सोसल मिडिया
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर ६ का बिरबहादुर ओलीको घरमा तीन ओटा भैसी छन् । बाह्रै महिना दुध दिने भैसी, लटरम्म सुन्तलाको बारीले मनग्य आम्दानी मात्रै हैन खुशि दिएको छ ।
केहि टाँठाबाठा अनि मौसमी किसान कहलिनेहरुका हातमा सरकारी अनुदान ल्याउने फाईल हुन्छन्, बैठक तथा गोष्ठिका सवाल हुन्छन् । सरकारी बजेट ल्याएर मात्र कृषि अंगाल्ने र अनुदान सकिएपछि वेवास्ता गर्ने गरेका कयौ उदाहरण पनि छन् । तर बिरबहादुरको सफल कृषि पेशामा न सरकारी अनुदान छ, नत अनुदानको लागि मरिहत्ते गर्ने बानी छ । छ त केवल आफ्नै पौरखको कृषि पेशा ।
वैदेशिक रोजगारी, भड्किलो खर्च, सुविधाभोगी बानीले ठाउँ पाईरहेको हाम्रो समाजमा बिरबहादुरको परिवार भने सरल र उदाहरणीय छ । बिदेशको कमाई, महंगो शिक्षाको छापले छोएन उहाँलाई । ‘आफ्नै सुन्दर परिवार भन्दा खुशि कहाँ बाहिर खोज्नु ?’ बिरबहादुर भन्नुहुन्छ, ‘आफ्नै माटो छ, बारी छ, यहि पसिना बगाएर सन्तान खुशि बनाएको छु ।’
घरमुलि हुनुहुन्छ ७१ बर्षका विरवहादुर । ९ जनाको संयुक्त परिवार छ । ठुलो परिवार सम्हालेका विरवहादुरका पनि आफ्नै कथाव्यथा त होलान नै । तर, गाउँमै बसेर आफ्नै माटोमा बिताएको दैनिकीले मुहारमा चमक दिने गरेको छ ।
श्रीमती विद्याकली र छोराबुहारी गगनसिं र राधिकाको साथमा बिरबहादुरले भैसी पालन गर्नुभएको छ । यो परिवार वैदेशिक रोजगार नै प्राथमिकतामा राख्नेहरुको अगाडि पे्ररणाको स्रोत बनेको छ । विरबहादुरको घरमा पालिएका भैसी देख्ने जो कोही पनि आहा भन्न थाल्छन् ।
परिवारका पाँच जना सदस्य दांगको घोराहीमा अध्ययनरत छन् । ‘यिनै भैसीको दुध, घ्यु बेचेर सन्तान पढाएको छु’ गोठका भैसी देखाउदै बिरबहादुरले भन्नुभयो ‘घरको सबै आम्दानीको श्रोत यहि हो, घरखर्च पुगेकै छ, सन्तान पढाएकै छौ ।’
उहाँकी छोरीले घोराहीमा स्नातकोत्तर पढ्दै हुनुहुन्छ । एउटा नातिनी बि.एड. र अर्कीले दश कक्षामा पढिरहनुभएको छ । उहाँका दुई नातिहरु पनि १२ मा पढ्छन् ।
आफुलाई उमेरको बेला बिदेश जान मन नलागेको र आफ्ना छोरानाती पनि बिदेश जान नपरोस भन्ने उहाँको भनाई छ ।
बिरबहादुरका छोरा गगनसिं पनि बिदेश जाने र कृषि पेशा छोड्ने कुरा सोच्न नसक्ने बताउँनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘जस्तोसुकै परिस्थिति आएपनि वैदेशिक रोजगारीका विषयमा कहिल्यै सोचिन, कृषिबाटै परिवार पाल्दै आएका छौ, कृषिको विकल्पमा अन्य व्यवसाय रोज्न सक्दिनँ, उमेर हुन्जेल विदेश जान मनै लागेन ।
घरमा पालेका भैसीबाट दुध दहि बेचेर घर खर्च चलेको उहाँ बताउनुहुन्छ । दुध दहि बाहेक घ्यू बेचेर मासिक ५ हजार बढी आम्दानी हुन्छ । ‘हुर्केका पाडापाडि बेच्छौ, अलिअलि अन्नबाली पनि बेच्छौ’ गगनसिंले भन्नुभयो ‘सुन्तला खेती पनि गरेका छौ ।’
सोहि वडाका वडा अध्यक्ष राजेन्द्र पुन उहाँको घरमा सधै पालिने भैसी देखेर खुशी लाग्ने बताउनुहुन्छ । मेहनती र सुन्दर बिरबहादुरको परिवारमा तीन ओटा भन्दा कम भैसी कहिल्यै नहुने भएकोले उहाँ असल पशुपालक किसान भएको वडा अध्यक्ष पुन उल्लेख गर्नुहुन्छ ।
उहाँको परिवारले अहिलेसम्म कुनै पनि निकायबाट कृषिका लागि सहयोग पाएको भने छैन । पेसा व्यवसाय गर्नलाई कुनै क्षेत्रमा पहल पनि नगरेको गगनसिं बताउँनुहुन्छ । व्यवसाय गर्नका लागि दृढ इच्छाशक्ति नै काफि रहेको उहाँको बुझाई छ । तर, निर्वाहमुखि मात्रै भन्दा पनि व्यावसायमुखि बन्न भने आधुनिक पशुपालन व्यवसाय जरुरी रहेको उहाँको बुझाई छ ।
भैसी पालनका लागि भन्दै अनुदान ल्याएका, भकारो सुधार भनेर केहि महिना देखाएका र सरकारको पैसा ल्याएका खबर गाईगुई सुनेपनि आफुलाई कसैले नसुझाएको उहाँ उल्लेख गर्नुहुन्छ ।
आफ्ना बृद्ध आमाबुवाको उमेर अवस्था र उहाँहरुले झेलिरहेको दिर्घरोगपछि सबै जिम्मेवारी गगनसिंहकै थाप्लोमा आएको छ । गगनसिंले कृषिलाई व्यवसायिक बनाउन प्रयास पनि गरेको जानकारी दिनुभयो । उहाँले अव व्यावसायीक भैसी पालनको सोचमा रहेको र कुनै निकायबाट प्राविधिक तथा आर्थिक सहयोग भएमा सहज हुने आशा व्यक्त गर्नुभयो ।