बहुदलीय जनवादले आफ्नो कार्यकाल पूरा गरेको छ : नेता पौडेल

'अब समाजवादको नक्शा कोर्नुपर्छ'

रुकुम पश्चिम / नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का केन्द्रीय उपमहासचिव डा. बिजय पौडेलले जनताको बहुदलीय जनवादले आफ्नो कार्यकाल पूरा गरेको बताउनुभएको छ ।

मंगलबार एकिकृत समाजवादी जिल्ला कमिटी रुकुम पश्चिमले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उपमहासचिव पौडेलले जनताको बहुदलिय जनवादबाट पार्टीलाई बिस्तार गरेर जनवादको यात्रा पूरा गरेको भन्दै अब समाजवादी कार्यक्रमको बाटो पछ्याउनुपर्ने बताउनुभयो ।

उहाँले अब पार्टीका संगठनहरु उत्पादनसङ्ग जोडिनुपर्नेमा जोड दिनुभयो । उत्पादनसँग नजोडिएमा कि घर खेत बेचेर राजनीति गर्नुपर्ने या त सेटिङमा भ्रष्टाचार गर्नुपर्ने अवस्था आउने भएकोले सम्मान सहितको राजनीति सेवा क्षेत्र बनाउनलाई संगठनहरु उत्पादनसङ्ग जोडिएर समाजवादको नक्शा तयार गर्नतर्फ केन्द्रीत हुनुपर्ने पौडेलेले उल्लेख गर्नुभयो ।

कार्यक्रममा उपमहासचिव पौडेलले तत्कालिन अवस्थामा आफ्नो पार्टी सबैभन्दा ठूलो तथा दुइतिहाइको प्रधानमन्त्री हुँदाहुँदै पनि पटकपटक संसद विघटन गरेर जनताको मतको अवमुल्यन तथा दक्षिणपन्थीको बाटो अपनाएपछी बिद्रोह गरेर नयाँ पार्टी निर्माण गर्नुपरेको बताउँनुभयो । कम्युनिष्ट आन्दोलनको विचार र सिद्धान्तमा पुनः गठन र पुनःजागरण गर्ने समेत उहाँले बताउँनुभयो ।

पार्टीका जिल्ला अध्यक्ष बिमलकुमार पुनको अध्यक्षता र सचिव हरिप्रसाद शर्माको संचालनमा भएको उक्त भेला तथा प्रशिक्षण कार्यक्रममा पार्टीका पोलिट्ब्युरो सदस्य तथा कर्णाली प्रदेशका सहइन्चार्ज शेरबहादुर केसि, केन्द्रिय सदस्य देवि ओलि र कर्णाली प्रदेश सचिव ठगेन्द्र प्रकाश पुरी लगायतले प्रशिक्षणमुलक मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष कल्याणी खड्काले राख्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  १८:०४
प्रतिक्रिया दिनुहोस्