सोसल मिडिया
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले आफू एमाले प्रवेश गर्ने कुप्रचार गरिएको भन्दै त्यसप्रकारका समाचारबाट भ्रमित नहुन आग्रह गरेका छन् ।
केही सञ्चारमाध्यममा उनी एमाले प्रवेश गर्न लागेको समाचार आइरहेका बेला प्रकाण्डको यस्तो प्रतिक्रिया आएको हो । उनले भने, ‘म एमालेमा प्रवेश गर्ने कुरा त टाढैको हो । यो सोच्न पनि सकिँदैन ।’
‘पार्टीको क्रान्तिकारी विचार, नेतृत्व, एकीकृत जनक्रान्तिको कार्यदिशा र वैज्ञानिक समाजवादको कार्यक्रम नेपाली जनतामा लोकप्रिय हुँदै गएको छ । यो लोकप्रियताले आत्तिएका, डराएका, साम्राज्यवादी र दलाल पुँजीवादी तत्वका एजेन्टहरूको कुप्रचार मात्र हो । यसमा भ्रमित नहुन म सबैलाई आग्रह गर्दछु,’ प्रकाण्डले भनेका छन् । - जनआस्थाबाट