Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जिल्ला छोड्नु अघि रुकुमका प्रजिअ गैह्रेले सार्वजनिक गरेका प्रगति

tribeni2

रुकुम पश्चिम / करिब १६ महिना रुकुम पश्चिमको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्नु भएका बद्रिनाथ गैह्रेले जिल्ला छोड्नु अघि आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण कामहरु सार्वजनिक गर्नुभएको छ ।

प्रजिअ गैह्रेले चार सय ६५ दिनको रुकुम पश्चिमको बसाई उच्च मनोवलका साथ तोकिएको जिम्मेवारी बहन गर्न प्रयत्नशील रहेको र जिम्मेवारी बहनबाट आफूँ सन्तुष्ट हुन सकेको जनाउनुभएको छ ।

रुकुम (पश्चिम) जिल्लामा करिब १६ महिना (४६५ दिन) प्रमुख जिल्ला अधिकारीको रुपमा रहँदा गरेका मुख्य कार्यहरुको विवरण उहाँले यसरी सार्वजनिक गर्नुभएको छ ।

१. ७२ बुँदे सुधार कार्ययोजना तयार गरी लागू गरिएको, कोभिड १९ संक्रमणको प्रतिकूल परिस्थितिका बाबजुद कार्ययोजनाका अधिकांश क्रियाकलाप सम्पन्न भएको ।

२. कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका सम्पूर्ण संयन्त्रहरुलाई एकीकृत रुपमा परिचालन गरिएको, आइसोलेसन केन्द्रको व्यवस्थापन, अक्सिजन आपूर्ति लगायत आवश्यक पूर्वाधार तयारी, जनशक्ति व्यवस्थापन, निकायगत समन्वय, अनुगमन तथा सहजीकरण गरिएको।

३. स्थानीय तहका वडा कार्यालयहरुबाट सिफारिस भई आएका विषयमा थप निवेदन लेख्नुपर्ने अवस्थाको अन्त्य गरिएको।

४. जिल्ला प्रशासन कार्यालयमा पेश गर्नुपर्ने अत्यावश्यक कागजातको फोटोकपी कार्यालयभभित्रै नि:शुल्क रुपमा गर्न सकिने व्यवस्था मिलाईएको।

५. जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा सेवा लिन आउने सेवाग्राहीलाई सेवा प्राप्तिमा सहज होस भन्ने उद्देश्यले जिल्ला हुलाक कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यालय भित्रै हुलाक टिकट बिक्री काउन्टर राखिएको ।

६. स्तनपान गराउने सेवाग्राहीको सुविधाका लागि स्तनपान कक्षको व्यवस्था गरिएको ।

७. सेवाग्राहीका लागि तातो र चिसो  खानेपानीको व्यवस्था गरिएको ।

८. नेपाल टेलिकमको सहयोगमा सेवाग्राहीका लागि मोवाइल चार्जिङ स्टेशनको व्यवस्था गरिएको।

९. सेवाग्राही प्रतिक्षालयमा सुधार गरिएको।

१०. कार्यालयको लेआउटमा परिमार्जन गरी सेवाग्राहीलाई सहज हुने ढंगले सेवा प्रवाह हुने कक्षहरुको व्यवस्थापन गरिएको।

११. नागरिक वडापत्रमा सुधार गरी सेवाग्राहीमैत्री बनाइएको । 

१२. सेवाग्राही सन्तुष्टि सर्वेक्षण फारामको प्रयोग गरी सेवा प्रवाह सन्तुष्टिको स्तर तथा पृष्ठपोषण संकलन गरी सेवा प्रवाहमा सुधार गरिएको । पछिल्लो तथ्यांक अनुसार ९५ प्रतिशत सेवाग्राही पूर्ण सन्तुष्ट रहेको पाइएको ।

१३. कार्यालयहरुको छड्के निरीक्षण, अनुगमन गरी समयको पालना नगर्ने कर्मचारीलाई सचेत गराइएको तथा केही कर्मचारीलाई कारवाहीको सिफारिस गरिएको ।

१४. सूचना अधिकारीहरुसँग नियमित बैठक, त्रैमाशिक स्वतस् प्रकाशन आदिको माध्यमबाट सूचनाको हकलाई कार्यान्वयन गर्न सहजीकरण गरिएको ।

१५. विकास निर्माणको अनुगमन, समन्वय र सहजीकरणगरी लामो समयदेखि अलपत्र योजनाहरुको काम अघि बढाइएको।

१६. सरकारी सवारी साधन सदुपयोग कार्यविधि लागू गरी दुरुपयोग न्यूनीकरण गरिएको ।

१७. एकीकृत जिल्ला सुरक्षा योजना लागू गरी शान्ति सुरक्षा तथा अपराध न्यूनीकरणमा सुधार गरिएको ।

१८. चाडपर्व लक्षित सुरक्षा योजना लागू गरी चाडपर्वको समयमा शान्ति सुरक्षा मजवुत बनाइएको ।

१९. जिल्लास्तरीय लागू ‍औषध नियन्त्रण कार्ययोजना तयार गरी लागू गरिएको।

२०. कारागार सुधारका लागि सम्बन्धित निकायमा पहल गरिएको। कारागारको खानेपानी समस्या समाधान गरिएको ।

२१. जिल्लास्थित सबै कार्यालयहरुको जग्गा, भवन तथा सवारी साधनको विवरण एकीकृत गरिएको ।

२२. सार्वजनिक यातायात व्यवस्थापनमा सुधारका लागि भाडादर पुनरावलोकन तथा चेकजाँचलाई प्रभावकारी बनाइएको।

२३. नागरिकता लगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवाका सम्बन्धमा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी स्थानीय वडाबाट हुने सिफारिसमा एकरुपता कायम गर्ने प्रयास भएको।

२४. जिल्ला प्रशासन कार्यालयबाट हुने सेवा प्रवाहलाई छिटो तथा छरितो बनाउन आन्तरिक कार्य प्रणालीमा सुधार गरिएको।

२५. जिल्लामा सञ्चालित एम्बुलेन्सहरुको भाडादरमा एरुपता कायम गर्न भाडादर निर्धारण गरिएको।

२६. जिल्लामा दर्ता भएका तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट प्राप्त भएका अनियमितता र भ्रष्ट्राचारसम्बन्धी सबै उजुरीको छानवीन गरी प्रारम्भिक प्रतिवेदन आयोगको कार्यालयमा पठाइएको।

२७. मनसुनजन्य विपदबाट क्षति भएका घर पुननिर्माणका लागि पहिलो किस्ता अनुदान उपलब्ध गराई निमार्णको कार्य भइरहेको । विभिन्न विपदका घटनाबाट पीडित परिवारलाई यथाशक्य राहत प्रदान गरिएको।

२८. जिल्लाका विभिन्न स्थानमा सञ्चालित निजी अस्पताल, क्लिनिक तथा मेडिकल हलहरुको अनुगमन गरी सुधारका लागि सचेत गराइएको तथा मापदण्ड पालना नगर्ने ३ वटा मेडिकल हल बन्द गरिएको ।

२९. जिल्लाको सबैभन्दा विकट क्षेत्र आठबिसकोट नगरपालिकाको खदिमा पुगी सेवा प्रवाह तथा स्थानीय समस्याका विषयमा अन्तर्क्रिया गरिएको।

३०. आ.व. २०७७।०७८ मा श्रीमान् गृह सचिवज्यू र प्रमुख जिल्ला अधिकारीबीच सम्पन्न कार्यसम्पादन सम्झौताको उत्कृष्ट कार्यसम्पादन गरी दोस्रो स्थान हासिल गर्न सक्षम भएको।

यी कार्यहरुको साथै सेवा प्रवाह, शान्ति सुरक्षा, विकास र सुशासनका सन्दर्भमा सकारात्मक परिवर्तन भएको अनुभूति गरेको समेत उहाँले जनाउनुभएको छ ।

प्रजिअको जिम्मेवारी बहन गर्ने सन्दर्भमा सहयोग पुर्‍याउनु हुने संघ तथा प्रदेशका माननीयज्यूहरू, स्थानीय तहका जनप्रतिनिधिज्यूहरू, राजनीतिक दल, सुरक्षा निकायका प्रमुखहरू, कार्यालय प्रमुखहरू, जिल्ला प्रशासन कार्यालयका कर्मचारी तथा अन्य सम्पूर्ण राष्ट्र सेवक कर्मचारी र सुरक्षाकर्मीहरू, उद्योग व्यवसायी, पत्रकार, नागरिक समाज लगायत सम्पूर्ण रूकुमबासीमा प्रजिअ गैह्रेले हार्दिक आभार व्यक्त गर्नुभएको छ ।

अब रुकुम पश्चिमको प्रमुख जिल्ला अधिकारीको रुपमा परमानन्द घिमिरे रहनुहुनेछ ।

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  २०:०१
प्रतिक्रिया दिनुहोस्