सदन देखि सडकका पार्टीहरु एमसीसीको विरोध प्रदर्शन र ससंद भवन घेराउको तयारीमा

काठमाडौँ / सरकारले अमेरिकी अनुदान सहयोग परियोजना (एमसीसी) संसदमा टेबल गर्ने तयारी गरेपछि त्यसको विरोधमा राजनीतिक दल र उनीहरूका भ्रातृ संगठनहरुले संसद् भवन नयाँ बानेश्वर आसपास केन्द्रित भएर विरोध प्रदर्शन गर्न लागेका छन । उनीहरूले काठमाडौँ लगायतका विभिन्न स्थानमा प्रदर्शन गर्ने र संसद भवन घेराउका कार्यक्रम राखेका छन् ।


सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) र वाईसीएल नेपालले एमसीसीको विरोधमा प्रदर्शन सहित संसद् भवन घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् । यस्तै अर्काे सत्तारुढ दल नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले एमसीसीको विरोधमा प्रदर्शन गर्दैछ । १२ बजे मीनभवनस्थित कमर्श क्याम्पसमा भेला भएर एमसीसीविरुद्ध विरोध प्रदर्शन गर्ने तयारी गरेको अनेरास्ववियुका महासचिव आरती लामाले जानकारी दिनुभयो ।

बुधबार मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बिहान ११ बज माइतीघरमा भेला भएर जुलुससहित बानेश्वर पुगेर धर्ना दिने तयारी गरेका छन । उनीहरूले एमसीसीको विरोधमा आज नेपाल बन्द नै घोषणा गरेका थिए ।

 

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  २१:०२
प्रतिक्रिया दिनुहोस्