Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पुथामा गत बर्ष भुक्तानी हुन नसकेका २४ योजनाको यस बर्ष भुक्तानी हुने

२०७८ पुस २५
tribeni2

रुकुम पूर्व / जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकाले गत आर्थिक वर्षमा बजेट विनियोजन भएका तर विविध कारणवस भुक्तानी हुन नसकेका योजनाहरुको स्रोत एकिन गरी चालु आर्थिक वर्षमा भुक्तानी गर्ने भएको छ । आज भएको गाउँ कार्यपालिकाको बैठकले गत बर्ष भुक्तानी हुन नसकेका विभिन्न २४ ओटा योजनाको भुक्तानी आवश्यक अध्ययन गरेर दिने निर्णय गरेको हो ।

गाउँपालिकाले विभिन्न वडा कार्यालयको भवन निर्माण, सडक, लघु जलविद्युत आयोजना, सहकारी भवन, प्रहरी चौकी फील्ड निर्माण, सहकारी मोडेलमा स्याउ खेती प्रवद्र्धन कार्यक्रम, प्रशासकीय भवन, डिम्मुरगैरा तातोपानी, रिसला एयरपोर्टको डिपिआर एवम् शिक्षा सम्बन्धी अध्ययन लगायतका कार्यक्रमको भुक्तानी दिने निर्णय गरेको हो ।

यी योजनाहरुको भुक्तानी दिनको लागि विभिन्न शिर्षकहरुबाट २ करोड ८१ लाख रुपैयाँ रकमान्तर गरिने भएको छ ।

बैठकले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि राष्ट्रिय योजना आयोगबाट विशेष अनुदान वापत चालु आर्थिक वर्षमा प्राप्त रकम रु १ करोड ९१ लाखबाट सञ्चालन गर्न सकिने विभिन्न योजनाहरुको गाउँपालिका कृषि तथा पशु सेवा शाखाबाट प्रस्तावित विनियोजित बजेटहरुलाई अनुमोदन गर्ने निर्णय कार्यपालिकाले गरेको छ ।

कार्यपालिका बैठकले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका लागि योजना छनोट गरेको छ भने फेयर मेड फाउण्डेशनसँग सम्झौता भएबमोजिमको कार्यक्रम सञ्चालनका लागि बर्थिङ सेन्टर, ल्याब स्थापना तथा मर्मत सम्भारका लागि स्वास्थ्य चौकी, हुकाम, तक, जाङ र राङ्सीलाई सिफारीस गरिने भएको छ ।

यस्तै सशर्त अनुदान, विशेष अनुदान एवम् समपुरक अनुदानवापतको बजेटअनुरुपको काम हुन नसकि फिर्ता गर्नुपर्ने प्रक्रियागत बजेटलाई सोधभर्ना गर्नेगरी गाउँसभाबाट अनुमोदन गर्नका लागि सिफारिस गर्ने निर्णय कार्यपालिकामा भएको छ ।

हालसम्म गाउँपालिकाको ब्याक हो लोडर र एक्जाभेटर प्रयोग गरी भुक्तानी दिन बाँकी संघ, संस्था तथा व्यक्तिहरुलाई १ हप्ताको पत्राचार गर्ने र कुनैपनि जवाफ नआएमा गाउँपालिका थप कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।

गाउँपालिकाभित्र आगामी आर्थिक वर्षको लागि रु २० लाख भन्दा कमका योजनाको कार्यान्वयन उपभोक्ता समितिमार्फत गराउने र रु २० लाख भन्दा माथिको योजनाको कार्यान्वयन टेण्डर प्रक्रियामा लैजाने निर्णय भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयबाट चालु आर्थिक वर्षमा स्वीकृत वार्षिक कार्यक्रमअनुसार यस गाउँपालिकामा गलैचा बुनाई कार्यक्रमको लागि वडा नं. १, अल्लोको लागि वडा नं १४ र कोशेली घर निर्माणको लागि वडा नं ८ लाई तोकिने निर्णय गरियो ।

यस्तै गाउँपालिकाको आन्तरिक स्रोतबाट १ करोड २५ लाख समपूरक बजेटको लागि विनियोजन गर्ने निर्णय भएको छ । पुथाउत्तरगंगा गाउँपालिकाको गाउँसभा माघ महिनाको १७ गतेको लागि आह्वान गर्दै निर्णय समेत भएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  २१:०१
प्रतिक्रिया दिनुहोस्