जीवन संघर्ष

शिक्षिका दिलकुमारीको सुन्तला व्यापार !

२०७८ माघ १८

सिस्ने गाउँपालिका – ८, भिमखोला रुकुम पूर्वको बालकल्याण आधारभूत बिद्यालयमा बाल शिक्षा पढाउने दिलकुमारी रोकायको अर्को पेशा हो ‘सुन्तला व्यापार’ ।

बिद्यालय समयमा हातमा चक, डस्टर, बिद्यार्थीलाई सिकाउने खेलौनाहरुको साथमा बालबालिकाहरुसँग हुने दिलकुमारी अचेल डोकोभरी सुन्तला बोकेर रुकुम पश्चिमको मुसिकोटमा आउनुहुन्छ । बिद्यालय समयबाहेक उहाँ अचेल डोकोका सुन्तलाको साथमा बजारमा भेटिनुहुन्छ । चिसो बिहानीमै डोकोभरी सुन्तला बोकेर घर छोड्ने दिलकुमारीको संघर्ष भने प्रेरणालायक छ ।

‘बाल विकास शिक्षिका हुँ, तर हामीलाई सरकारले विभेद गरेको छ’ सुरुमै राज्यले बाल विकास शिक्षिकाहरुलाई शोषण गरेको गुनासो पोखेकी दिलकुमारीले सुनाउँनुभयो, ‘अन्यत्रका स्थानीय सरकारले प्राथमिकता दिएर १५ हजार मासिक तलब पु¥याईदिएका छन् तर हाम्रोमा भएन, डोको नबोकेर कसरी जीवन धान्नु ।’

२०३७ सालमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका १० चौखाबाङमा जन्मिनुभएकी दिलकुमारीका जीवनका उतारचढावहरु अनगिन्ती छन् । घरदेश र परदेशमा बगाएको पसिनाको कथा पनि बेग्लैछ उहाँको ।

‘जीवनमा आईपर्ने हरेक परिस्थितिसंग जुध्नुको विकल्प नहुनेरैछ,’ दिलकुमारीले आफ्नो संघर्षरत जीवनको सिकाई सुनाउनुभयो, ‘गन्तव्यमा पुग्नलाई परेको भोग्नैपर्छ, समस्यासँग जुध्नैपर्छ ।’
बाल्यकालमा छोरीले सजिलै पढ्न पाउने अवस्था थिएन उबेला । तर उहाँले अनेक व्यवधान चिरेर पढ्नतिर लाग्नुभयो । २०५७ सालमै एसएलसी उतिर्ण गरेकी दिलकुमारीले त्यो बेला जनयुद्ध चलिरहेको र रुकुम रोल्पाका विद्यार्थीलाई स्कुल गएर पढ्न सजिलो वातावरण नभएको सुनाउँनुहुन्छ ।

‘स्कुल जानेआउने बेला कहिले सैनिकको फेला परिन्थ्यो त कहिल्यै माओवादीको फेला परिन्थ्यो,’ दिलकुमारीले भन्नुभयो, ‘अनावश्यक केरकार, डरत्रासका बिच स्कुल आउजाउ चल्थ्यो । ’ त्यस्तो सास्तीको समय र घरको कमजोर आर्थिक अवस्थाका बिच पनि दाउरा बेचेर एसएलसी सम्म पढेको कुरा उहाँलाई ताजै छ ।

‘भविष्य सुखमा बिताउँला जस्तो लाग्थ्यो त्यतिबेला, अलिकति पढेकी छु भन्ने पनि लाग्थ्यो । तर दुःख त उमेर बढेसँगै झन बढ्दो रैछ,’ दिलकुमारीले सम्झनुभयो, ‘बाआमासँग उतिबेला त म पढेको छु, डोको नबोकेपनी पुग्छ भन्दै घुर्की लाईन्थ्यो । तर डोको बोक्न छुटेन मलाई, लेखेको भोग्नै पर्नेरैछ ।’

दिलकुमारीले आफ्नो मायाको कहानी पनि सुनाउनुभयो । २०५८ को कुरा हो, रुकुम पूर्वको सिस्ने गाउँपालिका ८ का गोपाल पुनसंग दिलकुमारीको दिल नजिकियो । त्यतिबेला पढाइ पुरा गर्नुपर्छ जस्तो लागेन उहाँलाई । भन्नुहुन्छ, ‘माया भए सबै चिज पुग्ला जस्तो लाग्ने उमेर रैछ त्यो बेला, त्यति राम्रो पढाई छोडेर उहाँसँग भागेर भारत गए ।’

भारत पुग्दा सम्मका लागि केही खर्चपर्च थियो । खर्च सकिएपछि खाना र बाँच्नकै लागि भएपनि काम गर्नुपर्ने अवस्था आयो । भारतको दार्जिलिंगमा श्रीमानले जमिनदारको घरमा मजदुरी गर्न थाल्नुभयो । त्यसको केहि समयपछि दिलकुमारीले सानो पसल खोल्नुभयो ।

बिहे गरेर सुन्दर संसार निर्माण गरेको जस्तो लागेपनी दुःखका दिन भने बढिरहेको लाग्थ्यो उहाँलाई । १० वर्ष भारतमै बिताएको यो जोडिले चार सन्तान उत्पादन गरिसकेको थियो । ६ जनाको परिवारले अर्काको भूमीमा गर्नुपरेको संघर्ष कम्ति छैन ।

छोराछोरीको शिक्षादिक्षाकै लागि भएपनी १० वर्षपछि नेपाल फर्किने निधो गरेर उहाँहरु फर्किनुभयो । गाउँ फर्केपछि पनि बालबच्चाको लानपालन र शिक्षादिक्षाको लागि सहज थिएन । जेनतेन छोराछोरी पढाउन सुरु गरेकी दिलकुमारीले आफूले पनि पढाइलाई निरन्तरता दिने दिनुभयो र आइएड सक्काउनुभयो ।

अहिले त गाउँकै विद्यालयमा पढाउनुहुन्छ । ‘स्कुल समय स्कुलमा हुन्छु’ दिलकुमारीले भन्नुभयो, ‘नत्र फेरि यहि डोको बोकेर ठाउँठाउँमा सुन्तला बेच्दै हिड्छु ।’

दिलकुमारीका श्रीमानले पनि घरमा नर्सरी सञ्चालन गर्नुभएको छ । सन्तोषजनक कमाई छ । यसैगरी घर व्यबहार चलाएको र छोराछोरी पढाएको उहाँ बताउनुहुन्छ ।

अहिले पनि उहाँको घरमा करिव ३ सय ५० वटा सुन्तलाको बोट छन् । राम्रै फल्यो भने कमाइ पनि राम्रै हुन्छ । बर्षमा करिब तीन लाख जति आम्दानी सुन्तला व्यापारबाटै हुन्छ ।

‘स्कुलको तलव पनि आउँछ आउन त’ दश बर्ष देखि स्कुलमा पढाउन थालेको बताउँदै दिलकुमारीले भन्नुभयो, ‘त्यत्तिले पुग्दैन, यो डोको बोक्न र सुन्तला बेच्न पनि छुट्दैन ।’ बाल विकास शिक्षिकाको रुपमा उहाँले मासिक १२ हजार तलब पाउनुहुन्छ । राज्यले बाल विकास शिक्षिकाहरुको श्रमको अवमूल्यान गरेको उहाँ बताउनुहुन्छ ।

‘आफुसङ्गै पढेका साथीहरु सुन्तला किन्न आउदा अल्ली लाज लाउँछ’ उहाँले भन्नुभयो, ‘दिनभरी डुलेरै सुन्तला बेचेपनी बेलुका पैसा गन्दा भने थाकेको शरिरले आनन्द मान्छ ।’
आफ्नो बौद्धिक श्रम बिद्यालयमा र शारीरिक श्रम सुन्तला व्यापारमा लगानी गर्नुभएकी दिलकुमारी संघर्षले नै जीवन सफलतातर्फ उन्मुख हुने बताउनुहुन्छ ।

किसानका खेताबारीमा उत्पादन भएका वस्तुहरुको बजार सुनिश्चित नहुँदा किसान निराश हुनुपरेको उहाँको अनुभव छ । सरकारले कृषि उपजहरुको बजार व्यवस्था गरिदिएमा किसानहरु उत्पादनमा आकर्षित हुने उहाँ उल्लेख गर्नुहुन्छ । बेरोजगारहरुको बिचमा उदाहरणीय बनेकी दिलकुमारी श्रम गरेमा सफल हुने विश्वास गर्नुहुन्छ ।

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  १३:०२
प्रतिक्रिया दिनुहोस्