Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
हिमपातको प्रभाव

कार्यस्थलबाट प्राविधिक र कामदार फर्किए, विकासे आयोजनाका काम राेकिए

कोरोनाले पछि परेका विकास निर्माणका कार्यमा हिमपातकाे असर
२०७८ पुस २२
tribeni2

रुकुम पूर्व / लगातारको हिमपातको कारण रुकुम पूर्वमा निर्माणाधिन विभिन्न आयोजनाहरु प्रभावित भएका छन् ।

गत पुस १३ गते देखि भएको हिमपातको काराण जिल्लाको सिस्ने गाउँपालिका वडा नम्वर १ मा निर्माणाधिन पाखा ओराली लघुजलविद्युत आयोजनाको काम रोकिएको छ । यहि माघको महिनासम्म सम्पन्न गरिसक्नुपर्ने उक्त विद्युत आयोजनाको कामलाई हिमपातले असर गरेको छ ।

नियमित बाक्लो हिउँ पर्नथालेपछि कार्यस्थलमा रहेका प्राविधिक कर्मचारी र कामदारहरु सबै फिर्ता भएको बताईएको छ ।

हिउँ नबिलाउँदासम्म काम पुनः सुचारु गर्न सकिने अवस्था नरहेको १ नम्बर वडाका वडाध्यक्ष मानबहादुर बुढाले बताउनुभयो । गत आर्थिक बर्षमै निर्माण सम्पन्न भैसक्नुपर्ने उक्त आयोजना कोरोना भाईरसको कारण सामान ढुवानीमा प्रभाव परेर सम्पन्न हुन सकेको थिएन ।

निर्माण सम्पन्नकाे चरणमा आईपुग्दा हिमपातको कारण फेरि पछाडि धकेलिएको वडा अध्यक्ष बुढाले बताउनुभयो । हिमपातकै कारण उक्त आयोजनाको लागि निर्माण स्थलमा पुर्‍याईएको १२ क्विन्टल सिमेन्ट समेत खेर जाने अवस्थामा रहेको वडाध्यक्ष बुढाले उल्लेख गर्नुभयो । देउखोलाबाट दुई दिन लगाएर खच्चडमार्फत ढुवानी गरिएको सिमेन्ट बिग्रदा थप समस्या भएको उहाँको भनाई छ ।

श्रमदानसहित ३ करोड ७७ लाखको लागतमा निर्माण हुन लागेको विद्यतु आयोजनाको अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न भएको जनाईएको छ ।

यस्तै सिस्ने गाउँपालिका वडा नम्वर १ मा नेपाल टेलिकमको टावर निर्माण कार्य पनि अवरुद्ध भएको छ । यतिमात्र नभएर वडाबाट सम्झौता भइ सञ्चालन भएका सबै विकासे कामकाजहरु ठप्प अवस्थामा रहेको वडाले वडा अध्यक्ष बुढाले जानकारी दिनुभयो ।

जिल्लाको पुथाउत्तरगंगा गाउँपलिका वडा नम्बर १, २, ३ र ५ मा पनि सञ्चालन भइरहेका विभिन्न विकासे योजनाहरुको कामकाज ठप्प भएको छ ।

त्यस क्षेत्रमा भवन निर्माण, गोरेटो बाटो निर्माण, पर्यटन सिग्नल बोर्ड लगाउँने, तारबार, धारो, कुवा, म्यूजियम निर्माणको कामहरु सबै रोकिएको १ नम्बर वडा मैकोटका कार्यवाहक वडाध्यक्ष मग कामीले बताउनुभयो ।

गएको सातामा जिल्लाको हिमाली तथा उच्च लेकाली क्षेत्रमा भएको हिमपातले मानिसको दैनिकी कष्टकर त बनेको छ नै, विकासे योजनाहरुको काम रोकिदा कामकाज पछि धकेलीने बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  १०:०१
प्रतिक्रिया दिनुहोस्