Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सङ्कटका बेला उद्योगधन्दा, जनता र बैंकलाई बचाउनुपर्छ : अर्थमन्त्री शर्मा

दक्षिण कोरिया लगायतका देशमा शाखा खोल्न बैंकहरूलाई आग्रह
tribeni2

काठमाण्डौ / अर्थमन्त्री जनार्दन शर्माले सङ्कटका बेला उद्योगधन्दा, जनतालाई र बैंकलाई बचाउनुपर्ने बताउनुभएको छ । आज सोमवार काठमाण्डौमा बैंक तथा वित्तीय परिसङ्घ नेपाल (सीबीफिन) को दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले सङ्कटका बेला बढी नाफामुखी हुन नहुने समेत बताउनुभएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले गरेको मागअनुसार ३० प्रतिशत करबाट केही घटाउन सकिने उल्लेख गर्नुहुँदै मन्त्री शर्माले बैंकहरूले पनि सङ्कटका बेला बढी नाफा लिनुपर्छ भन्ने मानसिकताबाट मुक्त हुनुपर्नेमा जोड दिनुभयो । मन्त्री शर्माले सङ्कटका बेला मिलेर एकले अर्कालाई बचाउनु पर्ने बताउनुभयो ।

उहाँले देशको गार्हस्थ्य उत्पादनमा बैंक तथा वित्तीय क्षेत्रको ठूलो योगदान रहेको चर्चा गर्नुहुँदै सङ्कटका बेला सरकार, निजी क्षेत्रलगायतले एकले अर्कालाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । ‘मुख्य समस्या–सङ्कटका बेला पनि बढी नाफा लिनुपर्छ भन्ने प्रवृत्ति हो’, उहाँले भन्नुभयो, ‘यो प्रवृत्तिगत समस्यालाई समाधान गर्नका लागि एकअर्काका समस्या बुझेर सहयोग गर्नुपर्छ ।’

त्यस्तै मन्त्री शर्माले दक्षिण कोरियालगायतका देशमा शाखा खोल्न बैंकहरूलाई आग्रह गर्नुभयो । कोरिया, जापान, इजरायललगायतका देशबाट अनौपचारिक माध्यमबाट रेमिट्यान्स आउने गरेको सूचना प्राप्त भएको भन्नुहुँदै उहाँले ती देशमा शाखा खोल्न आग्रह गर्नुभएको हो । त्यसले रेमिट्यान्स औपचारिक माध्यमबाट भित्र्याउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री शर्माले व्यवसाय पनि विशिष्टिकृत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । बैंकिङ क्षेत्र तथा उद्योग क्षेत्र पनि एकै व्यक्तिले सञ्चालन गर्दा गोलमटोल भएको भन्नुहुँदै उहाँले विशिष्टीकरण गर्नुपर्नेमा जोड दिनुभयो । ‘आफूले आफैँलाई ऋण दिने÷लिने देखिएको छ’, उहाँले भन्नुभयो, ‘यसले गर्दा ब्याजलगायतका तथ्याङ्क सही रूपमा आएनन् ।’

उहाँले विद्यमान तरलताको अभाव एक महिनाभित्र समाधान हुने पनि बताउनुभयो । अहिले देखिएको तरलताको चाप माघभित्र समाधान हुने मन्त्री शर्माको भनाइ छ । ‘अर्थतन्त्रमा केही चाप परेको पक्कै हो, तर बाहिर प्रचार गरिएजसो सङ्कट आइसकेको छैन’, उहाँले भन्नुभयो, ‘सचेत हुने अवस्थामा चाहिँ छ । तरलताको जुन अभाव देखिएको छ, यो माघभित्र समाधान हुने गरी कार्य अघि बढाइएको छ ।’ कोभिड १९ का कारण दुई वर्षसम्म व्यवसाय गर्न नपाएका व्यवसायीले वित्तीय संस्थाहरूबाट एकै पटक ठूलो परिमाणमा ऋण प्रवाह हुँदा यस्तो चाप परेको उहाँले बताउनुभयो ।


यसैगरी कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिए पनि अब लकडाउनको बाटो अपनाउन नहुने उहाँले बताउनुभयो । लकडाउन गर्दा देशको अर्थतन्त्र सङ्कटग्रस्त हुने भन्नुहुँदै लकडाउन गर्न नहुने उहाँको भनाइ रहेको छ । ‘फेरि लकडाउन हुन्छ कि भन्ने आशङ्का कतिपयमा रहेको छ’, उहाँले भन्नुभयो, ‘अब हामीले लकडाउनको बाटो अपनाउनु हुँदैन । फेरि लकडाउनको बाटो अपनायौँ भने हाम्रो अर्थतन्त्रले थेग्न सक्दैन ।’

 

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  १६:०१
प्रतिक्रिया दिनुहोस्