Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमपूर्व अस्पतालबाट स्वास्थ्य बिमा सेवासँगै रेबिज भ्याक्सिन र सुरक्षित गर्भपतन सेवा सुरु

२०७८ पुस २९
tribeni2
रुकुमपूर्व अस्पतालबाट स्वास्थ्य बिमा सेवासँगै सुरक्षित गर्भपतन र रेबिज विरुद्धको भ्याक्सिन सेवा प्रवासुरु भएको छ । रुकुमपूर्व अस्पतालबाट थप नयाँ तीन सेवा दिन थालिएपछि आज विधिवत रूपमा सेवा प्रवाहको उद््घाटन गरिएको हो ।
रुकुमपूर्व अस्पतालबाट पहिलो पटक नयाँ थप तीन सेवा प्रवाह गरिएको छ । स्वास्थ्य बिमा सेवा, १० हप्ता सम्मको सुरक्षित गर्भपतन र रेबिज विरुद्धको भ्याक्सिन सेवा प्रवाह गरिएको हो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फत्तेकुमारी ओली, सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बराल र प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले संयुक्त रूपमा अस्पतालले थप गरेको नयाँ सेवा प्रवाहको उद्घाटन गर्नु भएको हो ।
अस्पताल स्थापना भएको दुई वर्षपछि स्वास्थ्य बिमा, सुरक्षित गर्भपतन र रेबिज विरुद्धको भ्याक्सिन सेवा प्रवाहले थप नागरिकको स्वास्थ्य उपचारमा सहज भएको सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालले बताउनुभयो ।
सेवा दिन सुरु गरिएसँगै आम नागरिकलाई सेवा अवस्थाबारे बुझाउन पनि उत्तिकै आवश्यक रहेको अध्यक्ष बरालले बताउनुभयो । जिल्लामै स्वास्थ्य बिमा सेवा प्रवाहले मुख्य रूपमा सामान्य घरपरिवारका व्यक्तिलाई स्वास्थ्य उपचारमा राहत मिल्ने अध्यक्ष बरालको भनाइ रहेको छ ।
अब जिल्लाबासीका सबै घर परिवारले स्वास्थ्य बिमा गरी नेपाल सरकारको स्वास्थ्य बिमा बोर्डले उल्लेख गरे अनुसारको स्वास्थ्य उपचार सेवा लिन आम नागरिकलाई अध्यक्ष बरालले अनुरोध समेत गर्नु भएको छ ।
नयाँ सेवा प्रवाहलाई अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले तदनुरूप भएर नागरिकलाई सेवा दिनु हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फत्तेकुमारी ओलीले बताउनुभयो ।
स्वास्थ्य जस्तो संवेदनशील सेवा प्रवाहमा अस्पताल परिवारले कुनै पनि कन्जुस्याइँ नगरी सेवा दिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ओलीको भनाइ रहेको छ । ५ सदस्य रहेको एक घरपरिवारले एक वर्षअवधिका लागि ३ हजार ५ सय रुपैयाँको बिमा गरे वापतको एक लाख रुपैयाँ बराबरको स्वास्थ्य उपचार गर्न पाउने छन् ।
यसैगरी ५ सदस्यीय भन्दा धेरै सदस्य रहेको घर परिवारले प्रति व्यक्ति ७ सय रुपैयाँका दरमा बिमा गर्ने र एक लाख रुपैयाँसँगै थप प्रति व्यक्ति २० हजार रुपैयाँका दरमा स्वास्थ्य उपचार पाउने स्वास्थ्य बिमा दर्ता अधिकृत सपना पुन विष्टले जानकारी दिनुभयो ।
रुकुमपूर्व अस्पतालका प्रमुख डाक्टर गणेश चौधरीको अध्यक्षतामा उद्घाटन कार्यक्रम गरिएको थियो ।
रुकुमपूर्व अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ओलीको प्रमुख आतिथ्यता रहेको थियो । सिस्ने गाउँपालिकाका अध्यक्ष बराल र प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाको विशेष आतिथ्यता रहेकोमा अन्य विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेकोमा कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय रुकुमपूर्वका सूचना अधिकारी निमप्रसाद गिरीले गर्नु भएको थियो ।
 
प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  १२:०१
प्रतिक्रिया दिनुहोस्