कविता - क्रान्तिकारी भाव

  •  दिपेन्द्र क्षेत्री

कतै मिर्मिरेलार्ई चिर्दैचिर्दै बिहानी बोकेर
उषाको लाली मुस्कुराउँछ कि भनेर
दिउँसोको पारिलो घाम संगै लुकामारी खेल्दै
गोधुली साँझमा सप्तरङ्गी इन्द्रेणीको रङ्ग भर्दै
रातमा आकाशका ताराहरु हेर्दैहेर्दै
रुखको छहारीमुनि बसेर
चन्द्रमाको सितल उज्यालोमा
पोख्दैछु म, मनमा गुम्सियका कुराहरु
आज लेख्दैछु म, क्रान्तिकारी भावहरु ।

देशमा इन्द्र धनुष झै रङ्ग भर्नलार्ई
ति अनगिन्ती अजर अमर सपना बोकेर
सहिदहरुका अनगिन्ती सपनाको खात बिछ्याएर
निश्पक्ष न्याय अनि देशमा शान्तिको पर्खाइमा
क्रान्तिको भव्य महल बनाउँदै
हजारौ हजार सहिदहरुका सम्झनामा
सिरानिको कपास बनाउँने चाहना बोकेर
यो अध्यारो रातमा
जुनताराको साथमा
आज लेख्दै छु म क्रान्तिकारी भावहरु ।

जनताका ति थकित जीवनहरुमा
बिश्वासको अन्त्य भयको बेला
गरिबहरुको सहाराको तार चुडिएको बेला
अदालतमा न्यायकोढोका बन्द भएको बेला
ठाउँ ठाउँमा बलात्कारी र राक्षसहरुको बिगबिगीको बेला
सडकदेखि सदनसम्म भ्रष्टाचार मौलाएको बेला
बिद्रोहको महासागरमा डुबेर
यो अपरिचित अध्यारो बस्तिमा
कलिलो दिमागमा बिद्रोहको ज्वाला दन्काउदै
बारुदी शब्दको बिस्फोट गराउँदै
खोल्दैछु म क्रान्तिको बिद्रोहहरु
गाउँदै छु म देशभक्तका गीतहरु
अनि लेख्दै छु म क्रान्तिकारी भावहरु ।

यो अध्यारोमा लेखेको कविता
आकाशका ति जुनताराको होइन
धर्तिमा धिपधिप गर्दै बल्ने जुनकीरीको पनि होइन
होइन त्यो सत्ता र सामन्ती पक्षको
हो त केवल सामन्तिको बिरुद्धमा
बोल्न साहस गर्ने योद्दाको हो
त्यसैले लेख्दैछु म क्रान्तिकारी भावहरु श्रश्र

ठेगाना - रुकुम (पश्चिम)

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  २३:०२
प्रतिक्रिया दिनुहोस्