Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चिन्तुमा ‘टाउको दुख्या औषधि नाईटोमा’

प्रयोगविहिन बाटोमा दुई लाखको ग्राभेल
tribeni2
  • गोपालसिं खड्का

रुकुम पश्चिम / नेपालीमा एउटा उखान छ, ‘अर्थ न पर्थ गोबिन्द गाई, टाउको दुख्या औषधि नाईटोमा लाई ।’ ठ्याक्कै यसै उखानसँग मेल खान्छ रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको वडा नम्वर १० मा भएको सडकको अवस्था ।

आवश्यकता एकातिर, काम अर्कै तिर । हिलाम्मे सडक छोडेर प्रयोग बिहिन बाटोमा ग्राभेल । देख्दा र सुन्दा पनि अचम्म लाग्ने गरी यहाँ एक सडक ग्राभेल गरिएको छ ।

सानीभेरी गाउँपालिका वडा नं. १० चिन्तु जोगीगारेमा रहेको प्रयोगविहिन गाउँघर क्लिनिक जाने बाटो हालै ग्राभेल गरिएको छ । ‘उक्त बाटो ग्राभेल नगर्ने भन्न खोजेको हैन,’ स्थानीय भन्छन्, ‘वडाका सबैजसो बाटो पानी पर्दा हिलाम्य, नपर्दा धुलाम्य भएर हिड्न नमिल्ने भएको वडा कार्यालयले देखेपनि नदेखे जस्तो गर्यो ।’

गाउँघर क्लिनिक जाने करिब ५० मिटर बाटोमा मुख्यमन्त्री रोजगार कार्यक्रमको झण्डै दुई लाख बजेट खर्च गरिएको छ । उक्त गाउँघर क्लिनिक भने दुई बर्ष पहिला बनिसक्दा पनि प्रयोगविहिन छ । उक्त भवन बनाउँदा काम गरेका कामदारहरुले हालसम्म पनि पैसा पाएका छैनन् । 

'गाँउघर' बनाएका मजदुरले दुई बर्षसम्म पाएनन् ज्याला

सडक बिग्रेको वा भत्केको ठाउँमा मर्मत गरिएको, सडक चलिरहने ठाउँमा खाल्डाखुल्डी भए पुरिएको वा ग्राभेल गरेको थाह पाएका स्थानीयवासी प्रयोग नै नभएको बाटो ग्राभेल गरेको देखेर अचम्मित भएका छन् । सधैं यातायातका साधन गुड्ने ठाउँमा हिलाम्मे तथा जोखिम भईरहेको देख्दादेख्दै प्रयोग बिहिन ठाउँमा सरकारको ढुकुटी खर्च भएको छ ।

सधैं मोटरसाइकल, टयाक्टर ,जीप लगाएत साधन चल्ने ठाउँको बाटोको ध्यान नदिदाँ जनताहरु स्थानीय सरकार प्रति रुष्ट बनेका छन् । स्थानीय व्यापारी नरबिर ओलीले बिना कामको बाटोमा लगानी खेर फाल्नु भन्दा हिलाम्मे सडकमा ग्राभेल गरिदिएको भए राम्रो हुने बताउँनुहुन्छ । स्थानीय सरकारले आवश्यकता बोध गर्न नसकेको उहाँको भनाई छ ।

सरस्वती माध्यमिक बिद्यालयका शिक्षक टिकाराम खड्काले बिद्यालयमा आउजाउ गर्दा बाटोको हविगत देखेर बिरक्त लाग्ने गरेको जनाउँनुहुन्छ । ‘मोटरसाइकल चलाउदा कति खेर के हुन्छ भन्न नसकिने अवस्था छ’ शिक्षक खड्काले भन्नुभयो, ‘पालैपालो समातेर मोटरसाईकल झार्ने उकाल्ने गर्छाै ।’

वडा सरकारले यस्तो बाटो मर्मत तथा ग्राभेल गर्न छोडेर प्रयोगमा नआएको बाटोमा लगानी गरेको उहाँको प्रतिक्रिया छ ।

प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  ११:०१
प्रतिक्रिया दिनुहोस्