Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

वैदेशिक रोजगारीले फेरिएको गाउँ

सीप अनुसार रोजगारीकाे माग
tribeni2

रुकुम पश्चिम / कुनैबेला गरिबहरुको बस्ति भनेर चिनिन्थ्यो आठविसकोट नगरपालिका वडा नम्बर ५ मा पर्ने सिमा छरेखोला गाउँ । अहिले पनि पिछडिएको बस्ती त हो, तर बदलिएको छ।

चित्रेपाटनको फेदीमा रहेको यो गाउँमा दलित समुदायको बसोबास बढी छ । सिमा, छरेखोला, टाकुरा, सन्चौला लगायतका यी गाउँमा ९५ प्रतिशत दलित समुदाय रहेका छन् ।

यहाँका झन्डै ८० प्रतिशत युवाहरू वैदेशिक रोजगारीमा गएका छन् । कोहि खाडीका विभिन्न मुलुकमा गएर फर्किसकेका छन् भने कोहि उतै छन् । साउदी, कतार, मलेसिया, दुबै, ओमन, कुवेत यहाँका युवाहरूका प्रमुख गन्तव्य हुन् ।

अधिकांश युवाहरू खाडी मुलुकमा गएका छन् । खाडीमा नगएकाहरु कमाइ गर्न भारतमा जाने गरेका छन् । सानैमा पढाइ छोड्ने र सानैमा विवाह गर्ने प्रचलन अझै पनि यहाँ कायमै छ । सानैमा घरजम गरेपछि जिम्मेवारी बढेर परिवार पाल्नका लागि युवाहरू प्रदेशमा जाने गरेका हुन् । तीन चारवटा घर बाहेक यहाँका प्रत्येक घरबाट एक देखि तीन जनासम्म वैदेशिक रोजगारीमा गएका छन् । पढे लेखेका केहि युवाहरूले मात्र सरकारी जागिर खाएका छन् ।

कुनै समय गाउँमा अत्यन्तै गरिबी थियो । यहाँका केहि घरपरिवारहरु अरुको घरमा काम गरेर जीवन निर्वाह गर्थे । तर अहिले दिन फेरिएका छन् । केहि वर्ष अघिसम्म प्रायः सबैका घरहरू खरले छाएका थिए । तर अहिले गाउँमा सबैले घरहरू ढुङ्गाले छाएका छन् । कसैले सिमेन्ट प्लास्टर समेत गरेका छन् ।

पहिले परिवार पाल्न पनि समस्या भएको थुप्रैका कुरा सुनिन्थे । अहिले छोराहरू वैदेशिक रोजगारीमा गएर कमाइ गरेपछि सहज भएको स्थानीय जैलाल सार्की बताउनुहुन्छ । पहिले ठुलो परिवार हुँदा पनि खरले छाएको सानो घरमा सिमित हुनुपरेको दुःख सम्झिदै उहाँले भन्नुभयो 'हे बरै पहिला त के कुरा गरौं दुःख धेरै थियो, छोराछोरी साना थिए, कमाउने कोहि थिएनन् । अहिले छोराहरू हुर्केबढे, धेरै पढाउन सकिएन, बिदेश गएर कमाउन थालेका छन् ।' छोराहरूले बिदेशमा कमाएको पैसाले १२ कोठाको घर बनाएको सार्कीले बाताउनुभयो ।

वैदेशिक रोजगारीले यहाँका धेरैको जीवन शैली फेरिएको छ । प्रदेशमा कमाएको पैसाले कसैले छोराछोरीलाई राम्रो विद्यालयमा पढाउन थालेका छन् । जग्गा जमिन नभएकोले जग्गा किनेका छन् । वैदेशिक रोजगारीमा नगएको भए सिमा छरेखोलाका नागरिकहरुको जीवनशैलीमा परिवर्तन हुन नसक्ने स्थानीय हिरालाल कामी बताउँनुहुन्छ । गाउँका जनताहरुमा अहिले सकारात्मक सोचको समेत विकास भएको छ ।

नेपालमा रोजगारी नभएको र पढेर पनि जागीर पाउन मुस्किल भएको भन्दै युवाहरू बिदेशीने गरेको सिमाका गणेश एस.के.को भनाइ छ । देश छोडेर खाडीमा पसिना बगाउँनु रहर नभई आफुहरुको बाध्यता भएको उहाँ सुनाउनुहुन्छ  । 'गाउँमै बसौं काम पाउदैन काम गरेपनि भनेजस्तो आम्दानी हुँदैन' गणेशले भन्नुभयो, 'गाउँमै बसेर के गर्नु, परिवार पाल्नको लागि बिदेश जानै पर्यो ।'

विभिन्न सिपहरु सिकेकाहरूलाई स्वदेशमै रोजगारीको व्यवस्था गरेपछि लाखौं युवाहरू बिदेशीनु पर्ने वाध्यताको अन्त्य हुने छरेखोलाका सुवास सार्कीको भनाइ छ । सीप अनुसार सरकारले रोजगारीको सिर्जना गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  १५:०२
प्रतिक्रिया दिनुहोस्