Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

वडास्तरबाटै राष्ट्रिय परिचय पत्रको लागि विवरण संकलन सुरु

२०७८ फागुन १९
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा आज बिहिबारदेखि राष्ट्रिय परिचय पत्रको लागि वडास्तरबाट विवरण संकलन अभियान सुरु भएकाे छ । आज मुसिकोट नगरपालिकाको वडा नम्बर १, २ र ५ बाट विवरण संकलन अभियानको सुरुवात गरिएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताउनुभयो ।

भोलिबाट मुसिकोटकै वडा नम्बर  ३, ४, ६ र ७ मा अभियान सुरु गरिने बताईएको छ । प्रजिअ घिमिरेले यस अभियानलाई अब जिल्लाभर सञ्चालन गरिने जानकारी दिनुभयो । विवरण संकलन अभियानमा जैविक र वैयक्तिक विवरण संकलन हुनेछ ।

मतदाता नामावली बनाउन, बैंक खाता खोल्न, जग्गा पास गर्न, राहदानी बनाउने लगायतका कार्यका लागि राष्ट्रिय परिचय पत्र उपयोगी हुने बताईएको छ । राष्ट्रिय परिचय पत्रको लागि सक्कल नागरिकता लिएर सम्बन्धित वडा कार्यालयमा गई विवरण दर्ता गराउन सकिने छ ।

यसअघि जिल्ला प्रशासन कार्यालयबाट मात्र विवरण संकलन हुने गरेको थियो । संकलित विवरणको आधारमा व्यक्तिको राष्ट्रिय परिचय पत्र बन्ने छ । जिल्ला प्रशासन कार्यालयले आफ्नो वडामा गएर विवरण टिपाउन सबैमा अनुरोध गरेको छ । हरेक वडामा बढीमा १५ दिनसम्म विवरण संकलन टोली बसेर विवरण संकलन गरिने छ । यसका लागि जिल्लामा करिब ४४ जना तालिम प्राप्त दर्ता अपरेटरहरु परिचालन हुनेछन् । 

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागको यस अभियानको जिल्ला स्तरमा संयोजन जिल्ला प्रशासन कार्यालयले गरिरहेको छ । 

हाल जिल्ला प्रशासन कार्यालयबाट पनि विवरण संकलन भैरहेको छ । हालसम्म रुकुम पश्चिममा करिब सात हजार व्यक्तिको विवरण संकलन भैसकेको प्रशासन कार्यालयले जनाएको छ ।

यस अभियानलाई सञ्चालन गरी सम्पन्न गराउनको लागि यस अघि नै जिल्लाका सबै पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएकाे थियाे। गत सोमबार विवरण रुजु अधिकारीहरु बिचमा समेत आवश्यक छलफल सम्पन्न भैसकेकाे छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  १९:०३
प्रतिक्रिया दिनुहोस्