Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
जनयुद्ध दिवस

हिजो राज्य बिरुद्ध हातमा बन्दुक, आज सत्ताको बागडोर

जनयुद्धबाट 'स्पात' बनेकाहरु रुकुम हाँक्दै
२०७८ फागुन १
tribeni2

आज २७ औ जनयुद्ध दिवस । नेपाली जनताको त्याग र बलिदानीले मुलकमा आएको परिवर्तनमा २०५२ साल फाुगन १ मा सुरु गरिएको जनयुद्धको पनि महत्वपूर्ण हिस्सा रहेको छ । नेपाली इतिहासमा अविस्मरणीय रहेको जनयुद्धको उद्गम स्थल थलोको रुपमा रुकुम, रोल्पालाई दिने गरिन्छ ।

यहाँका सयौ जनताले परिवर्तनका खातिर शिरको भेटी चढाएका छन्, रगतको खोला बगाएका छन् । गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समाबेशीताको उपलब्धिको श्रेय जनयुद्धलाई पनि जान्छ ।

त्यतिबेला रुकुमका होनहार माओवादी कार्यकताहरु तत्कालीन राज्यसत्ताका विरुद्ध विद्रोहको विगुल फुक्थे । ज्यान दाउमा राखेर परिवर्तनका लागि राज्यसँग लडाई लडे । राज्य बिरुद्धका लडाईमा विभिन्न मोर्चा सम्हाले । उतीबेलाका जनयुद्धका सारथी तथा कमाण्डरहरु अहिलेको सत्ता सञ्चालक भएका छन् ।

माओवादी आन्दोलनको विभिन्न मोर्चा सम्हालेका धेरैजना अहिले वडा सरकार, पालिका सरकार, प्रदेश सरकार, संघीय सरकार सञ्चालन गरिरहेका छन् । यस मानेमा, रुकुमले जनयुद्धको गर्विलो इतिहास बोकेको पाइन्छ । रुकुम पश्चिममा मात्रै हेर्दा यहाँका ६ वटै स्थानीय तहहरु उनै जनयुद्धका योद्धाहरुले हाकिरहेका छन ।

मुसिकोट नगरपालिकाका मेयर देविलाल गौतम र उप मेयर प्रेम कुमारी सुनार

तत्कालीन जनयुद्धको समयमा नेकपा माओवादीको राज्य कमिटी सदस्य पदमा रहेर क्रान्ति र परिवर्तनका लागि अग्रणी भुमिका खेल्दै हुनुहुन्थ्यो मुसिकोटका देविलाल गौतम र प्रेम कुमारी सुनार । उहाँहरु अहिले मुसिकोट नगर सरकार हाँकिरहनुभएको छ । नगरपालिकाको प्रमुख र उपप्रमुखको भुमिकामा हुनुहुन्छ, उहाँहरु । उहाँहरुसँगै अधिकांस वडा अध्यक्ष र वडा सदस्यहरु जनयुद्धबाटै खारिएर आउनुभएको छ । उहाँहरु लगायतको जनयुद्ध प्रतिको लगाव, रगत र पसिनाले नै मुलुकमा कायापलट भएको हो ।

चौरजहारी नगरपालिका मेयर बिशाल शर्मा र उप मेयर राधा रोका

चौरजहारी नगरपालिका प्रमुख बिशाल शर्माले पनि जनयुद्धमा पार्टीको राज्य कमिटी सदस्य पदमा रहेर जिम्मेवारी बहन गर्नुभएको हो । जीवन नै दाउमा राखेर माओवादी आन्दोलन जन्माउन, हुर्काउन कस्सिएका बिशाल शर्माले यतिबेला जनयुद्धताका अभियान सम्झदै स्थानीय सरकारलाई जनमैत्री बनाउने कोशिसमा हुनुहुन्छ । जनयुद्धकै बेला पार्टीको राज्य कमिटी सदस्य हुनुभएकी राधा रोका अहिले नगरपालिकाको उपप्रमुखको जिम्मेवारीमा हुनुहुन्छ ।

आठबिसकोट नगरपालिकाका मेयर गोर्खबहादुर केसी र उपमेयर गीता नेपाली

तत्कालीन समयमा पार्टीको राज्य कमिटी सचिवालय सदस्य पदमा रहेका गोर्खबहादुर केसी र एरिया कमिटी सदस्य पदमा रहेकी गीता नेपालीले यतिबेला आठबिसकोट सरकार चलाई रहनुभएको छ । विकास र परिवर्तनको इच्छाशक्ति भएका, दिर्घकालिन योजनाका कमाण्डर केसी अहिले आठबिसकोटको मेयर हुनुहुन्छ । गीता उपमेयर हुनुहुन्छ ।

 

त्रिवेणी गाउँपालिकाका अध्यक्ष झक्कु प्रसाद घर्ती र उपाध्यक्ष निर्मला बिष्ट

तत्कालीन समयमा पार्टीको राज्य कमिटी सचिवालय सदस्य पदमा रहेर जनयुद्ध हाँकेका झक्कु प्रसाद घर्ती त्रिवेणि गाउँपालिको अध्यक्ष हुनुहुन्छ भने एरिया कमिटी सदस्य पदमा रहेर मोर्चा सम्हालेकी निर्मला बिष्ट उपाध्यक्ष हुनुहुन्छ । अध्यक्ष घर्ति माओवादी आन्दोलनका एक अटल सिपाही हुनुहुन्छ भने उपााध्यक्ष बिष्ट जनयुद्धकै समयमा श्रीमान गुमाउनुभएकी सहिद पत्नी हुनुहुन्छ ।

 

सानीभेरी गाउँपालिकाका अध्यक्ष नरबहादुर पुन र उपाध्यक्ष इन्दिरा ओली

जनयुद्धकै बेला पार्टीको राज्य कमिटी सचिवालय सदस्य तथा शैन्य डिभिजन बिउरो सदस्य भएका नरबहादुर पुन अहिले सानीभेरी सरकार चलाईरहनुभएको छ । सानीभेरी गाउँपालिकाका अध्यक्ष पुनले बिभिन्न मोर्चा र लडाईमा अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो । उपाध्यक्ष इन्दिरा ओलीले पनि जनयुद्धको बेला रुकुम र बाग्लुंग जिल्लाका खटिएर बिभिन्न जिम्मेवारी सम्हाल्नुभएको थियो ।

बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर र उपाध्यक्ष मनकला पुन

धर्म बहादुर केसी जसले जनयुद्धमा पार्टीको राज्य कमिटी सदस्य तथा शैन्य डिभिजन बिउरो सदस्य भएर काम गर्नुभयो र मनकला पुन जसले त्यतिबेला नै पार्टीको एरिया कमिटी सदस्य भएर जनयुद्धलाई सफल पार्न लागिपर्नु भयो । उहाँहरु यतिबेला बाँफिकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिरहनुभएको छ । बैचारिक र दार्शनिक रुपमा अब्बल केसीले शिक्षण पेशा नै त्यागेर जनयुद्धमा होमिनुभएको थियो । उपाध्यक्ष मनकलाका श्रीमानले जनयुद्धमा सहादत नै प्राप्त गर्नुभएको थियो ।

तत्कालीन राज्य सत्ताको विरुद्धमा विद्रोहको विगुल फुकेका माओवादी कार्यकर्ता तथा नेताहरु अहिले पृथक ढंगले सरकार चलाउँने कोशिसमा हुनुहुन्छ ।

रुकुमबाट नयाँ सन्देश प्रवाह गर्नेगरी काम भैरहेको उहाँहरुको भनाई छ । स्वरोजगार, सामाजिक साँस्कृतिक रुपान्तरण, सहकारी मोडेलमा विकास, कृषि क्रान्ति, उत्पादनमा जोड, घर घरमा सरकारको अनुभुति, योजनाहरुको आवश्यकताको आधारमा समानुपातिक वितरण, पहुँचयोग्य स्थानीय सरकार बनाउन उहाँहरु लागि परेको बताईन्छ ।

केहि नमुना अभ्यासहरु पनि भएका छन् रुकुमबाट । ज्यानको बाजि राखेर जनताको लागि लडेका हिजोका अनुभुति र यथार्थताहरुले उहाँलाई बिचलित हुनबाट जोगाएको पक्कै छ । यद्यपी, मागहरुको श्रंखला धेरै भएकोले एकैचोटीमा सम्बोधन गर्नसक्ने अवस्था छैन । त्यसैले होला सहिद परिवार, जनयुद्धका घाईते तथा पीडितहरुका गुनासाहरु पनि बेला बेला सार्वजनिक हुनेगरेका छन् ।

हिजो जनयुद्धका समयमा जनता सामु गरिएका प्रतिबद्धता, मुद्दा, मुल्य तथा मान्यता र आदर्शहरु आज वेवारिसे नबनाएर माओवादी आन्दोलनबाट स्पात बनेका यी अनुहारहरुले गम्भीर रुपमा मनन गर्ने आशा आम रुकुमेलीको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  १४:०२
प्रतिक्रिया दिनुहोस्