Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

६ सय रुपैयाँको सकस र एक क्रियाशील पत्रकारको दुखान्त

tribeni2
  • केशव भुल 

गत बिहीबार पत्रकार एलबी विश्वकर्माले फेसबुकमा आफ्नो ताजा तस्वीर पोष्ट गर्दै लेखेका थिए– जिवित छु । तर, उनको यो पोस्ट एक सातामै असान्दर्भिक बनेको छ ।

विश्वकर्माको हिजो आकस्मक निधन भयो । निकटस्थहरुले उनको निधनमा अस्पताललाई दोष दिएका छन् । साथै, आर्थिक अभावका कारण उनले उपचार नपाएको भनेर पनि पत्रकारहरुले सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् । हामीले यसको यथार्थ विवरण ल्याउने प्रयास गरेका छौं ।

टिभी टुडेमा काम गर्ने पत्रकार विश्वकर्मा १५ दिनअघिसम्म नियमित कार्यालय आएर काम गरिरहेका थिए । देशमा कोरोनाको तेस्रो लहर सुरु भएसँगै उनलाई पनि सामान्य ज्वरो र रुघाखोकी लाग्यो । श्वास प्रश्वासमा पनि असहजता महसुस भएपछि उनी कार्यालयमा बिदा लिएर घरै बसे ।

बीचमा केही समय व्यथाले अलि चापेपछि उनी माइलो भाइ गौतम विश्कर्मालाई लिएर बानेश्वस्थित निजामति कर्मचारी अस्पताल (सिभिल) आए । ओपीडीमा गएर चेकजाँच गराए । त्यसैअनुसार उनी इमरजेन्सीमा गए । तर आफूसँग भएको पैसा सामान्य चेकजाँचमा नै सकिएपछि उनी उपचार नगरेर घरतिर फर्किने निधोमा पुगे ।

घर जानुअघि उनले अस्पतालको प्रांगणबाटै रोजगारीको सिलसिलामा भारत रहेका आफ्ना बुवालाई फोन गरेर भने, ‘बुवा म बिरामी छु । अलिकति पैसा पठाइदिनु पर्‍यो ।’

बुवाले सकारात्मक जवाफ दिएपछि दाजुभाइ जडिबुटीमा रहेको डेरातिर फर्किए । उनीहरु घर पुग्नासाथ एलबीको मोबाइलमा म्यासेजको घण्टी बज्यो । बुवाले भारतबाट १० हजार पठाइदिएको नोटिस बैंकबाट आएको थियो ।

पैसा आएपछि दुवै भाइ फेरि कोटेश्वरबाट अस्पताल नै फर्किए । त्यसबेला बेलुकीको करिब ५ बजिसकेको थियो । उनीहरु सिधै इमरजेन्सी वार्डमा गए । त्यहाँ विभिन्न चेकजाँच भयो । चिकित्सकले पीसीआर गर्न सुझाव दिए । तर, एलबी पीसीआर गर्न अनिच्छुक थिए । भाइका अनुसार पैसाको सीमितताले नै उनले पीसीआर गर्न नचाहेका हुन् ।

चेकजाँच सकिएपछि केही औषधि बोकेर राति ११ बजे एलबी र भाइ गौतम टयाक्सी चढेर कोठा फर्किए । औषधि खालेपछि स्वास्थ्यमा केही सुधार आयो । उनी दुई दिन टिभी टुडेमा गएर काम पनि गरे । कार्यालय गएको दोस्रो दिन कार्यालयले उनलाई मासिक तलबको चेक दिएर पठाएको थियो । तर, त्यही नै कार्यालयमा उनको अन्तिम दिन बन्यो ।

बिरामी अवस्थामा पनि एलबीले कार्यालयको कतिपय स्कृप्ट लेख्नेलगायतका काम घरबाटै गरिरहेका थिए । केही दिनअघि इकागज डटकममा उनको पठाएको लेख बुधबार मात्रै छापिएको थियो । ‘बाजुराकी सप्पा नेपालीले भोकको समाधि लिएको थाहा नपाउने तपाईं कसरी ठूलो मान्छे ?’ शीर्षकको लेख अहिले पनि सो अनलाइनको होमपेजमै छ ।

बुधबार कलेज बन्द भएकाले एलबीसहित तिनै भाइ कोठामै थिए । कान्छो भाइले खाना पकाए । साँझ करिब ८ बजे खाना खाने बेला भयो । भाइले एलबीलाई खान बोलाए तर उनले आफूलाई रुची नभएको बताए । भाइहरु खना खान थाले भने एलबी उठेर शौचालयतिर लागे ।

शौचालय जादाँसम्म उनलाई ठिकै थियो । शौचालयबाट फर्किएपछि गाह्रो भएको बताए र छट्पटाउन थाले । निकै चापेपछि राति साढे नौ बजे माइलो भाइ गौतम ट्याक्सी खोज्न जडिबुटीको पेट्रोलपम्पतिर दौडिए । तर, पेट्रोलपम्प पुग्नासाथ कान्छो भाइको फोन आयो । दाइलाई अलि सञ्चो भएको सुनाउँदै उनले फर्किन भने ।

कोठा फर्किँदा घरबेटीले मूल ढोकामा चाबी लगाइसकेका थिए । गौतमले भाइलाई घरबेटीबाट चाबी मागेर ढोका खोल्न लगाए । एलबीले आफूलाई राति गाह्रो हुन सक्ने भन्दै चाबी आफैंसँग राख्न भने ।

एकछिनमा एलबीलाई फेरि सास फेर्न अप्ठेरो हुन थाल्यो । गौतमले अनलाइनबाट ट्याक्सी बुक गरे । अनि ट्याक्सीवालाले कल गरेपछि लोकेसन दिएर बोलाए । यतिबेलासम्म एलबीलाई धेरै गाह्रो भइसकेको थियो । उनी उठ्न सक्ने अवस्थामा पनि थिएनन् ।

गौतमले एलबीलाई पिठ्यूँ लगाएर दोस्रो तलाबाट पहिलो तलासम्म ओराले । एलबीले बीचमै बान्ता गरे । गौतमले उनलाई ट्याक्सी चढाए र कान्छो भाइलाई घरैमा बस्न भने । त्यतिबेलासम्म रातिको १० बजिसकेको थियो । एलबीलाई लिएर गौतम ट्याक्सी चढेर सिभिल अस्पतालको इमरजेन्सी कक्षमा छिरे ।

ट्याक्सीको बिल आयो ४ सय ५० रुपैयाँ । ट्याक्सीवालाले ५० रुपैयाँ छुट दिएर ४ सय रुपैयाँ लगे । इमरजेन्सीको बेडमा राख्नासाथ चिकित्सकले अक्सिजन दिन थाले । त्यतिबेलासम्म एलबीले आँखा हेरिरहेको र अलिअलि बोलचाल गरेको भाइ गौतम बताउँछन् ।

त्यसपछि अस्पतालको इमरजेन्सी वार्डले टिकटसहित चेकजाँच र औषधि गरेर ४ हजार एक सय रुपैयाँको बिल गौतमलाई थमायो । गौतमसँग ३ हजार ५ सय रुपैयाँ मात्र थियो । ६ सय रुपैयाँ अपुग भयो । बिल काट्ने कोठा नम्बर ७ मा पुगेर गौतमले अनुनय गरे, ‘सर मसँग अहिले ३५ सय रुपैयाँ मात्र छ । ४१ सयको बिल आएको रै’छ । नपुगेको पैसा बिहानसम्म जसरी पनि तिरौंला । अहिले मिलाइदिनुपर्‍यो ।’ तर, काउन्टरमा बसेकाले सकारात्मक जवाफ दिएनन् ।

गौतमका अनुसार ४१ सयको बिलमा पीसीआर परीक्षणसँगै रगत तथा अन्य विभिन्न परीक्षण र केही औषधि पनि लेखिएको थियो । दुई–तीनपटक काउन्टरमा पुगेर हारगुहार गर्दा पनि कसैले सुनवाइ नगरेको गौतमको भनाइ छ । उनले त्यहीँबाट भारतमा रहेका बुवालाई फोन गरेर त्यो कुरा सुनाए । बुवाले काउन्टरमा कुरा गर्न चाहे । गौतमले पनि बुवासँग कुरा गर्न काउन्टरका व्यक्तिलाई आग्रह गरे । तर, ती व्यक्तिले मानेनन् । त्यसपछि पीसीआर परीक्षण कटौती गरेर अरु परिक्षण र औषधिको ३ हजार २ सय ९० रुपैया गौतमले तिरे ।

इमरजेन्सी वार्डमा स्लाइन पानी चढाउनेदेखि विभिन्न औषधि दिने काम पनि भयो । त्यति गर्दा रातको करिब एक बजिसकेको थियो । एलबीलाई अस्पताल पुर्‍याएको पनि तीन घण्टा बितिसकेको थियो । उपचार चलिरहेकै समयमा त्यहाँ कार्यरत नर्सले गौतमलाई भनिन्, ‘तपाईंको मान्छेलाई धेरै नै गाह्रो भएको छ अर्को अस्पताल लैजाँदा राम्रो हुन्छ ।’

गौतमले चिकित्सकसँग गएर कुरा गरे । चिकित्सकले जवाफ दिए, ‘यहाँ आइसीयु बेड खाली छैन । अर्को कुनै अस्पतालमा लगे हुन्छ । तपाईंको बिरामीलाई गाह्रो भइसकेको छ ।’

गौतम एक्लै भएकाले उनलाई निकै सकस पर्यो । कहाँ लैजाने केही मेसो पाएनन् । इमरजेन्सी वार्डमा नै गौतमले सोधे, ‘आइसीयू बेड भएको हस्पिटल कुन हो ?’

वार्डका मान्छेले त्यहाँ टासिएको सूची हेर्न र फोन गर्न भने । सूचीको पहिलो नम्बरमा कुन अस्पतालको नाम थियो गौतमलाई अहिले सम्झना छैन, दोस्रो नम्बरमा भने पाटन अस्पतालको नाम थियो । गौतमले पाटन अस्पतालको नम्बरमा फोन लगाएर सोधे, ‘मेरो दाइ बिरामी हुनुहुन्छ, आईसीयू बेड छ कि छैन ।’ उताबाट जवाफ आयो, ‘बेड त खाली छैन होला । तर, बुझ्नै पर्छ ।’

गौतमले नजिकै रहेका अस्पतालका चिकित्सकलाई कुरा गर्न फोन दिए । अस्पतालका चिकित्सकले कुरा गरेपछि बेड रहेको जानकारी आयो । तर रातिको एक बजे कसरी अस्पताल पुर्याउने ? गौतम अलमलमा परे । उनले अस्पतालमा एम्बुलेन्स छ कि छैन भनेर बुझ्न खोजे । अस्पतालकी एक नर्सले १०२ नम्बरमा फोन गरेर निशुल्क एम्बुलेन्स सेवा लिने सकिने जानकारी गराइन् । गौतमले फोन गरेर एम्बुलेन्स बोलाए । एम्बुलेन्सवालाले पनि गौतमसँग अस्पतालको नम्बर मागेर आफैं फोन गरी बेड भएको पक्का गरे । करिब १५ देखि २० मिनेटको समयमा एम्बुलेन्स आइपुग्यो ।

गौतमले एलबीलाई एम्बुलेन्समा राखेर सिभिलबाट पाटन अस्पतालतिर लागे । एम्बुलेन्समा उनलाई अक्सिजन सपोर्टमा नै लगिएको थियो । त्यतिबेलासम्म पनि एलबीले आँखा हेरिरहेका थिए र हलचल गरिरहेका थिए । पाटन अस्पताल पुग्दा करिब साढे १ बजिसकेको थियो ।

उनलाई इमरजेन्सीमा लगेर अक्सिजन सपोर्टमा राखियो । तर पनि एलबीलाई गाह्रो भइरहेको थियो । इमर्जेन्सीमा राखेको करिब आधा घण्टापछि एलबीले भाइलाई ईशारा गरेर नजिक बोलाए । अंगोलमा बेस्सरी च्यापे र आफूलाई धेरै गाह्रो भएको संकेत गरे । गौतम आत्तिए । उनले छिटो दाइलाई आईसीयूमा लैजान अनुरोध गरे । तर, उनको अनुरोध कसैले सुनेन । नर्भस बनेका गौतमले हात जोड्दै पुकार गरे– ‘यहाँ मान्छे मर्न थालिसक्यो, चाँडो आइसीयूमा लिनुपर्यो ।’ त्यसपछि मात्र बल्ल आइसीयूमा लगियो । गौतम एलबीसँगै पछिपछि जान खोजे । तर, उनलाई जान दिइएन ।

एलबीलाई आइसीयूमा लगेर गौतमलाई दोस्रो तल्लामा बस्न भनियो । पहिलोपटक पाटन अस्पताल पुगेका गौतमलाई कुन पहिलो र कुन दोस्रो अत्तोपत्तो नै भएन । त्यहाँ डिउटीमा रहेका सुरक्षा गार्डलाई दोस्रो तल्ला भनेर पनि सोधे । उनले त्यताबाट इसारा मात्र गरे, र गौतमले कता हो भन्ने भेउ नै पाएनन् । गौतम इमरजेन्सीको वार्डको बाहिरपट्टि बेचैन बनेर यताउता गरिरहेका थिए । उनको मोवाइलमा फोन आयो । तुरुन्त आइसीयू बाहिर आउन भनियो । उनलाई आइसीयू कता छ भन्ने पत्तो थिएन । सुरक्षा गार्डको सहायतामा दोस्रो तल्लामा रहेको आइसीयू वार्ड अगाडि पुगे । त्यो करिब साढे ३ बजेको समयमा हो ।

उनलाई भित्र छिर्न दिइएन । आइसीयू वार्डको झ्यालबाट तपाईं लालबहादुरको मान्छे हो भनेर सोधियो । गौतमले मुन्टो हल्लाए । उताबाट भनियो– ‘माफ गर्नुहोला, हामीले तपाईको मान्छेलाई बचाउन सकेनौ । उहाँको मृत्यु भइसक्यो ।’

यतिसम्म भनेको मात्र याद छ गौतमलाई । उनको होस हवास उड्यो । त्यसपछि ती चिकित्सकले धेरै सम्झाउन खोजे । तर, गौतमलाई कसले के भन्यो कुनै सम्झना छैन ।

अलि सम्हालिएपछि उनले भारतमा बुवालाई फोन गरेर दाइको मृत्यु भएको सुनाए । लगत्तै आफ्नो घर अछामको रामारोशनमा छिमेकी दाइलाई खवर गरे । त्यसपछि एकैपटक बिहान अछाममै रहेकी भाउजू (एलबीको श्रीमती) लाई पनि बताए ।

एन्टिजेन र पीसीआर नेगेटिभ

एलबीको मृत्युअघि नै पीसीआर र इन्टिजेन परीक्षण गरिएको थियो । मृत्यु भएपछि आएको पीसीआर रिपोर्ट नेगेटिभ छ । बिहान एन्टिजेन परीक्षण रिर्पोट नेगेटिभ आएपछि दिउँसो पीसीआर परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको थियो । एलबीको मृत्यु कसरी भयो भन्ने खुलेको छैन ।

मृत्युपछि नेपाल प्रेसकर्मी पाटन अस्पताल पुगेर अस्पतालका निर्देशक डा. रवि शाक्यसँग बुझ्ने प्रयास गरेको थियो । शाक्यले २६ वर्षको व्यक्तिको मृत्यु भएको भन्ने खबर सुनेको तर विस्तृत जानकारी नभएकाले सम्बन्धित चिकित्सकसँग बुझ्न आग्रह गरे ।

हामीले अस्पतालका मेडिकल डाइरेक्टर डा. विमल पाण्डेसँग पनि सोध्यौं । उनले बिरामी ढिलो गरेर अस्पताल आएका कारण आफूहरुले बचाउन नसकेको बताए ।

उनले भने, ‘अक्सिजनको मात्र एकदमै घटिसकेको थियो । अस्पताल ल्याउँदा नै ढिलो भइसकेको रहेछ । सुरुमा इमरजेन्सीमा हामीले प्रयास गर्यौ । त्यहाँ नसकिने भएपछि आइसीयुमा पनि प्रयास गर्यौं । तर, बचाउन सकिएन ।’

पाण्डेका अनुसार पाटन अस्पताल ल्याउँदा एलबीको अक्सिजन लेभल ६५ मात्रै थियो । इन्सफेक्सन पनि धेरै फैलिसकेको उनको भनाइ छ ।

‘हाम्रोमा ल्याउँदा मुटु नै बन्द भइसकेको थियो । सिपिआर गर्दा पनि अक्सिजन फर्काउन सकिएन । मुटु पलाउने औषधि पनि दियौ, तर त्यसले पनि काम गरेन,’ उनले भने ।

अस्पतालले आइसीयूमा राख्न ढिलाइ नगरेको उनको भनाइ छ ।

डा. पाण्डेले भने, ‘अस्पताल पुर्याइसकेपछि आधा घण्टा लाग्नु भनेको सामान्य नै हो । कुनै बेला योभन्दा बढी समय लाग्छ ।’

पत्रकार महासंघद्वारा दु:ख व्यक्त

टिभी टुडेमा कार्यरत पत्रकार विश्वकर्माको निधनप्रति नेपाल पत्रकार महासंघले दुख व्यक्त गरेको छ । महासंघका महासचिव रोशन पुरीले बिहीबार साँझ एक विज्ञप्ती जारी गर्दै विश्वकर्माले सहज उपचार नपाउँदा निधन भएको सुनिएकाले यो अत्यन्त दुःखद र गम्भीर विषय भएको बताएका छन् ।

यस्तै श्रमजिवी पत्रकार संघ नेपालले पनि पत्रकार विश्कर्माको मृत्यु भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष जन्मदेव जैशीले बिहीबार साँझ एक विज्ञप्ती जारी गर्दै उपचारमा लापरवाही गर्ने अस्पताल र उपचार खर्च नदिने सञ्चार संस्थाको गैरजिम्मेवारीका कारण घटना भएको दावी गरेको छ ।

टिभी टुडे भन्छः आर्थिक समस्या सुनाएका थिएनन्

एलबीको मृत्यु भइसकेपछि उनले काम गर्दै आएको टिभी टुडेमाथि पनि धेरैले प्रश्न उठाएका छन् । टेलिभिजन प्रशासनले भने यसमा आफूहरुको कुनै कमजोरी नभएको बताएको छ ।

उनी सो टिभीमा वरिष्ठ सम्वाददाताका रुपमा कार्यरत थिए । करिव १५ दिनदेखि बिदामा भए पनि उनी टिभीको निरन्तर सम्पर्कमा रहेको टिभी टुडेका प्रधान सम्पादन अरुणदेव जोशीले बताए । टिभीले तलब तथा उपचार खर्च उपलब्ध नगराएको हो कि भन्ने आशंकालाई पनि उनले खण्डन गरे ।

‘बिचमा उहाँ कार्यालयमा दुई दिन आउनुभएको थियो । के कस्तो छ भनेर सोधपुछ पनि गर्यौ । उहाँले आर्थिक समस्या केही पनि भन्नुभएन । तर पनि हामीले २५ हजारको चेक काटेर उहाँलाई पठाएका हौं ।’

टिभी टुडेकै समाचार प्रमुख प्रदिप बस्नेतका अनुसार एलबी निरन्तर टिभीको सम्पर्कमा थिए ।

उनले नेपाल प्रेससँग भने, ‘एलबीजी घरमा बसेर भए पनि कहिलेकाहीँ स्कृप्ट लेखेर पठाउनुहुन्थ्यो । एउटा कार्यक्रम नै उहाँले नेतृत्व गरिरहनुभएकाले चाँडै काममा फर्किनुहोस भन्ने हाम्रो चाहना थियो । निधन भएको दिन दिउसो पनि एउटा स्क्रिप्ट पठानुभएको थियो ।’

समाचार प्रमुख बस्नेतलाई राति १२ बजे एलबीले कल गर्न खोजेका रहेछन् । तर, बस्नेतले राति थाहा पाएनन् ।

‘जब म बिहान उठेँ, त्यसपछि एकैपटक एलबीको भाइको म्यासेज अलर्ट पनि आयो । एलबीले कल गर्ने प्रयास गरेको म्यासेज थियो,’ उनले सुनाए ।

को हुन् एलबी विश्वकर्मा ?

अछामको रामारोशन गाउँपालिका वडा नम्बर ५ स्थायी घर भएको २६ वर्षीय लालबहादुर विश्वकर्मा एलबीका नामले चिनिन्थे । टिभी टुडेअघि उनले इमेज टेलिभिजन, जनता टेलिभिजन, मध्यान्न दैनिकलगायतमा काम गरेका थिए । त्यसअघि आफ्नै जिल्ला अछाममा रहेको रेडियो जनप्रियबाट उनले पत्रकारिता यात्रा सुरु गरेका हुन् ।

पत्रकारिता सुरु गर्नुअघि उनले अछामको विकट ठाउँ रामारोशनबाट सदरमुकाम मंगलसेनमा प्लम्बरको तीन महिने तालिम लिएका थिए । त्यसै मौकामा सदरमुकाम मंगलसेनमा आधारतभूत पत्रकारिता तालिम सञ्चालन भएपछि उनी त्यसमा सहभागी भएका थिए । करिब ७ वर्षदेखि क्रियाशील पत्रकारितमा रहँदा उनले जातीय विभेद र सामाजिक न्यायको पक्षमा कलम चलाउँदै आएका थिए । न्यायको पक्षमा लेख पनि प्रकाशन गर्दै आएका थिए । उनी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीनिकट पत्रकार संगठनको केन्द्रीय सदस्य तथा क्रियाशील दलित पत्रकार संघ उपत्यका समितिको उपाध्यक्ष पनि थिए ।

विश्वकर्माका ६० वर्षीय बुवा र ५५ वर्षीया आमा भारतमा छन् । उनी परिवारको जेठो छोरा हुन् । एलबीसहित उनका चार दाजुभाइ छन् । माइलो भाइ विनोद विश्वकर्मा भारतमा रोजगारी गर्दै आएका छन् । २० वर्षका साइलो भाइ गौतम र १७ वर्षका कान्छो भाइ धिरजसँग उनी काठमाडौंमा बसिरहेका थिए । गौतमले एलबीकै सहारामा काठमाडौंमा एक वर्षदेखि सिभिल इन्जिनियरिङ पढिरहेका छन् भने धिरज फार्मेसी पढिरहेका छन् ।

आर्थिक अवस्था कमजोर भएकाले उनको बुधबार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार पनि आफन्तजन र क्रियाशील दलित पत्रकार संघको सहयोगमा गरिएको छ । दुई भाइलाई घर जानका लागि पनि आफन्तजन र क्रियाशील दलित पत्रकार संघले नै समन्वय गरेर खर्च व्यवस्थापन गरिदिएको छ । 

- नेपाल प्रेस डटकमबाट

 

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १५:०१
प्रतिक्रिया दिनुहोस्