Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मध्यपहाडी लोकमार्गको रुकुम पूर्व खण्डमा सवारी सञ्चालनमा रोक

सडकमा जमेको हिउँ डोजर लगाएर पाँच दिनमा पन्छाइयो
२०७८ पुस २५
tribeni2

रुकुम पूर्व / मध्यपहाडि लोकमार्गको रुकुम पूर्वको क्षेत्रमा सवारी साधन सञ्चालनमा रोक लगाईएको छ । हिमपातको कारण दुर्घटनाको जोखिम बढेको भन्दै लोकमार्ग सञ्चालनमा रोक लगाइएको हो ।

रुकुम पूर्व र बागलुङको सिमाना पातीहाल्ना क्षेत्रमा हिमपातको कारण दुर्घटनाको जोखिम बढेकाले मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मिप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

शनिबार राजमार्गको अवरोध हटाउने सञ्चालन समितिको बैठक बसेर उक्त निर्णय गरिएको समितिको संयोजक समेत रहनुभएका प्रजिअ बाँस्कोटाले बताउनुभयो ।

जिल्लास्थित सुरक्षा निकायका प्रमुख र यातायात व्यवसायीहरुको उपस्थितीमा गरिएको छलफल र यातायात व्यवसायीहरुको सुझावबाटै मध्यपहाडी लोकमार्गको पातीहाल्ना खण्डमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो ।

मध्यपहाडी लोकमार्गमा जमेको साढे दुई फीट हिउँ पाँच दिन लगाएर डोजरले पन्छाएको छ । तर त्यसमा सवारी सञ्चालन गर्न धेरै नै जोखिम रहेकाले लोकमार्ग बन्द गर्ने निर्णय गरिएको प्रजिअ बाँस्कोटाले जनाउनुभयो । उहाँका अनुसार यस खण्डमा सार्वजनिक सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको छ । निजि फोरविलवाला गाडी भने जान सक्नेछन् ।

अत्यावश्यक परेको खण्डमा मात्र सार्वजनिक गाडि प्रहरीको अनुमतीमा यस खण्डमा चलाउन सकिने छ । गाडिको अवस्था कस्तो छ र लोड कत्तिको छ भनेर प्रहरीले उपयुक्त ठानेर पठाएको खण्डमा मात्र सार्वजनिक गाडी पातीहाल्नाको बाटो भएर जाने छन् ।

एक दुई दिनलाई भने पूर्ण रुपले लोकमार्ग ठप्प नै रहेको प्रजिअ बाँस्कोटाले बताउनुभयो । रुकुम पूर्वबाट बागलुङ जाने बाटो हिउँले चिप्लो बनाएको र उकालो पर्ने भएकाले दुर्घटना हुन सक्ने जोखिम धेरै रहेको उहाँको भनाई छ ।

बागलुङतर्फबाट भने एकतर्फी रुपमा गाडि रुकुम पूर्व आइरहेका छन् । बागलुङ जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर सकभर उतापट्टीबाट पनि यस खण्डमा सवारी सञ्चालनमा रोक लगाउने प्रयास गरिरहेको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  ०८:०१
प्रतिक्रिया दिनुहोस्