Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

न्युजील्यान्ड आक्रमणले सरकार स्तब्ध

काठमाडौं १ चैत
tribeni2

सरकारले न्यूजिल्याण्डको क्राइष्टचर्चस्थित मस्जिदमा आज बिहान भएको गोलीकाण्डमा ४९ जना सर्वसाधारण मारिएको खबरबाट स्तब्ध भएको बताएको छ ।

परराष्ट्रमन्त्रालयले जारी गरेको विज्ञप्तिमा “सरकार अविवेकी आतंकवादीको उक्त कृत्यप्रति घोर निन्दा गर्दछ” भनिएको छ । न्यूजिल्याण्ड सरकार तथा उक्त आक्रमणमा ज्यान गुमाएकाहरूका परिवारप्रति सरकारले समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
न्युजील्यान्डमा बिहानै बन्दुकधारीको आक्रमणमा परी मृत्यु हुनेको सँख्या ४९ पुगेको छ । अन्य २० जना बढी मानिस गम्भिर घाईते भएका अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

क्राईष्टचर्च शहरमा रहेका नुर मस्जिद र लिनवुड मस्जिदमा नवाज पढिरहेका बेला बन्दुकधारीले एकाएक आक्रमण गरेका हुन् ।

आक्रमणमा कुनै पनि नेपाली नपरेको अस्ट्रेलियामा रहेको रहेको नेपाली दूतावासले जनाएको छ । मस्जिदमा भएको आक्रमणलाई लिएर विश्वभरबाट आलोचना भएको छ । न्युजिल्यान्डकै राष्ट्र प्रमुख समेत रहेकी रानी एलिजावेथ द्धितीयले घटनाबाट आफुलाई गहिरो दुःख लागेको बताएकी छन् ।

न्युजिल्याण्डकी प्रधानमन्त्री जैसिण्डा अर्डनले देशकै इतिहासमा कालो दिन भएको बताएका छन् । उनले आजलाई ‘कालो दिन’ भएको बताउँदै यो घटनालाई ’आतङ्ककारी हमला’ मात्रै भन्न सकिने बताएका छन् ।

यस्तैगरी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गर्दै उक्त घटनालाई भयानक नरसंहारको संज्ञा दिएका छन् । ट्रम्पले ट्वीटरमा लेखेका छन् । “यस दुःखद घडीमा न्युजिल्यान्डका जनता र मृतकका आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दछु । ” रूसका राष्ट्रपति भ्लादिमिर पुटिन, टर्कीका राष्ट्रपति रेसेप तएप एड्रोगान, श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घे, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले पनि घटनाप्रति दुख व्यक्त गरेका छन् ।

फिजिका प्रधानमन्त्री भोरेक बैनिमारामा, पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैसल, क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिस, लगायत अन्य देशका सरकार तथा राष्ट्रप्रमुख र विभिन्न अन्तराष्ट्रिय संस्था तथा निकायहरुले पनि शोक वक्तव्य प्रकाशित गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

अल नूर मस्जिदमा बन्दुकधारी आक्रमणकारीले टाउकोमा क्यामरा बाँधेर बालबालिका, महिला र पुरुषलाई आन्धधुन्ध गोली हानेको फेसबुकमा प्रत्यक्ष प्रसारण पनि गरेका थिए । प्रत्यक्षदर्शीहरूले आफू ज्यान जोगाउन भागेको र अल नूर मस्जिदमा मानिसहरू रगताम्मे भएर लडिरहेको देखेको भिडियोमा बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५  २१:०३
प्रतिक्रिया दिनुहोस्