छुटे–छुटे । यी सबै जो मेरो मनमा मात्र छन्, उस्तै छन् । ती ठाउँहरू त अब सम्झनामा बाहेक कतै भेट्न सक्दिनँ ।

प्रत्येक दिन नयाँ विचार र नयाँ गन्तव्य थपिन्छन् । कहिलेकाहीँ त नसोचेका र कल्पनासम्म नगरेका ठाउँहरू भेटिन्छन् । अनि फेरि छुटिन्छन् ।

यात्रा त्यस्तो ठाउँमा तय गर्नुपर्ने रहेछ,  जहाँको प्रकृतिले आजको दिनसम्म फाटफुट मानिसबाहेक देख्न पाएको छैन । हो, त्यस्तै ठाउँमा मैले टेक्ने मौका पाएँ । आवश्यक मात्रामा प्रचारप्रसार र भौतिक विकास नभएर ओझेलमा परेको त्यो ठाउँ हो– अपर डोल्पा ।

मेरो यात्राको सुरुवात दुनैबाट हुन्छ । दुनैदेखि सुलीगाड, से–फोक्सुण्डो, निकुञ्ज कार्यालयछेउको बाटोहुँदै मेरो यात्रा अगाडि बढ्छ । बाटोमा चियानास्ता र खानाका लागि कुनै समस्या छैन । होटल पसलहरू भेटिन्छन्, कागेनी बजारतिर । दुनैदेखि नजिकै भएर होला, पर्यटकीय सेवा सुविधाको हिसाबले यो ठाउँ विकसित छ ।

सेतो बादल र नीलो आकाशको आफ्नै ‘स्वाग’ छ । ठूलाठूला पहाड छिचोल्दै सुसाउने नदीको आवाज गुञ्जिएको छ । हामी साना काठका झोलुङ्गे पुल तर्दै छेक्का गाउँमा पुग्छौँ । त्यहाँको उचाइ  २,६७० मिटर छ । गाउँलाई वरपरको जङ्गलले घेरेको छ । 

हामी त्यहाँ पुग्दा सिमसिम पानी परिरहेको थियो । धेरै समय बस्ने मौका मिलेन । छेप्काबाट ३–४ घण्टा अगाडि बढेपछि खाजा खाने ठाउँमा पुग्यौँ । चिसो मौसममा तातो चाउचाउको सुप खाएर अगाडि बढियो । कतै कोणधारी कतै ओखरका बोटहरू थिए । कति ठाउँमा त ओखरहरू खुट्टाले पन्छाउँदै पनि हिँडियो ।

ओरालो झर्ने समयमा हुँदो हो त म झोलामा अटुञ्जेलसम्म ओखर राख्थेँ । तर, हामी यात्राको पहिलो दिनमा थियौँ । त्यसैले ओखरसँग छुट्टिएर सल्लाघारीमा लुक्दै  ३–४ घण्टा हिँडेपछि यसो यताउता आँखा डुलाएको त लेकतिरबाट झरेको कुहिरो पहाडको खोँचतिर लुक्न थालेको देखेँ । त्यसपछि मेरो हृदय प्रफुल्ल भयो ।

 

हामी अगाडि बढ्न पाइला चाल्दै गर्दा झमझम पानी परिरहेको थियो । पाइलैपिच्छे थकान बढ्न थाल्यो । नदीको चिसो सिरेटोले नाक, कान रातो हुन थालिसकेको थियो । तर, मनमा १५ दिनको यात्रा सम्झिँदा खुसीको बहार आउँथ्यो । थाम्न नसकिने हुरी चल्थ्यो । यहाँ त यस्तो छ, झन् अझै माथि..! म त यात्रा गर्दागर्दै पनि कल्पनामा डुबेछु ।

८ बजेतिर बास बस्न र्‍याची पुगियो । र्‍याचीमा बिहानी भएको थाहा भयो तर बिहानीपखको घाम त्यो ठाउँमा कहिल्यै नपुगेको हो कि जस्तो लाग्छ । किनकि त्यो ठाउँ कोल्टो पट्टी छ । ठ्याक्कै भन्न आएन मलाई । जेहोस्, घाम ढिला पर्छ त्यहाँ ।

फोक्सुण्डो लेकको यात्रा अगाडि बढ्छ । मैले त्यो दिनको पहिलो बोलचाल राष्ट्रिय गान गाएर गरेकी थिएँ । सोही दिन उकालो अनि झरनाको बाटो हेर्दै हामी फोकसुन्डो बास बस्न पुग्छौँ । र, रिग्मो गाउँको एउटा होटलमा खाना खाएर निदाउँछौँ ।

फोक्सुण्डो तालका भित्ताहरूमा अडिँदै तालको मनोरम दृश्य हेर्दै बिहान ७ बजेतिर शेगुम्बाको यात्रा सुरु हुन्छ । बाटोमा भेट हुन्छ । त्यसपछि म टक्क अडिएँ । सधैँ यसरी नै फोक्सुण्डो नियाल्ने गरेको छु । दिनभर तालकै छेउवरपर फन्को लगाउँछु ।

धेरै वर्ष भइसक्यो, नीलो पानीले प्यास मेटाउन थालेको । कहिलेकाहीँ उभिएर आफ्नो अनुहार हेर्न खोज्छु । छाया पर्‍यो भने देख्छु, नत्र त निराश हुन्छु । म पनि तिमीजस्तै छु, भिडमा पनि एक्लै । म पनि स्वतन्त्र त कहाँ छु र मलाई पनि मान्छेहरू डोर्‍याउन खोज्छ्न्, बाँध्न खोज्छ्न् । म कराउँछु, चिच्याउँछु, आवाज निकाल्छु । अनि छोड्दिन्छ्न् ।

आवाज त हामीले पनि उठाउनै त पर्छ नि । ऊ त्यो पारि डाँडाको हिउँमा ठोक्किएँ । बिहानीपखको घामको किरण पानीमा खस्दा चम्किएको पानीको फोका हेर्न रोकिएको हुँ । तिम्रा साथीहरू त धेरै अगाडि पुगिसके त, तिमी पनि यही हेर्न उभिएकी होलाउ है !

हो म पनि त्यही हेर्न रोकिएकी थिएँ । साथीहरूलाई उकालोमा धेरै माथि पुगेको देखेँ र फटाफट अगाडि बढेँ । बिहानीको समय थियो, बाटोमा डोल्पालीहरूसँगै हिँड्दा घोडा, खच्चड, भेडा, च्याङ्ग्रा, झुम्कासँग भेट हुने मौका मिलिरहेको थियो ।

उनीहरू यताउता चर्न खोज्दै थिए । गोठालाले लखेटिहाले । दशैँका लागि काट्न भनेर बजारतिर ओर्लंदै गरेका च्याङ्ग्रासँगको साँघुरो बाटोमा छोटो भेट स्मरणयोग्य थियो ।

उकालो चढ्दै गर्दा स्वाँस्वाँ बढे पनि नीलो ताल र सेतो हिउँले ढाकिएको पहाड हेर्न भने म थाकेको थिइनँ । उकालो चढेर १–२ घण्टा माथि पुगेपछि तालको ‘थ’ आकार प्रस्ट देख्न सकिन्छ । म त धित मरुञ्जेल हेर्छु । थुचुक्क बसेँ ।

सुन न ए मान्छेहरू हो, मलाई पनि मन छ पहरामा ठोक्किँदै भेरी भएर बग्न । मैले मेरो अस्तित्वका करोडौँ दिन यसरी नै काटेको छु ।

जुरुक्क उठेर आधी घण्टा ओरालो झरेपछि फोक्सुण्डो किनारछेउमा रहेको छोलुफुकु क्याम्पमा पुगेर बिहानको खाना खाइयो । ताल किनारमा ठोकिँदै आउने छालहरूले हामीलाई छुन खोज्दाखोज्दै छोड्नुपर्‍यो । हामी अगाडि लाग्यौँ ।

स्वर्गको एक स्थानमा अविस्मरणीय एक रात, मिजासिलो रिग्जिन दाइ

सानासाना खोल्सा गल्छी । बगरमा खच्चड, घोडा र मान्छेहरूले तय गरेका बाटो र कान्जिरोवा हिमालको फेदहुँदै बास बस्न घ्यामगार गुफामा पुग्छौँ । घ्यामगार गुफा डोल्पालीहरूको घर हो । शेगुम्बा पुग्न कसैलाई दुई दिन लाग्छ । कसैलाई एक दिन । बीचमा बास बस्न कुनै ठाउँ छैन । त्यही गुफा त्यहाँको पाँचतारे होटल हो ।

हामीलाई यही गुफासम्म छोड्न आउनुभएको थियो, रिग्मो गाउँमा होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका रिग्जिन दाइ । सबै टोली मिलेर गीत गाउन सुरु गरे । गीतको उठान हाम्रो टिमको तेजेन्द्र दाइ, करन भाइ, मिलन र उत्तम भाइले गरेका थिए ।

गीत यस्तो थियो:

आगो सल्क्यो दाउराको नाश भयो,
आज हाम्रो ओडारको बास भयो..... ।

बाग्लुङ बजारमा बाघको सालिक भन्दै लय मिलाएर गाउँदै हुनुहुन्थ्यो– सुरज भाइ, शेर दाइ र विपना । म फस्ट लटमा खानका लागि आलु चाउचाउ पकाउदै थिएँ ।  त्यसपछि खाना तयार गरियो । खानामा दाल, भात र आलुको तरकारी थियो । खाना खाएर छेउमा भोजपत्रका दाउराको राप लिँदै सुत्ने चाँजोपाँजो मिलाइयो ।

सधैँ घरका भित्तामा अडेस लाग्दै निदाउने म पत्थरसँग टाँसिँदै निदाएँ । घरका धुरी हेर्दै निदाउने म खुल्ला आकाश हेर्दै निदाएँ । कति भाग्यमानी म, हिमाल हाँसेको अनि नदी कलकल बगेको सुन्दै निदाएँ । मध्यरातमा झसङ्ग ब्युँझिएर यसो हेरेको त हिमालले बादलको घुम्टो ओढिसकेछ । अँध्यारो थियो, सिरकबाट मुन्टो निकालिरहन सकिनँ । डर लाग्यो । हिमाल सिँगारिन थाल्यो, म मुख छोपेर आँखालाई आराम दिन थालेँ ।

४ बजेतिर गुनगुन आवाज, आगोको राप, आलुको बास्ना आइरहेको थियो । सिरक हटाएर हेरेको त, साथीहरू आगो ताप्दै आलु पोलेर पो खाइरहेका रहेछन् । अब म पनि उठ्नुपर्‍यो भनेर जुरुक्क उठेको त आँखाकै अगाडि ठोक्किन आयो, रातभर सिँगारिएको कान्जिरोवा ।

यात्राका अरु रातभन्दा त्यो रात मस्तले निदाएँ । आलु भात खाएर से गोम्पाका लागि यात्रा सुरु हुन्छ ।

छुटे, सबै छुटे...

रिग्जिन दाइका दुईवटा गोडा माइकल र ज्याक्सन, सेतो कान्जिरोवा हिमाल, छेउमा बग्ने नदी, भोजपत्रको रापिलो आगोको ताप, सबै छुटे । ब्याग त गरुङ्गो भएकै थियो, झन् यादहरू थपिए । मन गरुङ्गो भयो । ब्यागभन्दा मन बोक्न गाह्रो भयो ।

ब्याग छोड्न पनि नमिल्ने अनि मन पनि । यी सबै प्रकृतिका अनौठा रूप छुन मिल्ने अनुभूति गर्न मिल्ने यो विशाल हृदयमा अटाउन मिल्ने तर सँगै लैजान नमिल्ने ? बस् सम्झनाबाहेक मैले केही ल्याउन सकिनँ ।

कान्ला पासको शून्यता र शेगोम्पाको त्यो चिसो निद्रा

त्यो दिन अरु दिनभन्दा थप चुनौती थपिएको थियो । किनकि ६ हजार ३ सय मिटरको कान्ला पास पार गर्नुपर्ने थियो । त्यो उचाइ हामी सबैका लागि पहिलो थियो । लेक लाग्छ कि भन्ने डर सबैको मनमा थियो । उकालो चढ्दै गर्दा मुटुको धड्कन जोडले धड्किन थालिसकेको थियो । तर, प्रकृतिको मनोरम दृश्यले कहिले पो मन दु:खी बनाउँथ्यो र ? पछाडि फर्केर हेर्दा अग्लो कान्जिरोवा हिमालले भन्दै थियो, ‘अझै हिँड, थाक्न हुँदैन । झन् माथिको उचाइबाट म राम्रो देखिन्छु ।’

हेर्दा आँखैअगाडि देखिए पनि चढ्दा २ घन्टा लाग्यो । कान्ला पास पुग्नु हाम्रो लागि खुसीको कुरा भयो ।

टोलीमा सबैभन्दा धेरै गाली खाने म नै थिएँ । जति धेरै पीडा–थकान भए पनि फोटो खिच्न र भिडियो बनाउन भनेपछि नथाक्ने । पास पुगेपछि केके भनेर भिडियो बनाउँछु भनेको केही भन्नै आएन । कान्ला पासमा म शून्यसरि बिलाएँ ।

९ बजेको थियो शेगोम्पा पुग्दा । टेन्ट हालेर बसिरहेका स्थानीयसँग एक रात बास दिनका लागि दाइहरूले अनुरोध गर्नुभयो तर उहाँहरूले धेरै सोधपुछ गरेपछि जसोतसो बास दिन तयार हुनुभयो । बाहिरका मान्छेहरूको आवतजावत कम हुने भएकाले आफ्ना लागि पुग्नेबाहेक अरु थप खाना, थप ओढ्ने ओछ्याउने राख्नु हुँदैन रहेछ । वरपर घर चारवटा मात्र थिए । अरु झन् साना थिए । त्यसैले बाहिरको पाहुनालाई बास दिन र बास पाउन गाह्रो थियो तर जसोतसो हामी टेन्टमा अटाउन तयार थियौँ । ल भित्रै आउनुहोस् भन्दा त संसारकै सुविधासम्पन्न महलमा ठूलै सम्मानसहित भित्र्याएको महसुस भयो ।

बाहिर पानी जमिसकेको थियो । ओहो ! त्यो रात बाहिरको जमिन चिसो, भित्र ओछ्यान चिसो, शरीर चिसो, निद्रा चिसो तर उहाँहरूको माया न्यानो । बिहानीपख ५ बज्न थालेको थियो  । टेन्टबाट बाहिर निस्किएर यताउता गर्दै थिएँ । अर्को टेन्टमा बसिरहनुभएका पासाङ ल्हामु आमाले भित्र बोलाउनुभयो । किन रहेछ भनेको त छुर्पी दिनलाई पो रहेछ उकालोमा खान भनेर ।

उहाँहरू चौँरीको छुर्पी बनाउने अनि बेच्नलाई चाइनातिर पठाउने काम गर्नुहुँदो रहेछ । आमासँग एकछिन गफ गरेँ । त्यो एकछिनको गफ र ओठको मीठो मुस्कानले यात्रामा मात्र नभई जीवनमै थप ऊर्जा मिल्यो ।

मान्सपटलमा घुमिरहने शेगुम्बाको चिसो त्यो एक रात । नीलो आकाशमुनि सेतो टिस्टको प्रयोग, अनि अचकल्टो पेट ।शेगुम्बाबाट साल्दाङ पुग्नु थियो । ७ बजेतिर शेगुम्बाको माहौल तातिँदै थियो ।

चौँरीहरूको आवाज आइरहेको थियो । उनीहरू पनि आफ्नो बाटो तताउँदै थिए । हामीले पनि आफ्नो बाटो तताउने तर खर गर्दै थियो । चौँरीले आफ्नो भारी उठाए । हामीलाई पनि भारी थपियो, झोलामा खाजा खाना । त्यो दिनको खुराक एउटा रोटी र आलु थियो । सुरु भयो यात्रा । झिसमिसेमा बास बस्यो बिहानीको झुल्को घामसँगै अगाडि बढ्यो । यही क्रम अझै धेरै दिन चल्नेवाला थियो । 

सुम्दो गोम्पा डोल्पालीहरूको निकै पुरानो पौराणिक इतिहास बोकेको गोम्पा हो । सुम्दो गोम्पा शेगुम्बाको छेउमै पर्छ । बीचमा खोलाले सालदाङ र शेगुम्बा छुट्याएको छ । भिजेर गाउँ जानका लागि पनि यही ठाउँबाट बाटो छुट्टिन्छ ।

हिँडेको ३/४ घन्टा भएको थियो, साह्रै गाह्रो भयो । त्यही दिन हो म यात्रामा धित मरुञ्जेल रोएको । लाग्यो, म बसिरहेको जमिन भासियोस् र म यहीँ विलय होऊँ (मिन्स भएको जम्मा तीन दिन, त्यो पनि समयभन्दा धेरै नै अगाडि आफूसँग प्याडसम्म थिएन । त्यतिबेला नै हो, मैले खुल्ला आकाशमुनि आफूले लगाएको सेतो टिस्ट च्यातेर प्याडको रूपमा प्रयोग गरेको) ।

पाँच/छ दिनको पिरियड समयभरमा मैले तीनवटा टिसर्ट च्यातेकी थिएँ । अग्लाअग्ला डाँडा, तिनै डाँडाको बीचबाट बग्ने खोल्सा समथर भूभागमा गुजुमुज्ज परेका राता तारा झाडी बुट्यान, थुम्कैथुम्का परेका पहाड हेर्दाहेर्दै आफूलाई हेर्न बिर्सिएकी रहेछु । मोबाइलको स्क्रिनमा आफूलाई हेरेँ, ओहो ! त्यो मलिन अनुहार आफ्नै शरीरको विछट्टै माया लाग्यो । हो त्यही दिन हो मलाई मेरो विछट्टै माया लागेको ।

साल्दाङ पुग्नुभन्दा अगाडि ५१८० मिटरको धुम्ला पास पार गर्नुपर्छ । पास कटेपछि मन फुरुङ्ग हुने कुरा भनेको पासपछि सुरु हुने बाटो । यो बाटो कि त ओरालो हिँड्नुपर्छ कि त तेर्सो । धुम्लापासबाट देखिने दृश्यको छाप दिमागमा गढिएरै बसेको छ । कोलाहल धुलोमाण्डु शहरभित्र गुम्सिएको बेला त्यही गढिएका तस्वीरहरूको सहायताले सास फेर्छु म । साँच्चिकै त्यहाँबाट देखिने थुम्काथुम्का परेको भू–भागको तस्वीर सकेसम्म मोबाइलमा अटाउने प्रयास त गरेँ । तर, प्रकृति हो, जस्तो छ त्यस्तै त कहाँ आउँथ्यो र फोटोमा ?

त्यति मात्रै होइन, मलाई त कुनै बेला म यही धर्तीको त्यो पनि नेपालको कर्णालीको भू–भागमा छु र भनेर घरिघरि प्रश्न गर्थें । पासबाट ओरालो लागेर एउटा खोलाछेउमा नास्ता खानका लागि बिसायौँ शेगुम्बाबाट बोकेर ल्याएको थियो त्यो दिनको खाजा खाना जे भने पनि त्यही थियो । अड्कलेर बोकेको अमूल्य आलु र रोटाको पोको फुक्यो । सबैको मुखबाट आहा शब्द निस्कियो ।

छेउमै चौरासी व्यञ्जन पाकेको जस्तो माहौल बन्यो । अब खान पाइने भो भन्दै मुख मिठ्याउँदै रोटाको पोको समात्नुभएका शेर दाइको दाइनजिक पुग्यौँ । तेजेन्द्र दाइले नजिकैको ढुङ्गामा आलु र नुन पिसेर एक/एकवटा रोटी बाँड्नुभयो । रोटी भोक अड्कलेर बोकेको होइन, त्यसैले एक/एकवटा भागमा पर्‍यो । छेउमा बगिरहेको खोलाको पानी र एक/एकवटा रोटी हालेको अच्कल्टो पेट बोकेर अगाडि बढियो ।

घामको किरणबाट तापशक्ति घट्दै थियो । पाखाहरू चिसा देखिन थालिसकेका थिए । अस्ताउन लागेको घामको रङ नै छुट्टै, रातो थियो । घाम डाँडातिर सर्दै थियो हामी भने ओरालो लाग्दै थियौँ । म मोबाइल झिकेर फेरि बोल्न थालिहालेँ 'वा ! क्या दामी ठाउँ है, यस्तो है उस्तो है' भनेर सुनाउन थालेँ । साथी त्यही मोबाइल थियो । कुनै पनि जवाफ नगरी जे भन्यो त्यही सुनिदिने ।

यात्रामा निस्कनुभन्दा पहिले र अहिले आफूलाई फरक पाएकी छु । मैले देखेको समाज र बाँचिरहेको धरातल, मेरो सेरोफेरो र मैले चिनेको मान्छे, त्यति मात्र कहाँ रहेछन् र ? यी आँखामा त जति पनि दृश्य, जति पनि अनुहार अटाउने रहेछ्न् । हामीले सामाजिक सञ्जालमा देखेका ठाउँ र मान्छे मात्र छन् भन्ने नसोच्नुहोला । यस्ता ठाउँ पनि छ्न्, जहाँ रेडियो पनि सुनिदैन । यो पनि नसोचिहाल्नुहोला कि उनीहरू दु:खी छन्, पीडित हुन्, जो जहाँ छ उसलाई त्यही संसार प्यारो । जुन धरातलमा बस्छ, त्यही माटो प्यारो । सामान्य जीवनशैली खुसी अनुहार भन्दै धेरै लामो भिडियो बनाएँ ।

साल्दाङ पुगियो । साल्दाङ गाउँपालिका कार्यालयनजिक र मान्छेहरूको आवतजावत धेरै भएको ठाउँ भएर होला, होटल व्यवसायीहरूको व्यवहारमा अलिकति रुखोपना थियो तर त्यो रात बसाइ राम्रो नै भयो ।

जस्तो गाउँ, त्यस्तै गाउँले (कोमास)

जुरुक्क उठियो । घरका भित्ताहरूमा अडेस लगाएर राखेको झोला बोकेर हिँडियो । बिहानको झुल्के घाम, साल्दाङका भिरपाखामा परेको शीत पखाल्दै भित्र्याउन ठिक्क पारेका फाफर उवाबारीतिर छिर्दै थियो ।

त्यो दिन बिहानैदेखि हावा जोडले चल्न थालिसकेको थियो । पुल तरेर पल्लोपट्टि पुगेपछि उकालो सुरु भयो । साल्दाङबाट तिन्जे पुग्न चाइनिज बाइकहरू पनि भाडामा चढ्न पाइने तर पैसा महँगो थियो । बाटो पनि एकदमै डर लाग्दो । हाम्रो टोली ठूलो थियो । त्यसैले त्यो सुविधातिर लागिएन । दिउँसै जाडोले मुटु काँप्न थाल्यो । तिन्जे जाँदा पनि दुई/तीनवटा सानातिना उचाइका पास पार गर्नुपर्ने थियो ।

बाटैभर छरपस्ट चरिरहेका भेडा र चौँरीको बथान हेर्न भने आँखा गइहाले । 'हाsहाss, यहाँ पनि हाम्रो टोलीका लागि मै बदमास भएँ भने तिमीहरू जाऊ, म आउँदै गर्छु' भनेँ । भेडाहरूलाई जिस्क्याउँदै बुरुक्क–बुरुक्क उफ्रँदै थिए । बाटोबाट घारीतिर छिर्दै गरेको भेडालाई बोलाएको, छेउमै आइहाल्यो । नुनको प्यासी हुँदारहेछ्न् । मेरो हात चाटेर नुनको प्यास मेटाउने मन थियो उसलाई । बिस्तारै टाढिँदै अगाडि बढेको त पछिपछि आइहाल्यो । हेरिरहँदा आँखा नै रसायो । अलि पर गएपछि फर्कीफर्की हेरेँ । मैले मात्रा होइन, उसले पनि मलाई हेरिरहेको थियो । लाग्यो, हिमाल आउँदा एक पोका नुन बोकेर आउनुपर्ने रहेछ । कहिलेकाहीँ घरमा खानामा नुन बढी भयो कि ती प्यासी भेडा–च्याङ्गा सम्झिन्छु । यात्राका यी घटनाहरूले हानिरहन्छ्न् हृदयको कुनामा ।

मलाई छोडेर कहाँ पुग्यो पुग्यो टोली । टोलीसँग भेट हुन दिउँसोको १ बजे कोमास पुगियो । कोमास समथर भू–भागमा चिटिक्क मिलेको गाउँ, छेउमा स्कुल अनि गाउँको बीचमा धारो, भलिबल खेल्न ठूलो चौर । चिटिक्क मिलेको गाउँको समाज पनि सभ्य हुन्छ । त्यहाँ बसोबास गर्ने गाउँलेहरूको पनि परिचय दिने रहेछ गाउँले । गाउँको बाटो ओर्लिंदै गर्दा उवा काट्दै गरेका आमाहरूले 'नानी बस, चिया खाएर जाऊ न' भन्दै आग्रह गर्नुभयो । छुट्टै मायाभाव जाग्यो । आमाहरूले त्यति सोध्दैमा आन्न्द आयो ।

बिहान साल्दाङबाट जुरुक्क उठेर मुखमा पानीसमेत नराखेर हिँडेको हाम्रो खोजी भातकै थियो, नेपाली हो नि । सानोतिनो होटल व्यवसाय गर्दै आउनुभएकी एक जना दिदीको घर पुग्यौँ । घरमा कोही हुनुहुन्नथ्यो । गाउँका तीन/चार जना दाइहरू चाइनिज बाइकमा गीत बजाउँदै उवाका बिटाहरू बारीबाट घरतिर सार्दै थिए । 'यहाँ कोही हुनुहुन्न हो ? हामी त साल्दाङबाट खाना नखाई हिँडेका, एकदमै भोक लागेको छ, जे पकाएर दिए नि खान्छौँ' भनेर हाम्रो टिम लिडर आदरणीय शेरबहादुर दाइले भन्नुभयो । त्यति भन्नेबित्तिकै उहाँहरू त होटलको आन्टीलाई उवा काटिरहेको बारीमै पुगेर बाइकमा लिएर आउनुभयो ।

आन्टीले पकाएको खाना अविस्मरणीय रातपछिको कोमास गाउँको असाध्यै मीठो खाना । खाना पाक्दै गर्दाको समयमा बाहिर बारीको डिलमा घाम तापेर बसिरहनुभएका बुबालाई देखेँ र म गफ गर्न गएँ । आमाले भनेको कुरा झल्याँस्स सम्झिएँ । उहाँले 'डोल्पामा त जिम्बु पाउँछ, ल्याउनु है' भन्नुभएको थियो । मेरी आमालाई जिम्बु असाध्यै मन पर्छ । बुबालाई सोधेको उहाँले 'मै बिक्री गर्छु जिम्बु त' भन्नुभयो । बुबासँग मीठो गफ गरेँ, जिम्बो किनेँ, भिडियो बनाएँ । त्यो भिडियो सबैभन्दा धेरैले हेरेको भिडियो हो मेरो युटुबमा । खाना खाएर अगाडि बढियो ।

कुनैकुनै दृश्य, ठाउँ अनि मान्छे यस्ता हुन्छ्न् कि घण्टौँ अँगालो हालेर बेरिरहन मन लाग्ने । हिँडदाहिँड्दै साँझ पर्न थाल्यो । तिन्जे पुग्न राति नै हुने अनुमान गरियो । फाटफुट घट्टहरू, कतै बिसाउने चौतारीहरू, बाटो छेउछाउ गुम्बाहरू भेटिएका थिए । खाली हुन् या भरि, थाहा भएन । गोठ पनि देखिइराखेका थिए तर मान्छेको चहलपहल कान थापेर सुन्दा पनि पाइएन । के अनुपम प्रकृति हावी भएको ठाउँमा मान्छेहरू शान्त बसेकै हुन् त ? कि शान्त हुन सिकेका हुन् ?

तिन्जेमा तीनछक 

कोमासबाट खाना खाएर सिमेनहुँदै ९ बजे बास बस्न तिन्जे होटल पुगियो । छेउमा खच्चड, घोडा, च्याङ्ग्रा बाँधेको सानो ढोकाबाट भित्र छिरियो । पशुहरूका खान्की, केही धोक्राहरू र अक्रमबक्रम सामानहरू छरपस्ट थिए । रक्सी बनाउनका लागि जाँड राखेका ड्रमबाट नराम्रो गन्ध आइरहेको थियो । साह्रै फोहोरी होटल पो आइएछ भन्दै सिँढी चढियो । सिँढीको छेउमै डोका र नाम्ला राख्ने ठाउँ थियो । त्यहीँनेर जुत्ता खोलेर आउनू भनेर भित्रबाट होटलको साउनीले बोलाउनुभयो ।

ढोकामा पाइला मात्र के टेकेको थिएँ, म त हेरेको हेर्‍यै भएँ । थ्री स्टार होटलमा छिरेको जस्तै पो लाग्यो । भाँडाकुँडाको सजावट, तातोपानी राख्न लस्करै राखिएका ३०/४० वटा थर्मसहरू, अन्य भाँडाकुँडा, ओढ्ने ओछ्याउने । आगो ताप्नका लागि छुट्टै व्यवस्था । अपुग भन्ने केही थिएन । धेरै नै राम्रो थियो । बाहिर त्यस्तो अनि भित्र यस्तो आहा ! १५/२० मिनेट त्यो सबै सजावट हेरेर मज्जा लिएँ । म मात्र होइन, हाम्रो टिमका सबै जना तिन्जेमा तीनछक पर्‍यौँ । डोल्पालीहरूको घरभित्रको सजावट प्राय: घरहरूमा त्यस्तै हुँदो रहेछ । तिब्बतीयनहरूको बसोबास भएकाले खानपान बसोबास र जीवनशैली चाइनिज समुदायसँग मिल्दोजुल्दो छ यहाँका बासिन्दाहरूको ।

उठ्दा ७ बजिसकेको थियो । घामको किरणमा तापशक्ति बढ्दै थियो । तिन्जेमा रोड बाटो पुगेको छ । ठाउँ पनि समथर छ । त्यति मात्र होइन, फोनको टावर पनि जडान भएको रहेछ । धेरै बेर बस्ने मौका मिलेन । त्यति हेर्ने संयोग पनि कपाल कोर्न भित्रबाट बाहिर निस्किँदा मिलेको हो । घरबाट हिँडेपछि पहिलो पटक कपाल तिन्जेमा कोरेकी हुँ । 

वर्ल्डलिंक वाइफाइ (धो तराप)

फोक्सुण्डो लेकबाट हिँडेदेखि पुग्ने ठाउँका बारेमा हामी धेरै कुरामा अन्जान नै थियौँ । टिमका कुनै पनि सदस्यलाई राम्रोसँग थाहा थिएन, अगाडि यस्तो गाउँ/ठाउँ आउँछ भनेर । दिनभर हिँडेपछि बल्ल थाहा हुन्थ्यो बस्ने ठाउँका बारेमा, त्यही पनि बाटोमा भेटिने अन्य यात्रीहरूलाई सोधेपछि । यसरी हिँड्नुको पनि मज्जा बेग्लै थियो ।

उकालो लागेपछि धो तराप जाँदा बाटोमा मान्छेहरूको चहपहल अलि धेरै नै थियो । किनकि डोल्पाको दुनैबाट धो जम्मा दुई दिनमा पुगिन्छ र सामानहरू सबै धोहुँदै आउने रहेछ । फोक्सुण्डोबाट उकालो लागेको बाटो त एकदमै डेन्जर रुट रहेछ तर हामी त्यही रुट भएर नै हिँड्नुपर्ने थियो । बाटोमा अलिअलि फोनले काम गर्न थालेपछि मैले रूपेश भन्ने मेरो साथीलाई फोन लागाएँ र धोबारेमा सोधेँ । उनी वर्ल्डलिंकमा काम गर्दा धो गाउँमा करिब २ महिना बसेको थिए । त्यसैले उनीसँग धोमा बस्नका लागि होटलको नम्बर मागेँ । जसोतसो फोनले काम गर्‍यो । त्यो हिँउ पर्ने सिजन त होइन तर दिउँसै फुरुरु हिउँ पर्न थाल्यो । हामी निकै रमायौँ त्यति बेला । तर, एकैछिनमा हिउँ पर्न रोकियो ।

धो पुग्नुभन्दा अगाडि पनि ५१०० मिटरको पास काट्नुपर्ने थियो । त्यो पासमा हामी सबैलाई गाह्रो भयो । बिहान ३ बजेदेखि एक/एकवटा चाइनिज चाउचाउ खाएर अगाडि बढ्यौँ । किनकि बाटोमा कतै पनि केही होटल/खाजाघर पाउने अवस्था थिएन । फोक्सुण्डोबाट हिँडेपछि राम्रोसँग भरपेट तीन छाकबाहेक खाएकै थिएनौँ । पास पुग्दा त खुट्टा रुखको जराजस्तै गाडिएका थिए एक पटक टेकेपछि उचाल्नै गाह्रो । पासमा पुग्दै गर्दा त हामीले टेक्ने सबै अग्ला चुचुराहरू सफलाका शिखर होइनन्‌झैँ लाग्यो ।

सफल हुनु भनेको दु:खसुखका सानातिना पहाड पन्छाउँदै अगाडि बढ्नु पनि हो । संयमता अपनाइएन भने त यात्रा रमाइलो मात्र होइन दु:खद पनि हुन्छ । पास पार गर्न गाह्रो भयो । यही हो मैले फोटो र भिडियो नखिचेको । यसबाटै थाहा हुन्छ बाटो कति गाह्रो थियो भनेर । लगभग आधा घण्टा ओरालो झरेपछि हावा नलाग्ने खोल्सातिर बस्यौँ । त्यहीँ एउटा फोटो खिच्नुभएछ । शेर दाइले यो फोटो हेर्दा म अहिले पनि हराउँछु उतै कतै ।

यात्रा सुरु भएको दिनदेखि नै हामी घाम नडुब्दै बास बस्ने ठाउँमा कहिल्यै पुगेनौँ, ८/९ त बजेकै हुन्थ्यो । धोमा पनि लगभग ९ बजेतिर होटल माउन्टेन पुगियो । बस्न, खान, सुत्न, वाइफाइ सबै कुराको राम्रो व्यवस्था थियो । हाम्रो टिमका शेर दाइ बिहानै उठे र साथीलाई उनैले जोडेको वाइफाइबाट भिडियो कल पनि गरे । रुपेश त मख्खै परे, धेरै वर्षपछि आफूले काम गरेको ठाउँ देख्न पाउँदा, त्यो पनि आफैँले जोडेको वाइफाइबाट । त्यसपछि उनलाई पनि त्यो ठाउँको सम्झनाले पक्कै मन पिरोल्यो होला । धो मैले सुनेअनुसार विश्वकै दोस्रो अग्लो स्थानको गाउँ हो रे । यहाँको उचाइ ४०४० मिटर छ । १५ दिनको यात्रामा हाम्रो यात्राको अन्तिम गन्तव्य यहीँसम्म थियो ।

अन्तिम क्याम्प, लासी क्याम्प (को आयो, ठोक्‌ ठोक्‌ ठोक्‌..)

पुगेको ठाउँबाट त फर्किनैपर्छ । अब पहिला दुनै अनि घर । हाम्रो टोली धोबाट अगाडि बढ्यो । १ घण्टाजति रोडको बाटो थियो । त्यसपछि अप्ठ्यारो थियो । बाटो कतै धुलो थियो, कतै ढुङ्गा फोरेर बनाइएको बाटो थियो । झोलुङ्गे पुलहरू पनि जीर्ण थिए । धोबाट लासी क्याम्प पुग्दासम्म बाटोमा मान्छेहरू, चौँरी र खच्चडको आवतजावत बाक्लै देखिन्थ्यो ।

दुनैबाट नजिक भएकाले त्यो बाटोमा भौतिक विकासका कामहरू भइरहेका थिए । बाटोमा इन्जिनियरहरू पनि भेटिएका थिए । उहाँहरू उकालो चढ्दै हुनुहुन्थ्यो भने हामी ओरालो झर्दै थियौँ । संयोगवश भेट भयो तर बोलचाल भएन । बोलचाल त उहाँहरूसँग एक महिनापछि भयो, जब मैले फेसबुकमा राखेको डोल्पाको भिडियो टिकटकमा भयो । भाइरल भएपछि त्यहाँ भेट भएका प्रकाश बुढा दाइले चिन्नुभएछ र मलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाउनुभयो । उहाँसँग बोल्दै लासी क्याम्प झर्दा छुट्टै मज्जा आएको थियो । 

लासी क्याम्प ओर्लिंदै थियौँ, पिठ्युँमा काठ बोकेका चौँरीहरूसँग दुईवटा खुट्टा एकैपटक टेक्न नमिल्ने भिरमा भेट भयो । म भित्तातिर अडेस लागेँ । मान्छे देखेपछि उनीहरूले एक पाइला पनि सारेनन् । भिर बाटोको डर किन हुन्थ्यो र सधैँ हिँड्ने उनीहरूलाई ? उनीहरूलाई डर त हामी अन्जान मान्छेहरूको पो लाग्दोरहेछ । हामी चार कोसजति माथि उक्लिएपछि मात्र उनीहरू अगाडि बढे । औधी मायालाग्दा हुन्छ्न् चौँरी, यति डराउँछ्न् मान्छेसँग कि भनिसाध्य नै छैन । चौँरी इज लभ के, त्यो मलिन डरालु स्वभाव ।

रात परिसकेको थियो । आँखाले यताउता केही पनि देख्न छाडिसकेको थियो । फेरि त्यो बाटो अहिलेसम्म हिँडेको बाटोमध्येमै खतरनाक थियो । खोलाको आवाज कतै टाढैबाट आइरहेजस्तो सुनिरहेको थियो । अनि वेगले चलेको हावा, साँघुरो बाटो, टर्च बालेर ढिलमा हेर्दै जसोतसो लासी क्याम्प पुगियो । बसाइ राम्रै भयो । हामी १० जना एउटै त्रिपापालको छानाभित्र सुतेका थियौँ । मध्यरातमा म जुरुक्क उठेर ट्वाइलेट निस्केको थिएँ । हाम्रो ग्रुपको तेजेन्द्र दाइ त जुरुक्क उठेर 'के आयो, ठोक्, ठोक्' रे । त्यतिबेला कसैलाई थाहा भएन । बिहान उठेर रातिको घटनाका बारेमा सुनाइदिएको, टोली त 'आयो ठोक् ठोक्' भन्दै तेजेन्द्र दाइलाई जिस्क्याउँदै बाटोभरि हाँसिरहे ।

अझ त्यति मात्र कहाँ हो र ? बाहिर मुटु कमाउने जाडो, ओछयानमा शीत चुहिने त्रिपालको छानो, बीचमा ओढ्ने पातलो सानो ब्ल्याङ्केट, अनि ओछ्यान पनि त्रिपालकै थियो । छेउको बेन्चमाथि जगमा पानी राखिएको थियो । पिउन भनेर झिक्दै थिएँ, चिसो अत्ति भएर हातले कामै गरेन, ओछ्यानमै घोप्टियो । तपाईं नै सोच्नुस्, अब के भयो होला ?

लासी क्याम्पमा पुलिस चौकी पनि थियो । बिहानको चहपहल रमाइलो नै थियो । १०/१२ वटा टेन्टले भरिएको लासी क्याम गाउँ चिटिक्क परेको देखिन्थ्यो । जुरुक्क उठेर हिँडियो । पुग्नु थियो दुनै । सबैले सबेरै पुगिन्छ भनेका थिए । बाटोमा बिपना बहिनी र सुरज भाइसँग ट्रुथ कि डियर खेल्दै हिँडेको, जीवनका धेरै सत्य डोल्पामै पोखाएँ । बाटो काटिएको थाहा नै भएन । उचाइ कम भएकाले हिँड्न पनि सजिलो भइरहेको थियो । रुखहरूको दर्शन धोबाट झरेपछि नै पाइन थालिएको थियो । तर, लासी क्याम्पबाट झरेपछि झन् बाक्लो उपस्थिति थियो । ए बिर्सेको मैले त, बोटबिरुवा पनि छ है भन्ने महसुस भएको थियो । शेगोम्पाको उकालो लागेदेखि सिधै धो कटेपछि देखेको ।

खाली छुजस्तो लाग्छ भने डोल्पा तयार छ प्रकृतिको अनुपम अनगिन्ती उपहार पस्किन ।

अब दुनै

नजिक–नजिक पुग्न थालियो, मान्छेहरूको जीवनशैली फरक देख्न थालियो । माथिल्लो डोल्पा र तल्लो डोल्पाको जीवनशैलीमा धेरै भिन्नता छ । दुनै पुग्न पुल तरियो । पुलहरू फरक–फरक थिए । म पनि जाँदा खाली थिएँ । फर्किंदा भारी भएर फर्किएँ । जिम्बु राखेको ब्याग भारी, फोटोहरूले मोबाइल भारी, यादहरूले मन भारी, तस्वीर खिच्न निस्कँदा देखिएका दृश्यले दिमाग भारी ।

यो यात्राका क्रममा साथ दिने सम्पूर्ण  डोल्पालीहरू र टिमको लिडर शेर परियार दाइलगायत तेजेन्द्र रावल दाइ, मोहन महतारा, करन बोहोरा भाइ, मिलन देवकोटा भाइ, उत्तम उपाध्याय भाइ, सुरज कुसारी भाइ र बिपना बहिनीलगायत सबैप्रति म आभारी छु ।  

यो त यात्राको सुरुवात थियो । डोल्पाले दिएको आँटलाई अँगालेर आजको दिनसम्म धेरै ठाउँ पुगिसकेँ । - शिलापत्रबाट

प्रकाशित मिति: बुधबार, पुस २१, २०७८  १६:०१
प्रतिक्रिया दिनुहोस्