सोसल मिडिया
सुर्खेत / कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार सरकारलाई पूर्णता दिने तयारी गर्नुभएको छ ।
गत कात्तिक १६ गत्ते मुख्यमन्त्री बनेका शाहीले करिव चार महिना पछि मन्त्रिपरिषद् विस्तार गर्न लागिएको बताइएको छ ।
सत्तारुढ माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लागेपछि आइतबार मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो । मन्त्रालयको भागवण्डा करिब करिब मिलिसकेको छ ।
आठ मन्त्रालय रहेको कर्णालीमा नेकपा माओवादीले चार, एकीकृत समाजवादीले तीन र कांग्रेसले मुख्यमन्त्रीसहित तीन मन्त्रालयमा दाबी गरेपछि भागबण्डा मिलाउन सकस भएको थियो । माओवादीले तीन, कांग्रेसले मुख्यमन्त्रीसहित तीन र एकीकृत समाजवादीले दुई मन्त्रालय लिने सहमति नजिक पुगेको स्रोतको दाबी छ ।
माओवादी केन्द्रबाट कार्चेन लामा र गणेशप्रसाद सिंहलाई मन्त्री बनाउने निर्णय भएको प्रदेश सभा सदस्य तथा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिनुभयो । सिंह जाजरकोटका प्रदेशसभा सदस्य हुनुहुन्छ भने हुम्लाका लामा गैरसांसद हुनुहुन्छ ।
माओवादी केन्द्रबाट विन्दमान विष्ट आर्थिक मामिला तथा योजना मन्त्री हुनुहुन्छ ।
त्यस्तै एकीकृत समाजवादीबाट जुम्लाका पदम रोकाया मन्त्री बनाउने सम्भावना छ । यद्यपि निर्णय भइनसकेको एकीकृत समाजवादीकी सचेतक देवी वलीले बताउनुभयो । ‘हामी छलफलमै छौं । तीन मन्त्रालय पाउनुपर्छ भन्ने हाम्रो अडान कायमै छ,’ उहाँले भन्नुभयो ।
प्रदेश सरकारमा एकीकृत समाजवादीबाट चन्द्रबहादुर शाही भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री हुनुहुन्छ । नेपाली कांग्रेसबाट यज्ञबहादुर बुढा क्षेत्री र हिमबहादुर शाही मन्त्री बन्ने बताइएको छ ।