सोसल मिडिया
हालै नेपालमा, चर्चित कार्यक्रम हिमालयन रोडिज्मा जर्ज रेमन दास श्रेष्ठले अडिसनमा जलवायु परिवर्तन भनेको के हो ? भन्ने प्रश्न राख्नु र पछि सहभागीका उत्तर सुन्दा यस विषयको बढ्दो महत्व र कतिपय नवपुस्तामा समेत यस बिषयमा देखिएको चेतनाको अभाव प्रष्ट हुन्छ ।
यसै प्रसंगमा जलवायु परिवर्तन, यसका प्रभावहरु, सम्बोधनका उपायहरु र खासगरी जलवायु परिवर्तन अनुकूलनका क्षेत्रमा नेपालमा भैरहेका प्रयासहरुका बारेमा जानकारी गराउने उद्देश्यले यस लेख तयार गरिएको छ ।
जलवायु परिवर्तन र नेपालको अवस्था
सामान्य तरिकाले बुझ्ने हो भने जलवायु भन्नाले जल (पानी) र वायु (हावा) अर्थात हावापानीको अवस्था हो । हामीले दैनिक भोगिरहेको र रेडियो टेलिभिजनमा समाचारसँगै सुन्ने, पढ्ने गरेको तापक्रम, बर्षा, हावाको आद्रता आदिको अवस्थालाई मौसम भनिन्छ । मौसमका यिनै चरित्रहरुको लामो समयको औसत अवस्था (वैज्ञानिकहरुका अनुसार ३० बर्ष वा सो भन्दा बढि) लाई जलवायु र तिनमा आएको परिवर्तनलाई नै जलवायु परिवर्तन भन्ने गरिन्छ ।
बिभिन्न वैज्ञानिक अध्ययन र समुदायको अनुभव दुबैले बढ्दो तापक्रम र बर्षातको ढाँचामा आएको परिवर्तनलाई जलवायु परिवर्तनको लक्षण र त्यसका कारण बाढि, पहिरो, खडेरी, आगलागी जस्ता घटनाहरु बढिरहेको देखाउँछ ।
नेपालको जल तथा मौसम विज्ञान विभागले २०१७ मा प्रकाशन गरेको अध्ययन प्रतिवेदन अनुसार सन् १९७५ देखि २०१४ सम्मको तथ्यांकको विश्लेषण गर्दा नेपालको औसत तापक्रम बृद्धि ०.०५६ डिग्रि सेल्सियस प्रति बर्षको दरले भैरहेको देखिन्छ । सोहि प्रतिवेदन अनुसार भविष्यमा नेपालभरी नै औसत तापक्रम अर्थात गर्मी स्पष्ट रुपमा बढने उल्लेख छ ।
त्यसैगरी बर्षातको हकमा बर्षा सिजन अगाडि (Pre-monsoon) औसत बर्षा घटेतापनि बार्षिक औसत बर्षा बढेको र बढ्दै जाने अनुमान गरिएको छ । अहमत र सुफाचालासाइको २०१४ को अध्ययन अनुसार नेपालमा जलवायु परिवर्तन मोडलले २०३० सम्म १.६ देखि २ डिसीले तापमानमा परिवर्तन आउन सक्ने अनुमान लगाएको छ । यसै तापक्रम बृद्धिदरलाई १.५ डिग्री सेल्सियसमा कायम राख्न सकिएन भने पृथ्वी र यहाँका जीवजीवात्माहरुलाई बाँच्न कठिन हुने चेतावनी वैज्ञानिकहरुले दिइरहेका छन् ।
त्यसैगरी, जेन्टल र मरासीनीे २०१२ ले भविष्यमा समेत तापमान बढ्ने, वर्षातको ढाचाँमा भिन्नता, खडेरी, अप्रत्याशित मनसुन, बढदो रुपमा हिम पग्लने, र सामुन्द्रीक आँधी बढ्ने जस्ता केही चरम जलवायुका घटनाहरु विश्वले खेप्न पर्ने उल्लेख गरेका छन् ।
जलवायु परिवर्तनका असर तथा प्रभावहरु
२ फेब्रुअरी २०२१ तदनुसार २४ माघ २०७७ मा छिमेकी देश भारतको उत्तराखण्डमा हिमनदीमा आएको बाढीलाई केही विज्ञहरुले जलवायु परिवर्तनले गर्दा तापमान बढेको हुँदा हिमालयको हिउँ पग्लेको र सोही कारण हिमताल बढेर फुटेको हुनसक्ने अनुमान लगाएका थिए ।
सन् २०१९ (२०७५) मा नेपालको बारा र रौतहट जिल्लामा आएको हावाहुरी (नेपाल कै प्रथम चक्रवात भनी बिषयगत विज्ञहरुले दावी पनि गरेका थिए), वा बङ्गालको खाडीमा सन् २०१९ मा फानी र २०२० (२०७५)मा अम्फन लगातार उत्पन्न भएको चक्रवात वायुुहरु वा २०१९/२०२० (२०७६) मा अस्ट्रेलियामा भएको भिषण आगलागी होस्, यी सबै घटनाक्रम प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जलवायु परिवर्तनसंगै जोडिएका छन् ।
इसिमोड र यूयनडीपीले गरेको संयुक्त अनुसन्धान प्रतिवेदन (२०२०) का अनुसार नेपालका ४७ वटा हिमताल विस्फोटका खतरामा भएको देखिएको छ । विश्वमै पनि सन् १९९० र २०१८ सम्मको हिमतालको अध्ययनले ४८ प्रतिशतले हिमतालहरुको आकार ठुलो हुदै गएको देखाएको छ (सुघर र साथीहरु २०२०) ।
विभिन्न अध्ययनहरुले जलवायु परिवर्तनका असरहरु ६० प्रतिशत जलस्रोतमा परेको बताएको छ । यसले गर्दा नेपालको कृषि प्रणालीमा पनि असर परिहेको तथ्याङ्कहरु आइरहेका छन् । बर्षाको स्वरुप बदलिदै गर्दा अतिवृष्टि (पानी धेरै मात्रामा पर्ने), अल्पवृष्टि (पानी पर्दै नपर्ने) जसले गर्दा पहिरो र बाढी साथै सुख्खा खडेरीको समस्याहरु ओइरिरहेका छन् (जिल्ला समन्वय इकाई रुकुम, २०१७/१८) ।
जलवायु परिवर्तनले सबैलाई प्रभाव गर्ने भएतापनि यसको खास प्रभाव भने खुल्ला हावापानी र प्राकृतिक स्रोतमा आधारित जीबिकोपार्जन गर्न बाध्य बिपन्न तथा साना किसान, जनजाति तथा सिमान्तकृत वर्ग, महिला, असक्त अपांगता भएका व्यक्ति, बृद्ध तथा बालबालिका आदिमा परेको देखिन्छ ।
जलवायु परिवर्तनका कारणहरु : हरित गृह प्रभाव र हरित गृह ग्याँस
जलवायु परिवर्तनकाबारे बुझ्न जलवायु परिवर्तनको विज्ञानलाई बुझ्नु जरुरी छ । जलवायु परिवर्तनको विज्ञान भने हरित गृह ग्याँस र तिनको प्रभाव अर्थात हरित गृह प्रभावसंग जोडिएको छ । यसलाई सजिलो तरिकाले बुझ्न हरित गृह (ग्रिनहाउस) वा प्लास्टिक टनेलमा तरकारी खेती वा नर्सरी गर्ने प्रविधीलाई हेरौं । प्लास्टिक टनेलमा जसरी त्यहाँ रोपिएका तरकारी वा विरुवालाई चाहिने तापक्रम कायम राख्न प्लाष्टिकले मद्दत गर्छ, ठ्याकै त्यसै गरीे पृथ्वीमा सन्तुलित तापक्रम कायम राख्न सहयोग गर्ने कार्वनडाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड जस्ता ग्याँसहरुलाई हरित गृह ग्याँस भनिन्छ ।
घाम लागेका बेला सूर्यको किरणसँगै प्राप्त ताप वा तातोपनालाई सोसेर अन्य समयमा समेत तापक्रमलाई सन्तुलनमा राख्न हरित गृह वा प्लाष्टिकले खेल्ने भूमिकालाई नै हरित गृह प्रभाव भनिन्छ ।
यसप्रकार हरित गृह ग्याँस वा यसको प्रभावले गर्दा पृथ्वीको तापक्रम तथा जलवायु सन्तुलित रहन सहयोग गर्दछ । तर खासगरी मानवीय क्रियाकलापहरुले गर्दा यिनै हरित गृह ग्याँसहरुको उत्सर्जन धेरै मात्रामा भएको कारण पृथ्वी तातिदै जाने (विश्व उष्णिकरण वा ग्लोबल वार्मिङ) र जलवायु परिवर्तन बढदै गएको वैज्ञानिकहरुको दावी छ ।
नेपालको हकमा भने उर्जा, यातायात, उद्योग र उद्योगका बाइप्रोडक्ट, कृषि, भू उपयोग परिवर्तन तथा वन, ठोस फोहोर व्यवस्थापन, फोहोर पानी व्यवस्थापन, जस्ता क्षेत्रहरुलाई हरित गृह ग्याँसहरुको उत्सर्जनका स्रोत मानिएको छ (नेपालको हरित गृह ग्याँसहरुको सुची, २०१७) ।
हरित गृह ग्याँसहरु उत्सर्जन हुने क्षेत्रहरु, प्रकार साथै उत्सर्जन परिमाण देश अनुसार फरक पर्दछ । चीन, भारत, अमेरिका जस्ता औद्योगिक राष्ट्रहरुको उत्सर्जन अत्यधिक धेरै छ भने उपलब्ध तथ्यांक हेर्दा नेपालमा सन् २००७ तिर बाट मात्र हरित गृह ग्याँसहरु बिस्तारै बढेको देखिन्छ र अहिले कार्वनडाइअक्साइडको उत्सर्जनको दर वार्षिक ०.३१ टन रहेको छ ।
नेपालको उत्सर्जन विश्वव्यापी हरित गृह ग्याँस उत्सर्जनको नगण्य मात्रै हो तर संकटासन्नताका दृष्टिकोणले नेपाल बिश्वकै अग्रपंक्तिमा पर्ने देशहरुमा पर्दछ । क्रमश ....