Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एक करोड लगानी भएको खानेपानी योजना पुरा नहुँदै लथालिंग

tribeni2

रुकुम पश्चिम / साबिक जिल्ला विकास समिति हुँदै निर्माण कार्य सुरुवात गरिएको जिल्लाको एक खानेपानी आयोजना हाल लथालिंग अवस्थामा छ ।

जिल्लाको चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाका जनताहरुलाई खानेपानीको सुविधा दिन सुरु गरेको पाखापानी- लुगाधुनेखोला ग्रामी‌‌‌ण सौर्य उर्जा खानेपानी आयोजना सुरु गरेको ६ बर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन ।

बैकल्पिक उर्जा केन्द्र खुमलटार‍ बेस कार्यालय दाङ, साबिक जिल्ला विकास समिति रुकुम र नुवाकोट तथा अर्माको आर्थिक सहयोगमा सुरुवात भएको उक्त आयोजना सम्पन्न नहुँदै अस्तव्यस्त बनेको छ ।

२०७२ सालबाट चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाका एक सय ३० घरधुरीको लागि एक घर एक धारा नारा सहित काम सुरुवात भएको थियो ।
जसोतसो जडान भएका धारामा तीन दिनको एक पटक आउने गरेको चौरजहारी नगरपालिका १४ का बेदबहादुर ओलीले बताउनुभयो । उहाँका अनुसार घरमा ठुला भाँडा हुनेले भर्छन अरुले एकदिनलाई मात्र पुग्नेगरी पानी पाउने गरेका छन् ।

सानीभेरी गाउँपालिका वडा नम्वर १० का धनविर खड्काले पाईप लाइन विस्तार गरेपनि समान रुपमा पानी नआएको, बिचबिचमा पाईप चुहिएको र पर्याप्त पाईप नभएको गुनासो गर्नुभयो ।

यस बिषयमा चौरजहारी नगरपालिका वडा नम्वर १४ का वडा अध्यक्ष अतिराम बिष्टले दुई पालिकाको साझेदारीमा कार्य सञ्चालन भएकोले बराबर रकम हालेर काम पुरा गर्नुपर्ने बताउनुभयो । खानेपानी समिति उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने र प्राविधिक ल्याएर समस्या समाधान गर्नुपर्ने वडाअध्यक्ष बिष्टको भनाई छ ।

पुरानो समितिका अध्यक्ष धनसिं खड्का दाङ बसाइसराइ गरि गएको र नयाँ समितिपनि सक्रिय हुन नसकेकोले खानेपानीको योजना पुरा गर्नतर्फ कसैको चासो नभएको बताईएको छ । स्थानीयवासीले भने स्थानीय सरकारले तत्काल उक्त योजना सम्पन्न गर्नमा चासो दिने विश्वास रहेको जनाएका छन् ।

प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  १२:०१
प्रतिक्रिया दिनुहोस्