सोसल मिडिया
रुकुम पश्चिम / चर्चित मेलगैरी हत्याकाण्ड भएको २७ वर्ष पुगेको छ । २०५२ सालको फागुन १५ गते तत्कालीन पिपल गाविसको मैलगैरी लेकमा ६ जना खत्री बन्धुको एकै ठाउँमा हत्या गरिएको थियो । हालको बाँफिकोट गाउँपालिका २ मेलगैरीमा एउटै घरमा रहेका ६ जनाको प्रहरीले हत्या गरेको थियो ।
कलबहादुर खत्री, खड्कबहादुर केसी, पशुपति खत्री, दलबहादुर खत्री, लालबहादुर खत्री र मनबहादुर खत्रीको इलाका प्रहरी कार्यालय बाँफिकोटबाट आएको प्रहरीले हत्या गरेको थियो । तत्कालीन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेपछिको यो पहिलो सामूहिक हत्याकाण्डसमेत हो । त्यसको अघिल्लो दिन फागुन १४ गते गोरखाका दिलबहादुर रम्तेलको हत्या प्रहरीबाट भएको थियो । जनयुद्ध घोषणा गरेको १५औं दिनमा प्रहरीले यी ६ जनाको एकै पटक हत्या गरेको थियो ।
२०५२ फागुन १ गते जनयुद्ध घोषणा भयो । १३ गते पिपलमै एक जना शिक्षक तथा कांग्रेस कार्यकर्ता नरजित बस्नेतको हात काटिएको थियो । माओवादीमै संलग्नहरुले बस्नेतको हात काटिदिएपछि प्रहरी पिपलसम्म पुगेको थियो । १३ गते राति हात काटिएपछि १४ गते त्यहाँ पुगेको प्रहरी १४ गते राति नै मेलगैरी उक्लिएको थियो ।
१५ गते बिहानै स्थानीय सेतु जैसीको घरमा बसेकाहरूमध्ये ६ जनालाई गोली हानी हत्या गरिएको थियो । जसमध्ये खड्कबहादुर १५ वर्षका मात्रै थिए । उनी कक्षा ६ मा अध्ययनरत पनि थिए । बाँकी ५ जना सर्वसाधारण भने किसान थिए । अनाहकमा माओवादीको आरोपमा उनीहरूको हत्या गरिएको थियो । एक प्रत्यक्षदर्शीका अनुसार गोली हानी घाइते बनाई पछि लाठीले हानी भैँसी बाँध्ने किलोमा बाँधेर उनीहरूको हत्या गरिएको थियो ।
घटना भएको २६ वर्ष पूरा भएर २७ वर्ष लागेको छ । अनाहकमा मारिएका यी ६ जनाका हत्यारालाई अझै कारबाही भएको छैन । सरकारले ६ जनाकै परिवारलाई तत्कालीन अवस्था साम्य पार्न राहत स्वरुप १०/१० लाख रुपैयाँ दिए पनि बिनाकारण मारिएका आफन्तका हत्यारालाई कारबाही हुनुपर्ने पीडित परिवारको माग छ ।
कलबहादुरका छोरा नवीनले बुबाका हत्यामा संलग्नहरूलाई कारबाही नभएकोमा चित्त दुःखाए । बुबाको हत्या हुँदा उनी २ वर्षका मात्रै थिए । ‘बिनाकारण बुबाको हत्या गरिएको हो भन्ने कुरा बुझिएकै छ,’ नविनले भने, ‘राज्यले संरक्षण गर्नुपर्ने जनताको उल्टै हत्या गरेको विषय सामान्य विषय हो जस्तो लाग्दैन ।’ बुबाको हत्या हुँदा २ वर्षका थिए बलबहादुर । पशुपतिका छोरा बलबहादुरले आफूहरूले न्याय पाउनुपर्ने बताए । ‘हामी नै यो उमेरका भइसक्यौँ, हत्या भएको यत्रो समयसम्म राज्य चुपचाप छ । गैरन्यायिक हत्याको छानबिन हुनुपर्ने होइन र ?’ उनले प्रश्न गरे ।
पछिल्लो समय माओवादीले पनि खास वास्ता गर्न छाडेको बुझाइ उनिहरूको छ । जनयुद्ध चलिरहेको समयमा सहिद परिवारको हरेक दुःख, सुखमा सहयोग गर्ने, सम्मान गर्ने पार्टीले पछिल्लो समय कम वास्ता गर्ने गरेको उनीहरू बताउँछन् । मृतक लालबहादुरका बुबा धनबहादुर मुलेलले छोरा गुमाएका आफूहरू न्यायको पर्खाइमा रहेको बताए । ‘न्याय मिल्ला कि भन्ने आशामा २७ वर्ष बितिसक्यो,’ उनले भने‚ ‘तर‚ यस विषयमा कोही-कसैले चासो दिएको जस्तो लागेको छैन ।’ पछिल्ला वर्षमा पार्टीले सहिद र सहिदका आफन्तलाई बिर्सेको जस्तो महसुस भइरहेको धनबहादुरले बताए । ‘हुन त समय फेरिसकेको छ, अवस्था अर्कोपट्टि गयो,’ उनले भने, ‘यसैले पनि हो कि हाम्रो कोही छैन कि जस्तो भइरहेको छ ।’ साभार : इकान्तिपुरबाट