कविता - जीन्दगी

  • हेमन्त गिरी

नाङगो हुँदा देखिको साथी थियो किशोर !
लाग्थ्यो-
ऊ संगै ठूलो हुने हो !
ऊ संगै बूढो हुने हो !
के आइपर्यो खै,
उसका बा-आमा बसाई सरे
ऊ जान्छु पनि नभनी गइदियो !

ममता थिई र मायाको अर्थ थियो !
ओत लाग्न मन लागे पछ्यौरीको छानो बनाईदिन्थी,
निदाउन मन लागे पिठ्यूँमा ओछ्यान लगाइदिन्थी !
ऊ चाहिं खुब रोई डोली चढ्ने बेला !
लाग्यो-
अब फेरि मलाई बोक्न पाउँदिन भनेर रोई होली दिदी !
केही समय पछि काखमा भान्जा बोकेर आई

हाँस्दै हाँस्दै गई दिदी पनि !

बा त कहिं जानुहुन्न जस्तो लाग्थ्यो
किनकि,
उहाँको कहिलै नटुङगिने लडाइँ थियो माटो संग !
धर्ती रहँदा सम्म
बा रहनुहुन्छ जस्तो लाग्थ्यो !
खै,
धर्ती बलियो भयो कि
बा कमजोर हुनुभो,
बा पनि एकदिन फ्याट्ट जानुभो !

‘हजुर संगै जाने हुँ’ भन्नुहुन्थ्यो आमाले बा संग,
धन्न मेरो मायाले रोकिनुभो !
रोकिनेहरुलाई
अड्याइरहने कला
ममा भएन कि कसो,
आमा पनि एक दिन केही नभनी जानुभो !

सबथोक देखिरहेकी एऊटी ‘जुने’ थिई
केही समय मेरी ‘जुनु’ भई

अन्त्यमा ऊ पनि ‘जुन’ भई !

जानेहरुले
‘जान्छु’ नभनी गइदिन्छन
यादहरुले
‘आउँछु’ नभनी आइदिन्छन !

जानेहरुले ‘जान्छु’ नभन्दा

आउनेहरुले ‘आउँछु’ नभन्दा
यो जीवन ‘के भन्ने के भन्ने’ भएको छ !

कोही त आओस्
केही नभनी आओस् बरु !
अनि
आए पछि
कहिलै ‘जान्छु’ नभनोस् !
मलाई यो जीवनलाई
एकपटक ‘जीन्दगी’ बोलाऊन मन छ !

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  १५:०१
प्रतिक्रिया दिनुहोस्