Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बार्गेनिङ गर्ने र तथ्यहिन समाचार लेख्ने बिरुद्ध उजुरी माग

tribeni2

काठमाडौ / प्रेस काउन्सिल नेपालले विज्ञापनको लागि ‘बार्गेनिङ’ गर्ने र तथ्यहिन समाचार लेख्ने गुनासाहरु बढेकोले त्यस बिरुद्ध उजुरी दिन अपिल गरेको छ ।

प्रेस काउन्सिल नेपालका सूचना अधिकारी एवम् उप–प्रशासकीय अधिकृत रामशरण बोहराले आज एक प्रेस विज्ञप्ती जारी गरेर तथ्यहीन सामग्री प्रकाशन/प्रसारण भएमा प्रमाणसहित प्रेस काउन्सिल नेपालमा उजुरी दिन अनुरोध गर्नुभएको हो ।

पछिल्लो समय कतिपय सञ्चार माध्यम तथा सम्बद्ध व्यक्तिबाट विज्ञापनको अनावश्यक दबाब एवम् अन्य ‘बार्गेनिङ’ गर्ने र विज्ञापन दिन अस्वीकार गरेमा तथ्यहीन तथा आधारहीन समाचार आएको भनि गुनासाहरु आएको भन्दै काउन्सिलले उजुरी दिन अपिल गरेको हो ।

विज्ञप्तीमा सञ्चार माध्यम एवम् सम्बद्धबाट हुने त्यस्ता क्रियाकलाप प्रचलित कानुन, पत्रकार आचारसंहिता विपरीत हो र पत्रकारिताकोे दुरुपयोग भएको उल्लेख छ । समग्र प्रेसलाई धुमिल्याउने त्यस्ता गतिविधि नगर्न/नगराउन तथा हुन नदिनेतर्फ सजगता अपनाउन प्रेस काउन्सिल नेपाल सम्वद्ध पक्ष ध्यानाकर्षण समेत गराएको छ ।

काउन्सिलले मिडिया तथा सम्बद्ध पक्षको नाममा हुने त्यस्ता क्रियाकलापबाट पीडित जो कोहि सजग रहन अनुरोध गरेको छ ।

प्रेस काउन्सिल नेपालले प्रेस काउन्सिल ऐन, पत्रकार आचारसंहिता बमोजिम काउन्सिलमा प्राप्त हुने उजुरी तथा जनगुनासाहरूको सुनुवाई गर्नुका साथै सञ्चार माध्यमबाट सम्प्रेषित सामग्रीहरूको नियमित स्वअनुगमन समेत गर्दैै आइरहेको छ ।

प्रेस काउन्सिल ऐन, २०४८ र पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) बमोजिम कुनै सञ्चार माध्यमबाट सम्प्रेषित समाचार तथा समाचार सामग्रीबाट पीडित पक्षले प्रेस काउन्सिल नेपालमा उजुरी दिने व्यवस्था रहेको छ ।

प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १७:०१
प्रतिक्रिया दिनुहोस्