सोसल मिडिया
हामी पढ्छौ कि नेपाली काङ्ग्रेसले देशमा राणाशासन, पन्चायत र राजतन्त्रको विरोधमा एक प्रकारको आँधी ल्यायो, चेतना ल्यायो र काँग्रेसकै नेतृत्वमा परिवर्तन भयो । यसर्थ पनि काँग्रेसजनहरु गर्व गर्छन् कि २००७ सालमा जनक्रान्तिको जग निर्माण गरेको पार्टीले अहिले पनि लोकतान्त्रिक संघीय नेपालको नेतृत्व गरिरहेको छ ।
केही दिन अघि पार्टीको केन्द्रिय महाधिवेशन भयो । त्यस अघि जिल्ला अधिवेशन, पालिका अधिवेशन, वडा अधिवेशन भए । रुकुम पश्चिमको सातौ अधिवेशनले भने अनौठौ हर्कत छताछुल्ल बनायो । अरुबाट हैन, असली काँग्रेसहरुबाट नै । पार्टी सुदृढीकरण र नयाँ नेतृत्व निर्माण भन्दै अधिवेशन गरेको काङ्ग्रेसमा विभिन्न उतारचढावहरु आए ।
रुकुम पश्चिममा यतिबेला माओवादी केन्द्रको एकछत्र राज छ । वडा, पालिका, प्रदेश, केन्द्र सबै ठाउँमा माओवादी केन्द्रका उम्मेदवारहरु विजय भएको सरकार छ । माओवादीका लागि यस्तो सुनौलो मौका हुँदा पनि जनताले फरक नेतृत्व खोजिरहेको बेला काँग्रेस रोजाईमा आउने बेला थियो । असल नेता, काम, योजना र व्यवहारले हैन कि माओवादी नेतृत्वबाट अािजत बनेका जनताले विकल्पको रुपमा काँग्रेस रोज्ने माहोल बन्दै थियो । वडा र पालिका अधिवेशन सकेर जिल्ला अधिवेशन उद्घाटनको बेला सम्म काँग्रेस कार्यकर्ताको मुहारमा उत्साह थियो, आशाका किरण थिए, अरुहरुलाई पनि आकर्षण थियो । तर जब लेनदेनमा पद बेचिएको, नाताबाद र धनबादसँग पल साटिएको आरोप सहितका अडियो, चेक सार्वजनिक भए काँग्रेस कार्यकर्ताको मुहार निन्याउरो हुन थालेको प्रष्ट देखियो ।
अरु पार्टीहरुलाई ‘खुचिङ’ भन्ने मौका प्रशस्त भयो । आफ्नै पार्टीका जिम्मेवार कार्यकर्ताले खोईरो खनेर सामाजिक सञ्जाल भर्न थाले । यतिसम्म कि केन्द्रिय सदस्य बनेका मानबहादुर नेपाली, प्रदेश महामन्त्री बनेका कृष्णबहादुर रोकाय, पूर्व राज्यमन्त्री गोपाल जि जंग शाह र जिल्ला पार्टी सभापति प्रेम प्रकाश ओलीलाई गाउँमा बहिष्कारको हल्ला फिजाईयो, आफ्नै कार्यकर्ताबाट ।
राननीतिमा इमानदार र स्वच्छ छवि बनाएका भनिएका धिरेन्द्र बटाला, खड्कबहादुर डाँगी, गोरख चन्द, शिव आचार्य, तारक केसी, बिरबहादुर ओलीहरु पाखा लगाईएपछि कार्यकर्ताहरु हतास भए । कार्यकर्ताले आशा गरेका उहाँहरु नै मौन बस्नले काँग्रेस ‘कुँजिदै’ जाने अवस्थामा आएको स्वयम् कार्यकर्ताको भनाई छ ।
रुकुममा माओवादी राजको विकल्पका रुपमा काङ्ग्रेस पार्टी नै उभिएको थियो । स्वभावैले सरकारमा रहेको पार्टी प्रती जनताको गुनासो बढ्दो हुन्छ । यसैकारण रुकुमेलिको काँङ्ग्रेस पार्टी प्रतिको लगाव पनि बढेको जस्तो देखिन्थ्यो । आफ्नो पार्टीको क्रेज अघि सारेको र माओवादीको विकल्पमा आफुलाइ उभ्याएको काङ्ग्रेस पार्टीले जिल्ला अधिवेशन र महाधिवेशन प्रतिनिधि छनोटमा जुन चरित्र देखायो त्यसबाट काँङ्ग्रेस अझैपनी पछारिने अवस्थामा आएको आँकलन छ ।
राजनीतिमा रमाएका जिल्लाका टप नेताहरुलाइ नै एकाएक पैसा, पद र अनेक प्रलोभनका प्रभाव परेको हुन सक्छ भन्ने चर्चा–परिचर्चा आफ्नै पार्टीका जिम्मेवार नेता कार्यकर्ताहरुले गर्दै हिड्नु र केही प्रष्ट काण्डहरु (अडियो, चेक) नै बाहिरिनुमा दलभित्रको चिन्ताजनक स्थिति हो । आगामी स्थानीय तहको निर्वाचनमा आफुलाई अब्बल साबित गर्न तम्सिएको काङ्ग्रेस भित्र यतिबेला खैलाबैला मच्चिएको छ । आफ्नै खास कार्यकर्ताहरुलाई निराशा, कुण्ठा, आरोप बोकाउन सिकाएर अघि लम्किन खोजेको पार्टी के साच्चै अब जिल्लामा माओवादीको विकल्पमा उभिएला ? यक्ष प्रश्न छ ।
लोकतन्त्रप्रति प्रतिबद्ध नेतृत्व आवश्यक छ भनेर खोक्ने नेताहरु नै नातावाद र कृपावादमा लिप्त भएर मुछिएको काङ्ग्रेसकै कार्यकर्ताहरु गुनासो गरिरहेका छन । काङ्ग्रेस पार्टी निर्माण गर्दागर्दै आफ्नो जीवन खेर फालेका अर्थात पार्टी निर्माणकै लागि आफ्नो रगत र पसिना बगाएका कार्यकर्ता माथी नै रातारात नेताहरुले ठूलो राजनीतिक अपराध र बेइमानी गरेको भन्दै आफ्नै कार्यकर्ताले पार्टी नेतृत्वको खोईरो खन्न थालेपछि काँग्रेसमा थप समस्या पैदा भएको छ । यसले आफ्नै घर जलाएर खरानीको व्यापार गर्न खोजेको जस्तो संकेत दिईरहेको छ । अधिवेशनमा देखिएको काङ्ग्रेसि चरित्रले यतिबेला आफ्नै कार्यकर्ता नै खुसी देखिदैनन आफ्नै कार्यकर्ताहरु नै पार्टीप्रतीको मोह मरिसकेको बताउँछन ।
‘इमानको राजनीति अब काङ्ग्रेसमा सकिएछ, अब त मलाइ बिपिको कार्यकर्ता हुँ भन्न पनि मन छैन, म काङ्ग्रेस हौ भनेर भन्ने ठाउँ मेरा नेताहरुले मेटिदिए, मैले आज सम्म पार्टीका लागि गरेको त्याग, तपस्या र जीवन समर्पणको बदलामा नेताहरुको घिनलाग्दो हर्कत पाए , इमानदार कार्यकर्ता पाखा लाग्नुपर्यो, अवसरवादिहरु नजिक आए लाखौ पैसासङ्ग पद साटियो, अब हामी जस्ता पार्टी प्रती बफादार कार्यकर्ताको कुनै मतलब छैन ....’ यी तमाम् गुनासा काँग्रेस कार्यकताले छरपस्ट पारेका छन् । लाग्यो, काङ्ग्रेसि नेता र कार्यकर्ताले मरिमेटी जोगाएको पार्टीको क्रेज त अधिवेशनमै सक्काएछन ।
पार्टीका मुख्य नेताहरुको अनैतिक र मर्यादाहीन कदमलाई परिवर्तनको पक्षमा उभिएका आम मतदाताहरुले अलिकति पनि मन पराएका छैनन् । माओवादीको विकल्पमा उभिएको काङ्ग्रेसलाई आगामी निर्वाचनमा यी तमाम कुराहरुले कति फरक पर्ला ? त्यो त हेर्न बाकी नै छ । आफ्नै बाट यसरी आन्तरिक कुराहरु पर्दाफास हुनु दुर्भाग्यपूर्ण शृङ्खला भएको पनि काङ्ग्रेसप्रती आस्था राख्ने केही बुद्धिजीवी वर्गहरु बताउँदै आएका छन । काङ्ग्रेस पार्टीप्रती गरेको त्याग, समय र लगानीको उपहार स्वरुप नेताहरुले आफुमाथी ठूलो घात गरेको र ती घातहरु माफि दिन लायक नभएका पनि कार्यकर्ताहरुको गुनासो सुनिन्छ ।
अधिवेशन अघि विभिन्न गुट–उपगुटको माध्यमद्वारा विभाजित नेपाली काङ्ग्रेसको पालिका अधिवेशनमा जसरी नेतृत्वहरु आए त्यतिबेलाको अवस्था हेर्दा लाग्थ्यो साच्चै काङ्ग्रेस सुधार भएर आएको छ । काङ्ग्रेसी मनहरु प्रजातान्त्रिक संस्कार र चरित्रमा सुधार भएको आशा र अपेक्षामा लिप्त थिए । तर जिल्ला अधिवेशन र महाधिवेशन प्रतिनिधि छनौटका बेला जुन काण्डहरु बाहिरिएका छन ती काण्डहरुले काङ्ग्रेस पार्टीलाई झन पछि नधकेल्ला भनेर यसै भन्न सकिने अवस्था छैन ।
नेता कार्यकर्ताहरु एकआपसमा आत्मसमिक्षा गरेर सुधार्ने मौका दिन्छन वा अझै पनि अहिले बाहिर आएका जस्ता हर्कतहरु नेताहरुले दोहो¥याउछन र कार्यकर्ताहरुले बहिस्कार जस्ता कुराहरु सार्वजनिक रुपमै फेरि गर्न थाल्छन त्यो हेर्न बाकी नै छ ।
(लेखक शर्मा मूलपाटी डटकमको उप सम्पादक हुनुहुन्छ)