सोसल मिडिया
सँगै उमेरका साथीहरू जनयुद्ध लडे, गणतन्त्रका लागि रगत, पसिना बगाए । राजसंस्थाको विरुद्ध लडेका आफ्नै साथीहरूले स्थानीय तह हाँकेका पनि छन् । जनयुद्धको उद्गम थलोे मानिने रुकुममा सँगैका साथी गणतन्त्रका लागि लडिरहँदा र राजतन्त्र हटाउन लागि पर्दा उनी भने राजसंस्थाकै वकालत गर्ने पार्टी र उसको जनमनसँगको सम्बन्ध विस्तार गर्न लागि परे ।
बाउबाजेले जोतिरहेको हलो, त्यही हलोले जोतेको खेतको अन्नबालीले पालिएको आफ्नो पेट । राजनीतिक दल र जनतासँग प्रत्यक्ष जोडिएका कुराले मान्छेको जीवनमा कति फरक पार्दोरहेछ भन्ने कुराका उदाहरण हुनुहुन्छ, रुकुम पूर्वका ३२ वर्षिय सुधीर विक्रम शाह ।
वि.सं. २०५६ सालको निर्वाचनको बेलाको कुरा हो, उमेरले १० काटेको थिएन सुधीर को । सबैजसो पार्टीका अनेक रंगीचंगी पर्चा पम्पलेट छ्याप्छ्याप्ती थिए । त्यो बेला राप्रपाले बाँडेको चुनावी पर्चामा ‘हलो’को चित्र देखेर सुधीरलाई तान्यो । घरमा टाँसिएको पर्चा र चुनाव चिन्ह हलो देखेर लोभिएका सुधीर ले राप्रपाका पर्चाहरू मुसिकोट घरघरमा टाँस्दै हिँडेको रमाइलो स्मरण छ ।
माओवादीले थालेको जनयुद्धको उद्गमस्थल रुकुममा जनयुद्धकै बेला हलो चुनाव चिन्हको प्रचार गर्दा सुधीर चार कक्षामा पढ्नुहुन्थ्यो । घरबाट निस्कँदा झोलामा राप्रपाका चुनावी पर्चा राख्ने र स्कुल नपुगुन्जेल टाँस्दै र बाँड्दै हिड्ने उहाँ स्कुलबाट फर्कने बेलामा पनि पर्चा टाँस्दै हिड्नु हुन्थो ।
आफ्नै उमेरकाले राजतन्त्र फालेर ल्याएको गणतन्त्रमा वडा वडामा सरकार चलाउन थाले । नेतृत्व हाँक्न थाले । उहाँले पनि नेतृत्व लिनुभयो । तर गणतन्त्रको होइन, राजतन्त्र र राजसंस्थाको लागि लड्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला अध्यक्ष भएर ।
हुन त जिल्लामा पार्टीकै नेतृत्व गर्ने उहाँलाई काँचो उमेर, आलोकाँचो केटो भन्नेहरू नभएका पनि होइनन् । तर उहाँको सक्रियता र कार्यकुशलताले युवा उमेरमै जेठो पार्टीको जिल्ला नेतृत्व सम्हाल्नुभएको छ । सुधीर राप्रपाको ७७ जिल्लाका अध्यक्षहरू मध्ये सबैभन्दा कान्छा जिल्ला अध्यक्ष पनि हुनुहुन्छ ।
गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, आँगनकोे सरकार जस्ता यो मुलुकको वर्तमान व्यवस्थामा गर्व गर्ने ठुलो जमातको भिडमा उहाँ राजा, राजतन्त्र, हिन्दु राष्ट्रको सगर्व बखान गर्दै नेतृत्व हाँक्नुभएको छ । यो जोशिलो उमेर र कडा तथा छाडा राजनीतिक प्रस्तुतीको हावाले अधिकांश युवा राजनीतिज्ञलाई छोइरहेको बेला सुधीर भने अपवादमा पर्नुहुन्छ ।
सुधीरको आकर्षक जिउडाल, शालिन प्रस्तुती, मिलनसार बानी, भद्र स्वभावले प्रभावशाली व्यक्तित्वको परिचय त दिन्छ नै, उहाँमा परिपक्व राजनीतिज्ञको छनक पनि मिल्छ ।
मुलुकमा यत्रो कायापलट भएपछि सिर्जना भएका अवसर, सुविधाका अनेक पद, राजनैतिक वर्चस्व, लाभका पदहरूको सदुपयोग गर्नुको साटो जनताले हुत्याईदिएको राजतन्त्रको पछि लागेर बेला गुजारेको किन होला सुधीरले ? यो प्रश्नको गम्भीर जवाफ छ उहाँसँग, ‘सत्यमा शंका गर्ने, र झुट सजिलै पत्याउने मानवीय स्वभाव बढेको छ । तर, समयचक्रले राजतन्त्र सत्य साबित गर्नेछ ।’
गणतान्त्रिक राज्य व्यवस्थामा राजतन्त्रको पक्षमा पैरवी गर्न पाउँदा गर्व लागेको बताउँने उहाँ संघीयता यो मुलुकको लागि फलिफाप नहुनेमा विश्वस्त हुनुहुन्छ । लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गरेको नेपालमा राजतन्त्रलाई यत्रो आदर्श मान्नुको खास कारण संघीयताको नाममा गाउँटोलमा जन्मेका नयाँ राजाहरूको निर्मम र पक्षपाती व्यबहार नै काफि रहेको सुधीर उल्लेख गर्नुहुन्छ ।
गणतन्त्रका सुन्दर लाभहरूमा नफसेर राजतन्त्र र हिन्दु राष्ट्र भन्दै नथाक्नुको आनन्द बेग्लै लाग्छ उहाँलाई । स्थानीय, प्रदेश, संघीय सरकारमा राप्रपाको न्यून प्रतिनिधित्व, राजसंस्थाप्रति बहुमत जनताको अविश्वास तथा घृणा, गणतन्त्र ल्याउनको लागि रुकुममै युद्ध सुरु गरेको माओवादीको वर्चस्व स्थापित जिल्लामा राजतन्त्रको वकालत गर्नु सुधीरलाई कम्ति चुनौती छैन । तर पनि हिन्दु राज्य र राजसंस्थाकै लाइनमा कट्टर हुनुहुन्छ उहाँ ।
कुनै बेला जनपद प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानमा जागिर खानलाई कस्सिएका उहाँ त्यो जागिरे असफलतापछि राजनीतिमा होमिनुभएको हो ।
मुलुकले राजतन्त्र गुमायो, संघीय गणतन्त्र उदायो । तर, सुधीरको मनले भने राजतन्त्र त्यागेर गणतन्त्र स्विकार गर्न मानिरहेको छैन । राजनीतिक परिवर्तन भएपनि परिवर्तनले मात्रै देशमा स्थिरता आउन नसक्ने उहाँको बुझाई छ । राजा नै शक्तिको केन्द्र भएकाले राष्ट्रप्रमुख संवैधानिक राजतन्त्र हुनुपर्ने उहाँकोे मान्यता छ ।
‘यो व्यवस्थामा देशको राष्ट्र प्रमुख अथवा राष्ट्रपती राजनीतिक दलको फेवरको मान्छे हुन्छन्, उनी स्वभावैले आफूलाई त्यो पदमा लैजाने पार्टीतिरै फर्किन्छन्,’ सुधीर प्रश्न गर्नुहुन्छ, ‘यो भन्दा त स्वतन्त्र र तटस्थ राजसंस्था भएन र ?’
अस्वस्थ राजनीतिक प्रतिस्पर्धा र तटस्थ नहुने राष्ट्र प्रमुखको व्यवस्थाका कारण यो खालको परिवर्तनले राष्ट्र, राष्ट्रियता र स्वाधिनता रहदैन कि भन्ने शंका छ, उहाँलाई । राष्ट्रप्रमुख कुनै राजनैतिक दलको आधारमा नभएर पूर्वाग्रहबिनाको हुने क्षमता राजतन्त्रले मात्र राख्ने उहाँको बुझाई छ ।
२०६४ सालमा राप्रपाको पार्टी सदस्यता लिएका सुधीर २०६८ सालमा २२ वर्षको उमेरमा नै केन्द्रीय महाधिवेशन प्रतिनिधि बन्नुभएको थियो । गणतान्त्रिक व्यवस्था नै सबैभन्दा उत्तम व्यवस्था हो भन्नेहरूको वर्चस्व रहेको रुकुम जस्तो ठाउँमा प्रजातान्त्रिक मुल्य र मान्यताका साथ राजतन्त्र पुनःस्थापना गर्नुपर्छ भन्दै उहाँले खुलेर बहस चलाउँनुहुन्छ । उहाँको निडर र आत्मविश्वासी स्वभावले यो सबै सम्भव भैरहेको छ ।
राजतन्त्र आउनु त अब सपना देखे सरह लाग्दैन र ? भन्ने सवालमा गम्भीर हुँदै सुधीर भन्नुहुन्छ, ‘अहिलेकै परिस्थितिमा त राजतन्त्र, हिन्दु राज्य पुनःस्थापनाको लागि कडा बाधा, अबरोध तथा अप्ठ्यारो छन् ।’ उहाँ थप्नुहुन्छ, ‘तरपनि जनताले धेरै छोटे राजाहरू भन्दा एकल राजा हुने व्यवस्था नै ठिक थियो भन्ने आभास गरिसकेका छन् । राजसंस्था स्थापना र हिन्दु राज्य हाम्रो मुख्य लाइन हो, अभियान हो । यसका राम्रा पक्षहरू जनतालाई बुझाएर राजतन्त्रको आवश्यकता अनुभूति गराउन हामी केही वर्ष अझै मेहनत गर्छौँ । टुप्पामा पलाएकाजस्ता देखिने केही नेताहरूको घिनलाग्दो हर्कतले राजतन्त्रको आवश्यकता बलियो बन्दै गएको छ । आइलाग्ने जस्तोसुकै अवरोधहरूको सामना गर्न पनि तयार छौँ र ढिलोचाँडो राजतन्त्र फर्काउँछौ ।’
अझै अलि संघर्ष गर्न सकियो भने प्रजातान्त्रिक बाटोबाट फेरि जनताले नै राजालाई दरवारमा फर्काउने कुरामा विश्वस्त सुधीर प्रत्येक राजनीतिक दलका आ–आफ्नै पक्ष हुने तर राजसंस्थामा सामूहिक गुण हुने दाबी गर्नुहुन्छ । तत्काल राजतन्त्रको मुद्दा स्थापित नभए पनि निरन्तर आफ्नो मुद्दालाई लिएर जनतासँग बहस, पैरवी तथा सवाल जवाफ गर्ने योजना बोकेका उहाँमा जनताले आफैँ राजतन्त्र र हिन्दु राज्यको ढोका खुसीका साथ खोल्ने अर्को सुनौलो दिन आउने आशा छ ।
राजसंस्थाको लाइन त्यागेर अन्य पार्टीको सदस्यता लिने हो भने सुधीरलाई लाभका पद प्राप्त नहुने होइनन् । अहिलेको गणतान्त्रिक अभ्यासमा आफ्नै समकक्षीहरूले राजनीतिक आडमा कमाएको सम्पति, सम्हालेको पद र प्रयोग गरिरहेको पावरले छुनै सकेको छैन । यो सव क्षणिक सुख ठान्ने सुधीरलाई सस्तो लोकप्रियता र तडकभडकले छोएको छैन । उहाँ भन्नहुन्छ, ‘स्वाभिमान, आत्मसम्मान र मातृभूमिप्रतिको इमान बेच्न सकिन्न ।’