सोसल मिडिया
नेपालमा लामो समयदेखि चल्दै आएको निरंकुश एकात्मक शासन व्यवस्था, राज्यले गरेको विभेद र असमान व्यवहार, विकासको खडेरी, नागरिकको अन्धकार भित्रको अन्यौल भविष्य र जनताको क्रान्तिकारी चेतनाको परिणामस्वरुप तत्कालिन नेकपा माओवादीले वि.सं.२०५२ फागुन १ गतेदेखि जनयुद्धको औपचारिक सुरुवात गरेको दिनेको सम्झनामा हरेक बर्ष फागुन १ गते माओवादी विचारधारीहरुले जनयुद्ध दिवस मनाउँदै आएका छन् ।
जनयुद्धकै बल र परिणाम स्परुप मुलुकले आजको व्यवस्था (बहुदलिय प्रतिश्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्र) प्राप्त गरेको छ ।
१३ औ शताब्दि देखि १६ औ शताब्दिसम्म इटलीबाट सुरु भएको पूर्नजागरण, सन् १२१५ जुन १५ को बेलायतको म्याग्नकार्टा, सन् १६८८ देखि १६८९ सम्म बेलायतमा चलेको गौरवमय क्रान्ति, सन् १७६० देखि १८४० सम्म बेलायतममा चलेको औद्योगिक क्रान्ति, सन् १७८९ देखि १७९३ सम्म फ्रान्समा चलेको फ्रान्सेली राज्य क्रान्ति, सन् १७७५ देखि १८८३ सम्मको अमेरिकी स्वतन्त्रता संग्राम, सन् १८८५ देखि १९४७ सम्मको भारतीय स्वतन्त्रता संग्राम, सन् १९१४ देखि १९१८ सम्मको प्रथम विश्वयुद्ध, सन् १९३९ देखि १९४५ सम्मको दोश्रो विश्वयुद्ध लगायतका आन्दोलन तथा युद्धहरुको परिणाम स्वरुप विश्व इतिहासमा परेको सकारात्मक प्रभावले नेपालको जनयुद्ध पनि यी विश्वका घटनाक्रमहरुद्वारा अभिप्रेरित भएको मानिन्छ ।
२०५२ देखि ०६२/०६३ सम्मको जनयुद्ध
जनयुद्ध शब्द आफैमा निकै ओजिलो र अर्थपूर्ण छ । जन भनेको जनता र युद्ध भनेको क्रान्ति । जनताले आफ्नो अधिकार र अस्तित्वको रक्षा तथा स्वतन्त्रताको लागि गर्ने जीवन र मृत्युको बलिदानीपुर्ण महाअभियान नै जनयुद्ध हो । जनयुद्धका आफ्नै सिद्धान्त र विशेषताहरु थिए । जस मध्य केही देहायानुसार उल्लेख गरिन्छ ।– समता र समानताको सिद्धान्त – समन्वय र सहकार्यको सिद्धान्त – प्रगतिशिल विचार र दर्शनको सिद्धान्त – लक्ष्य केन्द्रित सिद्धान्त – गैर मौद्रिक सिद्धान्त – नैतिकता र स्वाधिनताताको सिद्धान्त – सम्पत्ति पार्टीकरणको सिद्धान्त
माथी उल्लेखित सिद्धान्तहरुद्वारा परिचालित जनयुद्ध साँच्चिकै जनताको युद्ध थियो । गरिव, निमुखा, किसान, महिला, दलित, जनजाति, मधेसी, मुस्लिम, अपांगता भएका व्यक्ति लगायतका उपेक्षित, उत्पीडित र पिछडिएका वर्गको अधिकार र स्वतन्त्रताको रक्षा, राज्य पुनःसंरचना र नविन शासकीय अभ्यासको मुद्दामा लामबद्द क्रान्तिकारी आम नागरिकको आशा र भरोसाको कठिन महाअभियान थियो जनयुद्ध ।
साना ठुला सबैले एउटै भान्सामा खाने, आफुले खाएको भाडा आफै धुने, जनताको काममा सघाउँने, वेइमानिका विरुद्ध खबरदारी, सामुहिक भावना, व्यवहारिक बैज्ञानिक शिक्षामा जोड, सम्पत्ती पार्टिकरणको अभ्यास, सम्मानजनक बोलिभाषा, न्यून आर्थिक लाभ, जनमुखी भावना, सहिद प्रतिको सम्मान, सहिद परिवार, घाइते, अपांग तथा वेपत्ताहरुप्रतिको आदर सम्मान जस्ता व्यवहार र चलन जनयुद्धको सुन्दर पक्ष हो । देश र जनताको लागि लडेका भोका पेटहरु, नाङ्गा छातिहरु, खाली खुट्टाहरुको बिरताको कथा साँच्चिकै अतुलनीय र अविस्मरणीय छ ।
त्यो समयका क्रान्ति भाव दर्शाउने क्रान्तिकारी गित र धुनहरु आज सुन्दा पनि मन बहकिन्छ । खाली खुट्टै हिडेका रगतले सिंचित हजारौं माइलका बाटोहरु विश्वका कुनै रमणीय पदमार्ग भन्दा बढी महत्त्वका मानिन्छन् । यहि जनयुद्धको जगमा भएको ०६२,६३ को जनआन्दोलनको उपलब्धि स्वरुप गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीकरण तथा जनताका आधारभुत मौलिक अधिकारहरु स्थापित भएका छन ।
०६२ / ०६३ पछिको धनयुद्ध
२०५२ देखि ०६२,०६३ सम्म दस वर्ष चलेको जनयुद्धले आफ्नो कर्म पूरा गर्यो र मुलुकलाई शान्त बनायो । युद्ध बरु आफै मारमा पर्यो, मुलुकलाई मारमा पारेन । जनयुद्धले हतियार बिसायो, मुलुकले सुखको सास फेर्यो । कतै सुनेको लामो समय पछि खोला पनि फर्किन्छ रे, सके पुरानै स्वरूपमा नसके स्वरुप फेरेर । जनयुद्धले पनि आफ्नो स्वरुप फेर्यो र धनयुद्ध भयो ।
धन भनेको सम्पत्ति र युद्ध भनेकी क्रान्ति । कुनै पनि राजनीतिक दल, दलमा आवद्ध नेता कार्यकर्ता र नेता कार्यकर्तासङ्ग आवद्ध आफन्तहरुले नीतिगत र व्यवहारगत नैतिकता कुल्चिदै गैर जिम्मेवार, गैर कानुनी रुपमा अखुत सम्पत्ति आर्जन गर्न गरिने क्रियाकलापहरु समाहित भएको अभियान नै धनयुद्व हो । जुन आजभोलि निकै सक्रिय छ । यसका पनि आफ्नै सिद्धान्त र विशेषताहरु छन्, जुन जनयुद्धको ठिक विपरीत रहन्छन ।
धनयुद्ध हाली हुदा मुलुकले लामो बलिदानीपुर्ण संघर्ष पश्चात प्राप्त गरेको स्वर्णिम उपलब्धिहरुको कार्यान्वयनको चरणमा नै जनताको मनमा नैराश्यताको कालो धन्दाले प्रवेश गरेको छ । पहिले देखि नै पुजीवादीशैली र संस्कारका कारिन्दा को त कुरै नगरौं, आफुलाई प्रगतिशील र क्रान्तिकारी भन्नेहरु समेत पुँजिवादी चिन्तनको गहिरो निन्द्रामा आफू कुबेर बनेको सपना देख्न थालेका छन ।
धन देखेपछि महादेवका पनि तीन नेत्र हुन्छन रे ! कतै नेपालका नेता कार्यकर्ता पनि महादेव त भएनन् । संघीयता पश्चात राजनैतिक क्षेत्रको भ्रष्टाचार अझ बढेको छ । भ्रष्टाचार सम्बन्धि सुचकहरुले यो तथ्य प्रमाणित गरिसकेका छन ।
सेवा भावले राजनीति गर्नुपर्नेमा स्वार्थ पालेर राजनीति गर्ने र सत्तामा पुगेपछी सार्वजनिक नीति विपरीत ठेक्का पट्टा, निर्माण कार्य, सामाग्री खरिद, जागीर लगाइदिने र कमिसन माग्ने, भ्रष्टाचार, अनियमितता जस्ता गैर जिम्मेवार र गैर राजनैतिक क्रियाकलाप हावी हुँदा स्थानीय तहदेखि संघ सम्मको राजनीतिक जीवनशैली नै प्रदुषित भएको छ ।
आज मुलुक संघीयतामा बामे सर्दै गरेको छ । संघीयताको कार्यान्वयनलाई जनइच्छित बनाउन मरिमेटी लाग्नुपर्ने बेलामा संघीयतालाई आफ्नो निजि कम्पनि सम्झेर अख्तियारको दुरुपयोग गर्दै भ्रष्टाचार, व्यथिती, अपारदर्शीता, न्यून उत्तरदायित्व मौलाउंदै जादा संघीयताको मर्ममाथी अझ भनौं जनयुद्धको औचित्य माथी प्रश्न खडा गर्ने अवस्था सृजना भएको छ ।
जनयुद्धका विचार, चिन्तन, दर्शन, स्वभाव, व्यबहार र क्रियाकलापलाई पुँजीवादी संसदिय विचार, चिन्तन र दर्शनलाइ छोप्दा जनतामा पछुतो भाव जागृत भएको छ ।
हिजोको त्यो कठिन बलिदानीपुर्ण संघर्षको यात्रालयमा निस्किएका यात्रीहरुको आजको विलासी जीवनशैलि पुँजीवादी चिन्तन सर्वहारा वर्ग प्रतिको उपेक्षा आफन्तवाद, परिवारवादको बलियो संजालीकरण आदिको कारण जनयुद्धका अमुर्तनायक सहिदहरु र मुर्तनायक पुर्व जनमुक्ति सेनाहरुको योगदान औचित्यहिन बन्न पुगेको आरोप छ ।
जनयुद्ध समाजको आमुक परिवर्तनको लक्ष्यमा आधारति एउटा प्रगतिशील महाअभियान थियो । संघीय लोकतान्त्रिक गणतन्त्रको जन्मदाता हो जनयुद्ध । इतिहासमै सर्वाधिक त्याग, बलिदानी, संघर्ष र बिरताको महासंग्राम थियो जनयुद्ध । क्रान्तिकारी योद्धा र क्रान्तिकारी बिचारले रोजेको जीवन र मृत्युको लहर थियो जनयुद्ध । विश्वमा घटेका थुप्रै घटनाहरु जस्तै जनयुद्धले पनि नेपालमा निकै ठूलो परिवर्तन सस्थागत गरेको छ ।
तर विडम्बना आज महान जनयुद्धको कारण प्राप्त राजनैतिक उपलब्धिहरुमा रजाइँ गर्दै जनयुद्धको अस्तित्वलाई अस्वीकार गर्ने र त्यसको महानता र गरिमालाइ खिसिट्युरी गर्ने सबै खाले प्रतिगमनकारी, निरंकुश र असंबैधानिक क्रियाकलापका हिमायतीहरु विरुद्ध खबरदारी गर्दै जनयुद्धलाई नेपाली इतिहासको महत्वपूर्ण कालखन्डको रुपमा स्थापित गर्नु र जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसका सरह मान्यता प्रदान गर्दै सरकारी अभिलेखहरुमा समाहित गर्दै विभिन्न तहका पाठ्यक्रमहरुमा अध्ययन गर्ने व्यवस्थाको सुनिश्चिततसहित यसको महिमा बढाउनु आजको आवश्यकता हो ।
जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई थप परिस्कृत गर्दै तिब्र आर्थिक वृद्धि, उच्च रोजगारी आर्थिक एवं सामाजिक साँस्कृतिक रुपान्तरणको अभियान मार्फत समाजवादको आधार निर्माण गर्दै समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सबै राजनीतिक दल, नागरिक समाज, आम नागरिक, विभिन्न संघ सस्थाहरु, पत्रकार, बुद्धिजीवी लगायत सरोकारवाला सबैको महत्त्वपूर्ण योगदान आज मुलुकको खाँचोको विषय बन्न पुगेको छ ।
- चौरजहारी, रुकुम (पश्चिम)