Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
स्वास्थ्य सेवा

मुरुको स्वास्थ्य चौकिमा 'मुसाको रजाँई, समस्याका चाङ'

'छाना चुहिन्छ, औषधि भिज्छ'
tribeni2

रुकुम पश्चिम / बर्थिङ्ग सेन्टर सहितको सेवा सञ्चालन भैरहेको जिल्लाको एक स्वास्थ्य चौकीमा समस्याका चाङ रहेका छन् । सेवा प्रवाहमा उदाहरणीय रहेको त्रिवेणी गाउँपालिकाको वडा नम्वर ७ को स्वास्थ्य चौकी व्यवस्थापनमा अनेक समस्या रहेको बताईएको छ ।

स्वास्थ्य सस्थाको मापदण्ड अनुसारको भवन नहुँदा सेवाग्राहि र कार्यरत कर्मचारीहरुले अनेक समस्या झेलिरहेका छन् । स्वास्थ्य सस्थामा कार्यरत एक कर्मचारीका अनुसार बर्थिङ्ग सेवा लिने आमाहरुको लागि आराम गर्ने कोठा समेत छैन ।

गत आ.व.मा उक्त स्वास्थ्य चौकीमा एक सय १३ जना आमाहरुले सुरक्षित प्रसुति सेवा पाएको तथ्यांक रहेको छ । ग्रामीण स्तरमा प्रभावकारी सेवा दिईरहेको यस स्वास्थ्य चौकीको व्यवस्थापनमा भने कसैको चासो नपुगेको स्थानीयको गुनासो रहेको छ ।

जानकारी अनुसार व्यवस्थित स्टोर कोठा नहुँदा औषधि तथा औषधिजन्य सामाग्री र उपकरणहरुको सुरक्षा गर्न कर्मचारीहरुलाई कठिनाई हुने गरेको गरेको छ ।

माटोले बनेको पुरानो भवनमा सिमित गरिएको उक्त स्वास्थ्य चौकीमा मुसाको रजाँई हुने गरेको छ । मुसाले भित्ता खोल्ने, माटो फाल्ने, औषधि तथा अन्य सामाग्रीहरु गायव गर्ने गरेको कर्मचारीहरुको गुनासो रहेको छ ।

जिर्ण अवस्थामा रहेको भवनबाट सबै सेवा दिनुपर्ने भएकोले सेवामा गुणस्तर कायम गर्न कर्मचारीहरुलाई मुश्किल हुने गरेको बताईएको छ ।

टिनको छानो र माटोका भित्ता रहेको पुरानो भवनमा छाना चुहिने र भित्ताको माटो झर्ने समस्या छ । खिया लागेको टिनको छाना चुहिदा औषधि तथा औषधिजन्य उपकरणहरु भिज्ने, बिग्रने डर रहेको एक कर्मचारीको भनाई छ ।

विगतमा स्वास्थ्य मन्त्रालयबाट सस्थाको स्तरबृद्धिको निर्णय भएतापनि अन्य सरोकारवालाले वास्ता नगरेको स्थानीयले बताएका छन् ।

स्वास्थ्य चौकीको आफ्नै जग्गा छ, तर स्वास्थ्य मापदण्ड अनुसारको भवन छैन । यस बिषयमा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष बिरबहादुर खड्काले समस्याहरु तमाम् रहेको स्विकार्नु भयो । उहाँले तत्कालिन मुरु गाविसले बनाईदिएको कच्चि भवन रहेको तर जिर्ण बन्दै गएकोले गुणस्तरिय सेवा प्रवाह गर्न समस्या आएको उल्लेख गर्नुभयो ।

वडा अध्यक्ष समेत रहनुभएका खड्काले स्वास्थ्य चौकीको नयाँ भवन बनाईदिन गाउँपालिका, प्रदेश मन्त्रालय र संघीय सरकारलाई पटक पटक आग्रह गर्दा पनि सुनुवाई हुन नसकेको बताउनुभयो । ‘आफ्नो कार्यकाल सकिनै लाग्यो, हामी आफै पीडित छौ’, अध्यक्ष खड्काले भन्नुभयो ‘यहाँ परेको भवन पनि पुर्वाग्रहपूर्ण तरिकाले अन्यत्र लगियो ।’ भवन निर्माणका लागि स्थानीयवासीले जग्गा उपलब्ध गराउँदा पनि यहाँको भवन योजना अन्यत्र सारिदिएको उहाँले जनाउनुभयो ।

यस बिषयमा त्रिवेणी गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम पुनले मुरु स्वास्थ्य चौकीको लागि नयाँ भवन अत्यावश्यक रहेको बताउँनुभयो । उहाँले गाउँपालिकाको सिमित श्रोतले भवन योजना बन्न नसक्ने भएकोले कार्यपालिका बैठकबाट निर्णय गराई प्रदेश मन्त्रालयमा योजना माग गरिएको समेत जानकारी दिनुभयो ।

उक्त स्वास्थ्य चौकीबाट खोप सेवा, पोषण सेवा, सुरक्षित मातृत्व सेवा, परिवार नियोजन सेवा, दैनिक उपचार तथा परामर्श सेवा, गाउँघर क्लिनिक लगायतका सेवा सञ्चालन भैरहेका छन् । स्वास्थ्य चौकीबाट गत आर्थिक बर्षमा सात हजार पाँच सय ५३ जना सेवाग्राहिलाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  १५:०२
प्रतिक्रिया दिनुहोस्