एचआईभी संक्रमितसँग 'न खाने आहारा, न कोई सहारा'

को होलान् दु:ख बुझ्ने मनकारी ?

रुकुम पश्चिम : मान्छेले जीन्दगीमा कति अभाव, पीडा, दर्द र घृणा सहेर बाँचेको हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हुन्, रुकुम पश्चिमको मुसिकोट नगरपालिका ६ भण्डारीकाँडाकी ७० बर्षिया लक्ष्मी सुनार । बाल्यकालदेखि बुढेशकालसम्मका उनका हण्डर, ठक्कर र अभावका चाङले बृद्धा लक्ष्मीको जीवन कति कठिन रहेछ भन्ने दर्शाउँछ ।

जिल्ला सदरमुकाम नजिकैको गाउँ हो भण्डारीकाँडा । गाउँलेले बाँसका चोयाले बेरिदिएर खरको ओत बनाईदिएको घर छ लक्ष्मीको । यहि झुपडी महल लाग्छ उनलाई । वर्षाले खर छेलेर चुहिने पानी बाल्टीमा थापेर छेवैमा सुत्छिन उनी । सुत्नलाई न गतिलो बिस्तरा छ न त ओढ्ने सिरक । पिफम ओछ्याएर, च्यादर ओढेर कटाउछिन् चिसो हिउँद र ओसिलो वर्षायाम ।

छेवैको चुल्होमा नियमित बल्दैन आगो । किनकी अन्नको नामोनिशान छैन घरमा । ‘देखाउने जस्तो भाँडा पनि छैनन् बाबू,’ पकाउने र खाने एउटै भाँडा छेउतिर सार्दै लक्ष्मीले भनिन् ‘भोक र दर्द सहेर बाँचेको ज्यान हो, एकदुई छाकको के कुरा ।’

टाउको उठाएर उभिने र खुट्टा पसारेर बस्न मिल्ने घर छैन उनको । छेउमा डोकोले ढाकेको हाँस र चुहिएको पानी थापेको भाँडोले नै साँघुरो बनाईदिन्छ । चुल्हो छेउमा बटारेर राखेको पिफम छतबाट चुहिने पानी रोकिएपछि थापेको बाटा हटाएर सुत्न मिल्छ । दुई जोडा पुराना फाटेका गुन्यु चोलीको सिरानी हालेर निदाउँछिन् सधै ।

नियतिको नमिठो चक्कर

‘अब त अस्ताउन लागेको घाम भए बाबू, म कर्महारा र भाग्यमारा बुढीका जस्ता बिलहरी अरु कस्ले भोगेको होला र !’ टिलपिल भएका आँशु बग्न थालेपछि लगाएको गुन्युले पुछेर लक्ष्मी बोलिन्, ‘न खाने आहारा छ न बाँच्ने सहारा ।’

बाग्लुङ माइती घर । सानैमा माईतीको साथमा भारतको बसाई भयो उनको । रुकुमबाट कालापार गएका रोशनलाल सुनारसँग बाध्यताको बिहे भयो उनको । फकाई फुल्याई, फसाएर बिहे गरेको उनी बताउँछिन् । माइती ठकुरी । बिहेपछि लक्ष्मीको जीवनमाथी नसोचेकै घटना हुन थाले । नाबालककै बिहे गरेकी उनलाई दलितसँग बिहे गरेको भन्दै भारतमा माइती मुद्धा लगाएर जेल बस्नुपर्यो । कुलमा किरा पारिस्, हाम्रो तर्फबाट मरिस् भनेर माईती सरापे । त्यस यता माईतीसँग सम्पर्क छैन ।

श्रीमान् मिस्त्री काम गर्नुहुन्थ्यो । जसोतसो चलेकै थियो जीवन । उमेरले ४०, ४५ पुगेको बेला किड्नी फेल भएर श्रीमानकाे मृत्यु भयो । जिन्दगीको ठुलो भरोसा छोरा जन्केको थियो । छोरा सुरेशलाई बोकेर नेपाल आईन लक्ष्मी ।

बास पाईएन

गाउँ फर्केको ६ बर्षसम्म आमाछोराले आफ्नो सम्पतिमा बास पाएनन् । तीन वर्ष आफन्ती पर्ने टेकबहादुर बिकको भंगमा (गाईबाख्रा हुल्ने कोठा) मा बिताए । त्यसपछि केहि बर्ष हर्कबहादुर बिकको घरमा, अनि मिनबहादुर बिकको र दलबहादुर बिकको घरमा बसेर बिताईन् । श्रीमानकाे भागमा पैत्रिक सम्पति हनुपर्ने आशा छ । तर भाईभागको जग्गा पाएकी छैनन् उनले ।

गाउँलेको सहारा

लक्ष्मीको भरपर्दो सहारा भनेकै छिमेकी छन् अहिले । भोक मेट्न, गास जुटाउन छिमेकीले सकेको मद्धत गरिरहेका छन् । गाउँले मिलेर आठ सय वर्गमिटरको जग्गामा सानो टहरा बनाईदिए । त्यसैमा दिनरात बितेको छ लक्ष्मीको । सरकारले ल्याएको जनता आवास कार्यक्रमबाट उनको घर पनि बनेको छ । गत वर्ष मकैको बीउ र जोत्ने कोई नभएपछि बाँझै रहेको जमिनमा बनेको घरमा सर्न पाएकी भने छैनन् । गाउँलेभरि मिलेर घर लिपपोत गरेर सारिदिने योजना भने छ ।

सन्तान माथी बज्रपात

इन्डियाबाट फर्केपछि आफू गाउँमै बसेपनि छोरा सुरेश भने घरखर्च टार्न उतै आउजाउ गर्नुपर्ने बाध्यता थियो । कमाई गर्न गएका छोरो दिर्घ रोगले पीडित भएपछि आफूमाथी बज्रपात भएको लक्ष्मीको बुझाई छ । सुरेश २२ वर्षका हुँदा एचआईभी पोजेटिभ देखियो । विरक्तिएकी आमा, रन्थनिएको छोराले साहास जुटाएर विभिन्न निकायको सम्पर्कमा जाँदा बाँच्ने प्रेरणा पाए । अहिले सुरेश ४० वर्षका पुगे । २० वर्षकी कालीकुमारी बोगटीसँग विवाह गरेका छन् । डोटी घर भएकी बोगटी पनि एभआईभि संक्रमित हुन् । दुबै जनाले एआरभि औषधि खाईरहेका छन् ।

मनकारी त होलान् कोई ?

सरकारले जेष्ठ नागरिकलाई दिने भत्ताले लक्ष्मीको परिवार पालिएको छ । सुरेशको हातमा ड्राईभिङ सीप छ । होटलमा कुकमेनको काम गरेको अनुभव छ । कृषिमा केहि गर्न मन छ । तर अवसर पाएका छैनन् । कालीकुमारी पनि गाउँमा काम गरेर दाल चामल जुटाउछिन् । गाउँमै सानोतिनो काम पाएमा साँझ बिहानको छाकटार्ने पिरलो हट्ने आशामा छन् उनीहरु ।

त्यो भन्दा पनि तत्कालको लागि कसैले चुल्हो बाल्ने सामान दिएमा भगवान झै मान्ने थिए । खरको छाना ढोक्ने त्रिपाल, ओछ्यान र सिरक, पकाउने र खाने भाँडाकुडा, दाल चामल, नुन तेल दिने मनकारी भएमा लक्ष्मीको परिवारमाथी ठुलो गुण हुने गाउँलेको भनाई छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्